Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
घरभित्र चितुवा पसेर कुकुर लगेर गएको भिडियो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा नेपालको राजधानी काठमाडौँमा चितुवा देखिएको र घरबाटै कुकुर उठाएर लगेको दाबी गरिएको छ । भिडियोमा एउटा घरको दृश्यमा आधारित छ जहाँ कुकुर भुकिरहेको देखिन्छ । केही बेरमै घरको गेट नाघेर एउटा जनावरभित्र आउँछ र कुकुरमाथि आक्रमण गर्छ । त्यो जनावरले कुकुरलाई बोकेर पर्खाल बाहिर निस्किन्छ ।
केही दिनअघि एउटा युट्यूब च्यानलले यो भिडियो पोस्ट गर्दै उक्त घटना काठमाडौँमै घटेकोसमेत दाबी गरेको छ ।
युट्यूबमा मात्र होइन यो भिडियो अन्य सामाजिक संजालमा पनि फैलिएको छ । ३ दिनअघि यो भिडियो सुरज सिंह नामक टिकटक आइडीमा पोस्ट भएको थियो । भिडियोबारे टिकटकमा लेखिएको छ,‘काठमाडौँमा नै राति कुकुर लग्यो चितुवाले ।’ भिडियोको थमनेलमा भने ‘आजै राति घरको कम्पाउन्डभित्र बाघले कुकुरलाई लगेको’ दाबी गरिएको छ ।
पछिल्लो समय सामाजिक संजालमा यो भिडियो द्रुत गतिमा फैलिरहेको छ । पोस्ट भएको ३ दिनमै यो भिडियोमाथि २ लाख ३९ हजार प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यो भिडियोलाई १५ हजार ८ सय टिकटक प्रयोगकर्ताले सेयर गरेका छन् भने ७ हजारभन्दा बढीले भिडियोमा कमेन्ट गरेका छन् । भिडियोमा टिकटक प्रयोगकर्ताहरूले कुकुरप्रति दु:ख ब्यक्त गरेका छन् भने कुकुरलाई नबचाएकोमा घरधनीप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।
युजर तामाङ नामक टिकटक प्रयोगकर्ताले उक्त भिडियोमाथि कमेन्ट गर्दै लेखेका छन्,‘यो घरको मान्छे ज्यानमारा रहेछ । कुकुरले तेत्रो भुक्दा पनि नउठ्ने कुकुर पनि जोगाउन नसक्नेले किन कुकुर पाल्नु ?’ यो दृष्टान्त एउटा उदाहरण मात्र हो । भिडियोको कमेन्टमा यस्ता धेरै प्रश्न छन् । त्यसैले उक्त भिडियोमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
भिडियोमा नेपालको राजधानी काठमाडौँमा बाघ देखिएको र घरबाटै कुकुर उठाएर लगेको दाबी गरिएको छ । उक्त भिडियोमा कुकुर भुकेको आजाव पनि सुन्न सकिन्छ । जाँच गर्दै जाँदा यो भिडियोमा देखिएको दृश्य सीसीटीभीको फुटेजबाट झिकिएको पाइयो । भिडियोको पूरा रुप विभिन्न युट्यूब च्यानलले राखेका छन् ।
युट्यूबमा पोस्ट भएका सीसीटीभी फुटेजका अंश हेर्दा यो घटना यही १३ डिसेम्बर रातको १:४५ मा घटको देखिन्छ । तर, यो भिडियो राख्ने केही युट्यूब च्यानलहरूको दाबी भने टिकटक भिडियोको भन्दा फरक देखिन्छ । ती भिडियोहरूमा यो घटना काठमाडौँको नभइ चितवन जिल्लामा घटेको दाबी गरिएको छ ।
हाम्रो टीभी नामक युट्यूब च्यालनले यो भिडियो राख्दै हेडलाइन बनाएको छ,‘चितवनमा चितुवाले घरभित्र पसेर कुकुर लगेको सीसीटीभी फुटेजमा देखियो ।’ त्यस्तै नेपाल सिटिजन टीभी नामक युट्यूब च्यानलले पनि यही दाबी दोहोर्याउँदै सोही भिडियो पोस्ट गरेको छ ।
युट्युब च्यानलले यो सीसीटीभी फुटेजका दृश्यहरू फरकफरक समयमा पोस्ट गरेका छन् । ती सबै च्यालनले उक्त भिडियोमा घटेको घटना चितवन जिल्लामा घटेको जानकारी दिएका छन् । तर, टिकटकमा काठमाडौँमा घटेको घटना भनेर दाबी गरिएको यो घटना काठमाडौँ र चितवन दुबै ठाउँमा नघटेको पाइयो ।
भिडियोबारे थप जाँच गर्दै जाँदा हामीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख हरिभद्र आचार्यसँग सोधपुछ गर्यौँ । उनले यो घटना चितवनमा नघटेको बताए । प्रमुख आचार्यले यो घटना चितवनको हो भनेर भ्रामक तरिकाले प्रचार गरेकोसमेत जानकारी दिए ।
आचार्यको भनाइबाट यो घटना चितवनको नभएको प्रष्ट भएपछि हामीले भिडियोबारे थप जाँच गर्यौँ । त्यसपछि यो घटना लमजुङ जिल्लामा घटेको देखिने केही तथ्यहरू भेटिए । गौरवध्वज खड्का नामको युट्यूब च्यालनले यो भिडियो पोस्ट गरेको भेटियो । यो च्यानलले यो घटना लमजुङमा घटेको दाबी गरेको छ ।
यो युट्यूब च्यानलको दाबीलाई पुष्टि गर्ने अरु प्रमाणहरू पनि टिकटकमै भेटिए । मगर अनिता नामक टिकटक आइडीबाट उक्त घटना आइडी प्रयोगकर्ताकै घरमा घटेको दाबीसहितका भिडियोहरू पोस्ट भएका छन् । तर, यो घटना लमजुङस्थित सुन्दरबजार नगरपालिका-७ कुमालटारमै घटेको हो कि हैन भन्ने पुष्टि त्यहाँका प्रहरी अधिकारी गरेनन् । किनकि स्थानीय प्रहरी कार्यालयले आफू कहाँ कुनै पनि यस्तो रिपोर्ट नआएको जानकारी दिएका छन् । लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले आफ्नो कार्यालयमा यस्तो कुनै रिपोर्ट दर्ता नभएको जानकारी दिए ।
आधिकारिक रुपमा पुष्टि नभए पनि मगर अनिता नामक टिकटक आइडीमा पोस्ट भएका भिडियोहरूले यो भिडियोमा देखिएको घटना लमजुङ कै हो भन्ने संकेत गर्थ्यो ।
भिडियो एक : टिकटकमा आएको पहिलो सीसीटीभी फुटेज
भिडियो दुई : घटनापछि सीसीटीभी फुटेज हेरेको
भिडियो तीन : घटनास्थलको दिउँसोको दृश्य
भिडियो चार : चितुवाको आक्रमणमा परेको कुकुरको सम्झना
भिडियो पाँच : यी टिकटक प्रयोगकर्ता लमजुङकै हुन् भन्ने प्रमाण

केही समयको प्रयासपछि हामीले घटना घटेकै घरकी एक सदस्यसँग फोन सम्पर्क गर्न सक्यौँ । जसबाट यो घटना लमजुङकै हो भन्ने पुष्टि भयो । फोन कुराकानीमा अनिता थापाले घटना घटेको घर आफ्नो माइतीघर रहेको जानकारी दिइन् । लमजुङस्थित सुन्दरबजार नगरपालिका-७ कुमालटारमा रहेको उक्त घरमा करिब एक हप्ताअघि उक्त घटना घटेको थियो । सीसीटीभीमा कैद भएको भिडियो अनिताले नै आफ्नो टिकटक आइडीमा पोस्ट गरेकी थिइन् ।
न्युजचेकरसँग फोन कुराकानी गर्दै कुराकानी गर्दै थापाले सुरक्षित घरमै आएर कुकुरमाथि चितुवाले आक्रमण गर्दा यस्ता घटनाबाट जोगाउने जिम्मा सरकारी निकायकोसमेत रहेको र आफ्नो परिवारलाई आरोप नलगाउन सामाजिक संजाल प्रयोगकर्तालाई आग्रह गरिन् ।
‘आक्रमणमा परेको कुकुरलाई हामीले सानोदेखि दूध किनेर खुवाउँदै स्याहार सुसार गरेर पालेका थियौँ । कुकुरलाई चितुवाले लगेको भिडियो सार्वजनिक भएपछि मान्छेहररूले हामीलाई नराम्रो कमेन्ट गर्दा चित्त दुखेको छु’, थापाले भनिन्,’सधैँझैँ भुकिरहने कुकुर त्यो दिन भुकेको पनि थाहा भएन । घरका सबै सदस्य गहिरो निन्द्रामा पर्नु हाम्रो गल्ती हो ?’
इन्टरनेटमा भेटिने तथ्य र फोन कुराकानीबाट संकलित जानकारीको जाँच गर्दा भिडियोमा देखाइएको घटना काठमाडौँ र चितवनमा घटेको देखिँदैन । काठमाडौँको घरमा बाघ पसेर कुकुर लगेको भन्ने दाबी गलत हो । त्यस्तै यो घटना चितवनको हो भन्ने युट्यूब च्यालनहरूको दाबी पनि गलत सावित भएको छ । यो घटना लमजुङ जिल्लास्थित सुन्दरबजार नगरपालिका-७ कुमालटारको एउटा घरमा घटेको घटना हो । यसलाई सामाजिक संजाल प्रयोगकर्ताले भ्रामक रुपमा प्रस्तुत गरेको देखिन्छ ।
गौरवध्वज खड्का नामको युट्यूब च्यालन
हाम्रो टीभी नामक युट्यूब च्यालन
नेपाल सिटिजन टीभी नामक युट्यूब च्यानल
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021

Aakash Chhetri
June 13, 2024

Aakash Chhetri
April 4, 2023