Fact Check
Fact Check: शंकास्पद विज्ञापनमा विनोद चौधरी र कान्तिपुरको कन्टेन्ट तोडमोड गरियो

दाबी: नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ ‘विनोद चौधरीले अनलाइन गेम खेलाउने एप ल्याएको’ र ‘प्रत्येक नेपालीलाई धनवान बन्ने मौका आएको’ दाबी गरिएको छ ।
तथ्य: विज्ञापनमा देखाइएका सामग्रीहरू वास्तविक नभई तोडमोड गरिएका हुन्, जसले सामाजिक संजाल प्रयोगकर्तालाई भ्रमित पारेको छ ।
‘चिकेन रोड एप’ नामको एउटा विज्ञापन सामाजिक संजालमा फैलिरहेको छ । उक्त विज्ञापनमा नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ ‘विनोद चौधरीले अनलाइन गेम खेलाउने एप ल्याएको’ र ‘प्रत्येक नेपालीलाई धनवान बन्ने मौका आएको’ दाबी गरिएको छ ।

Colton Cassi Junior नामक शंकास्पद फेसबुक पेजमा केही दिनअघि एउटा विज्ञापन भिडियो पोस्ट गरिएको छ । उक्त भिडियोमा विनोद चौधरीले अनलाइन गेम खेल्न उत्प्रेरित गरेको देख्न सकिन्छ ।
त्यस्तै उक्त विज्ञापनमा कान्तिपुर टेलिभिजनका प्रस्तोता र लोगोसमेत जोडिएको छ । साथै भिडियोमा अनलाइन गेमबाट धेरै नेपालीले थुप्रै कमाएको दाबी गरिएको छ र सबैलाई ‘चिकेन रोड एप’ अनलाइन खेल्न उत्प्रेरित गरिएको छ ।
पोस्ट गरिएको एक साता नपुग्दै दाबीसहितको विज्ञापनलाई करिब साढे २ लाख फेसबुक प्रयोगकर्ताले हेरिसकेका छन् । के सामाजिक संजालमा फैलिएको विज्ञापन सत्य हो त? वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गर्यौँ ।

तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा सबैभन्दा पहिले, विज्ञापनमा जोडिएको दृश्यलाई हामीले राम्रोसँग नियाल्यौँ । भिडियोमा जोडिएको अडियो र भ्वाइसमा लिप्सिङ अश्वभाविक देखिन्छ ।
त्यस्तै विनोद चौधरी बोलिरहेको दृश्यसमेत अश्वभाविक देखिन्छ । ‘Binod Chaudhary’ ‘Interview’ लगायतका वाक्यांशलाई जाँच गर्दा उनको पुरानो अन्तर्वार्ता फेला पर्यो ।
एक वर्षअघि नेपालका संचारकर्मी एवं प्रकाशक भुपेन्द्र खड्काले विनोद चौधरीसँग लामो अन्तर्वार्ता गरेका थिए । उक्त अन्तर्वार्ता ६ जुलाई २०२४ मा Sajha Katha – साझा कथा नामक युट्युब च्यानलमा पोस्ट गरिएको देखियो । सोही अन्तर्वार्ताको सेट र शंकास्पद विज्ञापनमा जोडिएको दृश्य एकआपसमा हुबहु मिलेको छ ।
फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने विनोद चौधरीले फरक सन्दर्भमा दिएको अन्तर्वार्ताको दृश्यलाई शंकास्पद विज्ञापनमा जोडिएको छ । यतिमात्र होइन, मूल अन्तर्वार्ताको दृश्यलाई राखेर आजावसमेत परिवर्तन गरिएको पाइयो । साथै विनोद चौधरीले ‘चिकेन रोड एप’ नामक अनलाइन गेम संचालनमा ल्याएको दाबीसमेत भ्रामक छ ।
अर्कोतर्फ शंकास्पद विज्ञापनमा कान्तिपुर टेलिभिजनका प्रस्तोता र लोगोसमेत प्रयोग गरेको देखिन्छ । जाँचका क्रममा ती प्रस्तोताको नाम विकास थपलिया रहेको पाइयो । तर, उनी कुनै ‘चिकेन रोड एप’ नामक अनलाइन गेमको विज्ञापनमा देखिएका छैन् ।
Kantipur TV HD मा संचारकर्मी विकास थपलियाले सरोकार नामक कार्यक्रम संचालन गर्छन् । सोही कार्यक्रमको पुरानो अंशमा देखिएको दृश्यलाई तोडमोड गरेर शंकास्पद विज्ञापनमा जोडिएको पाइयो । साथै उक्त विज्ञापन भिडियोमा भ्रामक तरिकाले कान्तिपुर टेलिभिजनको लोगो दुरुपयोग गरिएको देखिन्छ ।
जाँचका क्रममा फेला परेका यी सबै तथ्यहरूले पुष्टि गर्छन् कि ‘चिकेन रोड एप’ नामक अनलाइन गेमको प्रचारसम्बन्धी दाबी पनि गलत हो । विज्ञापनमा देखाइएका सामग्रीहरू वास्तविक नभई तोडमोड गरिएका हुन्, जसले सामाजिक संजाल प्रयोगकर्तालाई भ्रमित गर्ने उद्देश्य राखेको छ ।
निष्कर्ष
हाम्रो जाँचबाट प्राप्त प्रमाणका आधारमा शंकास्पद विज्ञापन पूर्ण रूपमा भ्रामक भएको स्पष्ट हुन्छ । विज्ञापनमा प्रयोग गरिएको विनोद चौधरीको दृश्य उनको एक वर्षअघिको फरक सन्दर्भको अन्तर्वार्ताबाट काटेर राखिएको हो, र अडियो पनि मूल अन्तर्वार्तासँग मेल खाँदैन । यस्तैगरी, विज्ञापनमा कान्तिपुर टेलिभिजनका प्रस्तोता विकास थपलिया र लोगोको दुरुपयोग गरी पुरानो कार्यक्रमका दृश्यहरूलाई तोडमोड गरिएको पाइयो ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Sajha Katha – साझा कथा
भिडियो, Kantipur TV HD