Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी ।
तथ्य: उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पनि यस विषयमा औपचारिक खण्डन गर्दै पौडेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारेको छ ।
जेनजी (GenZ) प्रदर्शनको दोस्रो दिन सामाजिक संजालमा केही दृश्यहरु व्यापक फैलाइए । उक्त दृश्यमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी गरिएको छ ।
sutranews.com प्रकाशित समाचारमा हेलमेट लगाएको, नाङ्गो र प्रदर्शनकारीको आक्रमण झेलिरहेको व्यक्तिको तस्बिर जोडिएको छ । साथै यो तस्बिरमा देखिएका व्यक्ति नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल रहेको दाबी गरिएको छ ।

२४ भाद्र २०८२ मा प्रकाशित समाचारको अंश यस्तो छ- ‘नेकपा (एमाले)का उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई जेन जीका प्रदर्शनकारीले कुटेका छन् । प्रदर्शन उग्र भएपछि हेलमेट लगाएर भाग्दै गरेका पौडेललाई प्रदर्शनकारीले लखेटी लखेटी कुटेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पौडेल प्रदर्शनकारीबाट जोगिन बागमतीमा हाम फालेका छन् । तर, प्रदर्शनकारीले बागमतीमै लखेटी लखेटी कुटेका छन् ।’
प्रस्तुत दाबी र भिडियो अंश सामाजिक संजालमा भाइरल भएको छ । सोही दाबी र दृश्य Murari Nepal, News collection Nepal, Hamro BG Nepal, MUSIC HUB, Bhupen Limbu, भौतिक मल्ल लगायतका थुप्रै फेसबुक पेजहरुमा पोस्ट भएको पाइयो ।

त्यसैगरी सोही भिडियोलाई एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । Ghanshyam Khanal नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा महेश बस्नेतले बागमतीमा हामफालेको दाबी गरिएको छ ।
Lokendra Shahi फेसबुक पेजमा पोस्ट गरिएको सोही भिडियोलाई एमालेका नेता एवं सांसद सूर्य थापासँग जोडिएको देखियो ।

एमालेका फरक-फरक नेतासँग जोडिएको भिडियो वास्तविकता के हो त? यही पत्ता लगाउन हामीले तथ्यजाँच सुरु गर्यौँ ।
२३ भदौ २०८२ देखि सुरु भएको जेन्जी (GenZ) प्रदर्शन दोस्रो दिन झनै हिंसात्मक बन्यो । २३ भदौमा प्रदर्शनकारीहरुले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, मन्त्रालय, नेताहरूका निवास तथा सरकारी एवं राजनीतिक दलका कार्यालयहरू, प्रहरी कार्यालयमा आगजनी गरे । यही क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी र केही भिडियोहरु सामाजिक संजालमा फैलाइएको पाइयो ।

जाँचका क्रममा हामीले The VOICE Of Nation नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियो फेला पार्यौँ । उक्त भिडियोको दृश्यमा देखिने व्यक्ति र दाबीसहितको (उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी) भिडियोमा जोडिएको दृश्यबीच केही समानता देख्न सकिन्छ ।
फेला परेको भिडियोलाई काठमाडौँस्थित तीनकुने प्रहरी चौकीका प्रहरीहरुतर्फ संकेत गरिएको छ । थप जाँचका लागि हामीले सामाजिक संजालहरुमा ‘तीनकुने प्रहरी’ ‘GenZ Protest’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचका क्रममा भदौ २४ गते ratopati.com मा प्रकाशित गरेको समाचार फेला पर्यो । फेला परेको समाचारमा जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा आगजनी गरेको र हतियार लुटेको जानकारी दिइएको छ ।

थप जाँचका क्रममा सार्वजनिक खबर नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । भदौ २४ गते पोस्ट गरिएको भिडियोमा केही मानिसहरुलाई नाङ्गो बनाएर बागमतीमा लखेटिएको छ । फेला परेको भिडियोमा भने ती व्यक्तिहरु प्रहरी रहेको जानकारी दिइएको छ । त्यसैगरी यही जानकारी र उस्तै दृश्यसहितको पोस्ट Laligurash Press Nepal फेसबुक पेजमा पनि पोस्ट गरिएको पाइयो ।

त्यसैगरी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले सामाजिक संजालमा फैलिरहेका भिडियोको खण्डन गरेको छ । अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले बुधबार बिहान फेसबुकमा स्ट्याटस राख्दै पौडेलमाथि कुनै आक्रमण नभएको प्रष्ट पारेका छन् ।
उनले लखेका छन्- ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने एउटै भिडियोमा फरक-फरक नेताहरुको नाम जोडिएको छ । अपुष्ट र अज्ञात भिडियोलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाउन खोजिएको देखियो ।
जाँचका क्रममा फेला परेका प्रमाणहरूले देखाउँछ कि सामाजिक संजालमा फैलाइएको भिडियोहरु वास्तविकतासँग मेल खाँदैनन् । साथै, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पनि यस विषयमा औपचारिक खण्डन गर्दै पौडेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारेको छ । यसर्थ, नेताहरूको नामसँग जोडेर फैलाइएका दाबी र दृश्यहरूले भ्रामक सन्देश दिएका छन् ।
समाचार, ratopati.com
समाचार, techpana.com
भिडियो, Laligurash Press Nepal
समाचार, nytimes.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected] ।

Aakash Chhetri
July 13, 2026

Aakash Chhetri
December 22, 2025

Aakash Chhetri
November 25, 2025