Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: रबि लामिछानेलाई फसाउन ठूला नेता तथा कान्तिपुर लगायत षड्यन्त्रकारी गिरोह नै लागेको भन्दै कान्तिपुर टेलिभिजनका सम्पादक दिलभुषण पाठकले राजीनामा दिइको दाबी ।
तथ्य: दिलभुषण पाठकले राजीनामा दिनु र रबि लामिछानेसँग सम्बन्धित समाचार कान्तिपुर दैनिकमा प्रकाशित हुनु अलग-अलग सन्दर्भका घटना हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रबि लामिछाने, संचारकर्मी दिलभुषण पाठक र कान्तिपुर मिडिया ग्रुपसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा रबि लामिछानेलाई फसाउन ठूला नेता तथा कान्तिपुर लगायत षड्यन्त्रकारी गिरोह नै लागेको भन्दै सम्पादक दिलभुषण पाठकले राजीनामा दिइको दाबी गरिएको छ ।
Sachet Khabar सचेत खबर नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा रबि लामिछाने र दिलभुषण पाठकको तस्बिर तथा कान्तिपुर दैनिकमा प्रकाशित एउटा समाचारको कटिङ जोडिएको छ । उक्त समाचार कटिङमा ग्यालेक्सी टेलिभिजन छाड्दा रबि लामिछानेको बैंक खातामा ठूलो रकम जम्मा भएको जानकारी दिइएको छ ।
दाबीसहितको भिडियोमा एउटा अडियो पनि सुन्न सकिन्छ । उक्त अडियोमा भनिएको छ- ‘रबि लामिछानेलाई फसाउन ठूला नेता तथा कान्तिपुर लगायत षड्यन्त्रकारी गिरोह नै लागेको भन्दै पत्रकार दिलभुषण पाठकले कान्तिपुरबाट राजीनामा दिएका छन् ।’
प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको देखिन्छ । के रबि लामिछानेविरुद्ध षड्यन्त्र भएको भन्लै सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका हुन्? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित भिडियो सामग्रीमा दाबीसँगै कान्तिपुर दैनिकमा प्रकाशित एउटा समाचारको कटिङ पनि जोडिएको छ । साथै रबि लामिछानेलाई फसाउन ठूला नेता तथा कान्तिपुर लगायत षड्यन्त्रकारी गिरोह नै लागेको भन्दै सम्पादक दिलभुषण पाठकले राजीनामा दिएको दाबी गरिएको छ ।
सबैभन्दा पहिले हामीले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको सन्दर्भ जाँच गर्यौँ । २०८० माघ ८ गते प्रकाशित उक्त समाचारमा ग्यालेक्सी टेलिभिजन छाड्दा रबि लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा भएको जानकारी दिइएको छ ।
माथि उल्लेखित दाबीसहितको पोस्टमा बैंक विवरणसहित कान्तिपुर दैनिकमा प्रकाशित सोही समाचार कटिङसँगै रबि लामिछाने र दिलभुषण पाठकको तस्बिर जोडिएको पाइयो । साथै रबि लामिछानेकै कारण दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनको सम्पादकीय जिम्मेवारीबाट राजीनामा दिएको दाबी गरिएको छ ।
सन्दर्भ जाँच गर्ने क्रममा हामीले मिडिया कुराकाली डटकम (Media Kurakani) मा प्रकाशित एउटा समाचार फेला पार्यौँ । २०८० पुष ७ गते प्रकाशित उक्त समाचारमा कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको र टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएको जानकारी दिइएको छ ।
मिडिया कुराकानीमा प्रकाशित समाचारको एउटा अंश यस्तो छ-
‘कान्तिपुर टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ । प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिएका छन् । पाठकको बिदाईसँगै प्रधान सम्पादकमा विजय पौडेल आउने भएका छन् । यस्तै कान्तिपुर टिभीको सम्पादकमा रुपेश श्रेष्ठले जिम्मेवारी पाएका छन् । यी निर्णयहरू औपचारिक रुपमा घोषणा हुन बाँकी छ । हामीले सम्पर्क गरेका सबैजसो श्रोतहरूले यसको पुष्टि गरेका छन् । तर घोषणा बाँकी रहेको भन्दै औपचारिक प्रतिक्रिया दिन स्रोतहरू मानेनन् ।’
फेला परेको प्रस्तुत समाचारले के पुष्टि गर्न भने दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनबाट राजीनामा दिइसकेपछि मात्रै रबि लामिछानेसँग सम्बन्धित समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो ।
कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले राजीनामा दिइसकेको र टेलिभिजनमा सम्पादकीय नेतृत्व परिवर्तन भइसकेको समाचार सार्वजनिक भएको भोलिपल्ट अर्थात् २०८० माघ ८ गतेको कान्तिपुर दैनिकमा ग्यालेक्सी टेलिभिजन छाड्दा रबि लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्मा गरिएको समाचार प्रकाशित भएको हो ।
अलग मिति र अलगक सन्दर्भका दुईवटा फरक तथ्यलाई एकै ठाउँमा जोडिएको देखिन्छ । दिलभुषण पाठकको राजीनामा र रबि लामिछानेसँग सम्बन्धित कान्तिपुर दैनिकमा प्रकाशित समाचारको सम्बन्ध स्थापित गर्ने अन्य कुनै प्रमाण फेला परेनन् ।
यही क्रममा दिलभुषण पाठकले आफ्ना दर्शकलाई सामाजिक संजालबाटै कान्तिपुर टेलिभिजनबाट राजीनामा दिएको जानकारी गराएका छन् । तर पाठकले रबि लामिछानेका कारण आफूले राजीनामा दिएको बताएका छैनन् । उनले आफ्ने फेसबुक आइडीमा व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतका गतिविधिमा सहमत जनाउन नसकेर राजीनामा दिएको जानकारी दिएका छन् ।
दिलभुषण पाठकले आफ्नो राजीनामा बारे लेखेको फेसबुक स्ट्याटसको एउटा अंश यस्तो छ- ‘आजको आवश्यकता जिम्मेवारीसहितको निष्पक्ष, स्वतन्त्र, जवाफदेही र पारदर्शी पत्रकारिताको हो । पेशागत मर्यादाप्रतिको मेरो निष्ठाले पछिल्लो समय हावी हुँदै गएको व्यक्ति केन्द्रित स्वार्थ र पेशागत मर्यादाविपरीतको गतिविधिमा सहमति जनाउन दिएन ।’
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनबाट राजीनामा दिनु र कान्तिपुर दैनिकमा रबि लामिछानेसँग सम्बन्धित समाचार प्रकाशित हुनु फरक-फरक सन्दर्भका घटना हुन् । अर्कोतर्फ रबि लामिछानेलाई फसाउन ठूला नेता तथा कान्तिपुर लगायत षड्यन्त्रकारी गिरोह नै लागेको भन्दै दिलभुषण पाठकले राजीनामा दिएको भन्ने दाबी कुनैपनि तथ्य-प्रमाणबाट पुष्टि हुँदैन ।
रबि लामिछानेकै कारण दिलभुषण पाठकले कान्तिपुर टेलिभिजनबाट राजीनामा दिएको भन्ने दाबी अपुष्ट छ । दिलभुषण पाठकले राजीनामा दिनु र रबि लामिछानेसँग सम्बन्धित समाचार कान्तिपुर दैनिकमा प्रकाशित हुनु अलग-अलग सन्दर्भका घटना हुन् ।
इपेपर, epaper.ekantipur
समाचार, Media Kurakani
दिलभुषण पाठक, Social Media
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
February 4, 2025
Aakash Chhetri
November 15, 2024
Aakash Chhetri
September 12, 2024