Fact Check
के अर्थमन्त्री विष्णु पौडेलमाथि आक्रमण भएको हो? एउटै भिडियोमा जोडियो थुप्रै नेताहरुको नाम

दाबी: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी ।
तथ्य: उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पनि यस विषयमा औपचारिक खण्डन गर्दै पौडेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारेको छ ।
जेनजी (GenZ) प्रदर्शनको दोस्रो दिन सामाजिक संजालमा केही दृश्यहरु व्यापक फैलाइए । उक्त दृश्यमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी गरिएको छ ।
sutranews.com प्रकाशित समाचारमा हेलमेट लगाएको, नाङ्गो र प्रदर्शनकारीको आक्रमण झेलिरहेको व्यक्तिको तस्बिर जोडिएको छ । साथै यो तस्बिरमा देखिएका व्यक्ति नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल रहेको दाबी गरिएको छ ।

२४ भाद्र २०८२ मा प्रकाशित समाचारको अंश यस्तो छ- ‘नेकपा (एमाले)का उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई जेन जीका प्रदर्शनकारीले कुटेका छन् । प्रदर्शन उग्र भएपछि हेलमेट लगाएर भाग्दै गरेका पौडेललाई प्रदर्शनकारीले लखेटी लखेटी कुटेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पौडेल प्रदर्शनकारीबाट जोगिन बागमतीमा हाम फालेका छन् । तर, प्रदर्शनकारीले बागमतीमै लखेटी लखेटी कुटेका छन् ।’
प्रस्तुत दाबी र भिडियो अंश सामाजिक संजालमा भाइरल भएको छ । सोही दाबी र दृश्य Murari Nepal, News collection Nepal, Hamro BG Nepal, MUSIC HUB, Bhupen Limbu, भौतिक मल्ल लगायतका थुप्रै फेसबुक पेजहरुमा पोस्ट भएको पाइयो ।

त्यसैगरी सोही भिडियोलाई एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । Ghanshyam Khanal नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा महेश बस्नेतले बागमतीमा हामफालेको दाबी गरिएको छ ।
Lokendra Shahi फेसबुक पेजमा पोस्ट गरिएको सोही भिडियोलाई एमालेका नेता एवं सांसद सूर्य थापासँग जोडिएको देखियो ।

एमालेका फरक-फरक नेतासँग जोडिएको भिडियो वास्तविकता के हो त? यही पत्ता लगाउन हामीले तथ्यजाँच सुरु गर्यौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२३ भदौ २०८२ देखि सुरु भएको जेन्जी (GenZ) प्रदर्शन दोस्रो दिन झनै हिंसात्मक बन्यो । २३ भदौमा प्रदर्शनकारीहरुले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, मन्त्रालय, नेताहरूका निवास तथा सरकारी एवं राजनीतिक दलका कार्यालयहरू, प्रहरी कार्यालयमा आगजनी गरे । यही क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी र केही भिडियोहरु सामाजिक संजालमा फैलाइएको पाइयो ।

जाँचका क्रममा हामीले The VOICE Of Nation नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियो फेला पार्यौँ । उक्त भिडियोको दृश्यमा देखिने व्यक्ति र दाबीसहितको (उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पुर्वमन्त्री महेश बस्नेत लगायतका नेतालाई नाङ्गै पारेर बागमतीमा डुबाइएको दाबी) भिडियोमा जोडिएको दृश्यबीच केही समानता देख्न सकिन्छ ।
फेला परेको भिडियोलाई काठमाडौँस्थित तीनकुने प्रहरी चौकीका प्रहरीहरुतर्फ संकेत गरिएको छ । थप जाँचका लागि हामीले सामाजिक संजालहरुमा ‘तीनकुने प्रहरी’ ‘GenZ Protest’ लगायतका वाक्यांश जाँच गर्यौँ । जाँचका क्रममा भदौ २४ गते ratopati.com मा प्रकाशित गरेको समाचार फेला पर्यो । फेला परेको समाचारमा जेनजी प्रदर्शनकारीहरूले प्रहरीको तीनकुनेस्थित प्रहरी वृत्तमा आगजनी गरेको र हतियार लुटेको जानकारी दिइएको छ ।

थप जाँचका क्रममा सार्वजनिक खबर नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । भदौ २४ गते पोस्ट गरिएको भिडियोमा केही मानिसहरुलाई नाङ्गो बनाएर बागमतीमा लखेटिएको छ । फेला परेको भिडियोमा भने ती व्यक्तिहरु प्रहरी रहेको जानकारी दिइएको छ । त्यसैगरी यही जानकारी र उस्तै दृश्यसहितको पोस्ट Laligurash Press Nepal फेसबुक पेजमा पनि पोस्ट गरिएको पाइयो ।

त्यसैगरी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले सामाजिक संजालमा फैलिरहेका भिडियोको खण्डन गरेको छ । अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले बुधबार बिहान फेसबुकमा स्ट्याटस राख्दै पौडेलमाथि कुनै आक्रमण नभएको प्रष्ट पारेका छन् ।
उनले लखेका छन्- ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडिओहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’

फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने एउटै भिडियोमा फरक-फरक नेताहरुको नाम जोडिएको छ । अपुष्ट र अज्ञात भिडियोलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाउन खोजिएको देखियो ।
निष्कर्ष
जाँचका क्रममा फेला परेका प्रमाणहरूले देखाउँछ कि सामाजिक संजालमा फैलाइएको भिडियोहरु वास्तविकतासँग मेल खाँदैनन् । साथै, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पनि यस विषयमा औपचारिक खण्डन गर्दै पौडेलमाथि कुनै आक्रमण नभएको स्पष्ट पारेको छ । यसर्थ, नेताहरूको नामसँग जोडेर फैलाइएका दाबी र दृश्यहरूले भ्रामक सन्देश दिएका छन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, ratopati.com
समाचार, techpana.com
भिडियो, Laligurash Press Nepal
समाचार, nytimes.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected] ।