भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ । भिडियो र अडियोसहितको उक्त सामग्रीमा अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज’ भएको दाबी गरिएको देखिन्छ ।
Hamroaawaj17 नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको भिडियोमा अमेरिकी राष्ट्रपति जो बाइडन, नेपालका गृहमन्त्री रबी लामिछाने र एमसीसीको लोगो देख्न सकिन्छ । सोही भिडियोसहितको सामग्रीमा दाबीसहितको थमनेल राखिएको छ ।
उक्त थमनेलमा लेखिएको छ- ‘भर्खरै आयो खुसीको खबर, भर्खरै रबी लामिछानेले अमेरिका फोन गरी एमसिसी खारेज गरेको छ ।’

दाबीसहितको सामग्रीमा अंग्रेजी भाषामा बोलिएको एउटा अडियोसमेत सुन्न सकिन्छ । जसमा एमसिसी कम्प्याक्ट अप्रेसन्सकी उपाध्यक्ष फातिमा सुमारलाई सम्बोधन गरिएको छ ।
प्रस्तुत दाबीसहितको सामग्रीमा १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब साढे ३ सय टिकटक प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेको दाबीसहितको सामग्रीलाई डेढ सयभन्द बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, प्रस्तुत दाबीमा जोडियोको अडियोबाट अन्य थप सामग्री पनर्उत्पादन गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत सामग्रीको फैलावट व्यापक छ ।

के दाबीमा भनिएजस्तो गृहमन्त्री रबी लामिछानेले अमेरिका फोन गर्दा एमसिसी खारेज गरेको हो त ? हामीले प्रस्तुत गम्भीर विषयको दाबीमाथि जाँच गरेका छौँ ।
तथ्य जाँच / प्रमाणीकरण
अमेरिकी सरकारले अन्य देशहरूलाई सहायता गर्न स्थापना गरेको परियोजना हो, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) । आर्थिक संकटबाट जुध्न नेपालजस्ता मुलुकलाई आर्थिक अनुदान उपलब्ध गराउने संस्थाको रुपमा यसलाई चिनाइएको छ ।
एमसिसीमार्फत् अमेरिकाले नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउने सम्झौता भएको छ । करिब १ वर्षअघि अर्थात् २०७८ फागुन १५ नेपालको संघीय संसद्बाट एमसिसी सम्बन्धी सम्झौता अनुमोदन गरिएको भियो ।
संघीय संसद्बाट एमसिसी अनुमोदन भएको एक वर्ष पुग्न लागिसक्दा सामाजिक संजालमा यो सम्झौता खारेज भएको दाबी गरिएको छ । तर, प्रस्तुत दाबीमा कुनै सत्यता भने छैन । एमसिसी खारेज गरिएको दाबीसहितको सामग्रीमा जोडिएको अंग्रेजी भाषाको अडियो पनि फरक सन्दर्भको हो ।

प्रस्तुत अडियोको जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले एउटा किवर्ड युट्युबमा सर्च गर्यौँ । ‘fatema sumar and nepali minister’ वाक्यांश युट्युबमा सर्च गर्दा U.S. Department of State को युट्युब च्यानलमा एउटा भिडियो भेटियो ।
प्रस्तुत भिडियो अहिले नभई ५ वर्षअघि अर्थात् १५ सेप्टेम्बर २०१५ मा पोस्ट गरिएको थियो । भिडियोमा देखिने समारोहबारे जानकारी दिँदै युट्युब च्यानलमा लेखिएको छ- ‘युएस डिपार्टमेन्ट अफ स्टेटमा नेपालसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन हस्ताक्षर समारोहमा उप-सचिव जोन सुलिभान उपस्थित ।’
फेला परेको प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने एमसिसी खारेज भएको छैन । सामाजिक संजालमा विषयवस्तुलाई तोडमोड गरेर भ्रामक दाबी प्रस्तुत गरिएको देखिन्छ ।
निष्कर्ष :
गृहमन्त्री रबी लामिछानेले अमेरिका फोन गर्दा एमसिसी खारेज भएको दाबी गलत छ । ५ वर्षअघि खिचिएको भिडियोलाई तोडमोड गर्दै दाबीसहितको सामग्रीमा जोडेर मिथ्या सूचना फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co