दाबी: कलाकारहरुले रवि लामिछानेलाई भेटेको र दीपाश्री निरौलाले रवि आज छुट्न लागेको अभिव्यक्ति दिएको भिडियो ।
तथ्य: पाँच वर्ष पुरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ तर सन्दर्भ खुलाइएको छैन ।
कलाकार दीपकराज गिरी र दीपाश्री निरौला देखिएको एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोसँगै कलाकारहरुले रवि लामिछानेलाई भेटेको र दीपाश्री निरौलाले रवि आज छुट्न लागेको अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
Kapil_khadka_1 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा दीपकराज गिरी र दीपाश्री निरौला लगायतका व्यक्तिहरु देखिएका छन् । साथै भिडियोमा दीपाश्री निरौलाले रवि लामिछानेको पक्षमा बोलिरहेकी छन् । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘आज रवि लामिछाने छुट्ने पक्का दीपाश्री निरौला । कलाकारहरुले रवि लामिछानेलाई भेटेपछि भन्छन् रविको जित हुन्छ ।’

केही दिनअघि मात्रै (३० अक्टोवर २०२४) मा पोस्ट गरिएको भिडियोमा ६२ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ३ हजारभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई करिब १ हजारभन्दा बढी पटक सेयर गरिएको छ ।
यतिमात्र होइन, प्रस्तुत भिडियोबाट थप ११ वटा सामग्री पुनर्उत्पादन गरिएको देखियो । यी तथ्यांकहरुले दाबीसहितको भिडियो सामाजिक संजालमा व्यापक फैलिएको पुष्टि गर्छन् ।

के कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले प्रहरी हिरासतमा रहेका रवि लामिछानेको समर्थनमा अभिव्यक्ति दिएका हुन् त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
२ कात्तिक २०८१ मा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो । सहकारीमा जम्मा भएको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मार्फत् अपचलन गरेको आरोपमा नेपाल प्रहरीले रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
रवि लामिछाने प्रहरी हिरासतमै रहेकै बेला कलाकार दीपकराज गिरी र दीपाश्री निरौला देखिएको एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै दीपाश्री निरौलाले रवि लामिछाने आज छुट्न लागेको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
दाबीसहितको भिडियोमा News Filmy लेखिएको एउटा वाटरमार्क देख्न सकिन्छ । यही आधारमा हामीले युट्युबमा विभिन्न वाक्यांशको जाँच गर्यौँ । नतिजास्वरुप NewsFilmy नामक युट्युब च्यानल फेला पर्यो । साथै हामीले यो युट्युब च्यानलमा पोस्ट गरिएका नयाँ-पुराना भिडियोको जाँच गर्यौँ ।
जाँचको नतिजास्वरुप पाँच वर्षअघि (५ अगस्ट २०१९) पोस्ट गरिएको भिडियो भेटियो, जसमा दीपकराज गिरी, दीपाश्री निरौला लगायतका विभिन्न कलाकारलाई देख्न सकिन्छ । ती कलाकारले तत्कालीन संचारकर्मी रवि लामिछानेको समर्थमनमा अभिव्यक्ति दिएका छन् ।
२०७६ साउनमा तत्कालीन टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने पनि आरोपित भएपछि उनी चितवन प्रहरीको गिरफ्तमा परेका थिए । त्यो बेला रवि लामिछाने राजनीतिमा आइसकेका थिएनन् ।
टेलिभिजन प्रस्तोताको भूमिकामा रहेका रवि लामिछाने पक्राउ परेपछि उनको समर्थनमा दीपकराज गिरी, दीपाश्री निरौला लगायतका कलाकार चितवनसमेत पुगेका थिए । सोही सन्दर्भमा खिचिएको भिडियोलाई भिडियोलाई सन्दर्भ लुकाएर वर्तमान समयमा पोस्ट गरिएको देखिन्छ ।
निष्कर्ष
कलाकारहरुले रवि लामिछानेलाई भेटेको र दीपक-दीपाले रवि आज छुट्न लागेको अभिव्यक्ति दिएको भन्दै पोस्ट गरिएको भिडियोले भ्रामक सन्देश दिएको छ । पाँच वर्ष पुरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिएको छ तर सन्दर्भ खुलाइएको छैन । रवि लामिछाने पक्राउ परेका बेला पोस्ट गरिएको दाबीसहितको भिडियो भ्रामक रहेको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, NewsFilmy
समाचार, himalkhabar
समाचार, onlinekhabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।