आइतबार बिहान (साउन १५) नेपालको पूर्वी भूभाग तथा भारतको पश्चिम बंगाल राज्यका केही भूभागमा भूकम्पको धक्का महसुस गरियो । नेपालस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङ जिल्लामा केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प जाँदा उक्त धक्का महसुस गरिएको थियो ।
यही सेरोफेरोभित्र रहेका सामाजिक संजाल प्रयोगकर्ताले भूकम्पका बारेमा विभिन्न सामग्री तयार पार्दै टिकाटिप्पणी गरेको देखिन्छ । सोही क्रममा dance lover नामक टिकटक आइडीमा एउटा भिडियोसहितको सामग्री पोस्ट गरिएको छ । जसमा मानिसहरूको ठूलो भीड भागदौडमा होमिएको देखिन्छ । उक्त भिडियो सामग्रीको थमनेलमा लेखिएको छ- आजको भूकम्पले सबैको भागाभाग, खोटाङमा ।’

खोटाङमा भूकम्प गएकै दिन पोस्ट गरिएको उक्त सामग्रीमा एक दिनभित्रै करिब ६७ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ५ सयभन्दा बढी प्रयोगकर्ताले दाबीसहितको सामग्रीलाई सेयर गरिसकेका छन् ।
त्यस्तै sukaritmahato नामक टिकटक आइडीमा पनि भूकम्पसँग सम्बन्धित अर्को दाबीसहितको भिडियोसहितको सामग्री पोस्ट गरिएको छ । उक्त भिडियोमा एउटा भिडभाडयुक्त सडक देखिएको छ र सवारीसाधन गुडिरहेको उक्त सडकमै एउटा ठूलो संरचना बजारिएको छ ।
भिडियोमा एउटा अडियो समाचार शैलीको अडियो पनि सुनिन्छ । जसमा नेपालमा निकै ठूलो भूकम्प भएको र जताततै हंगामा भएकोझ दाबी गरिएको छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपालमा आज बिहान भूकम्प धक्का ६.३ को, २०७९/०४/१५ ।’
सामाजिक संजालमा उक्त भिडियोको फैलावट व्यापक रहेको छ । आइतबार नै पोस्ट गरिएको उक्त भिडियोमा करिब ४० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यो भिडियोलाई सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब ७ सय रहेको छ ।

खोटाङलाई केन्द्रविन्दु बनाएर आइतबार भूकम्प गएको र सोही दिन प्रस्तुत दाबीसहितको भिडियो सामग्री पोस्ट गरिएको छ । यतिमात्र नभएर उक्त भिडियोको थमनेलमा आइतबारकै मिति राखिएको छ । यस दाबीबाट आम सामाजिक संजाल प्रयोगकर्ता आतंकित बनेको देखिन्छ । सोही कारण हामीले उक्त दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको पहिलो सामग्रीबाट हामीले जाँच थाल्यौँ । पहिलो सामग्रीमा मानिसहरूको ठूलो भीड भागदौडमा होमिएको देखिन्छ । आइतबार पोस्ट गरिएको उक्त दृश्य खोटाङमा केन्द्र बनाएर भूकम्प जाँदा खिचिएको भन्ने व्यहोराको दाबी टिकटकमा छ ।
हामीले उक्त भिडियोको स्क्रीनसट लिएर गुगल रिवर्स इमेज सर्च गर्यौँ । फलस्वरुप tansudyn नामक ट्विटर ह्यानडिलमा ५ अक्टोबर २०२१ मा उक्त भिडियो पोस्ट गरिएको पाइयो ।

यस तथ्यबाट के प्रष्ट हुन्छ भने आइतबार खोटाङमा भूकम्प जाँदा खिचिएको दाबी गरिएको उक्त भिडियो आइतबारको होइन । यस भिडियोलाई खोटाङमा केन्द्र बनाएर आइतबार गएको भूकम्पसँग जोडेर भ्रामक बनाइएकफो छ । यस भिडियोबारे थप जानकारी पत्ता लगाउन हामीले युट्युब लगायतमा विभिन्न किवर्ड सर्च गर्याैँ । तर, यसको वास्तविकता पत्ता लाग्न सकेन ।
पहिलो दाबी भ्रामक रहेको तथ्यजाँच भएपछि हामी दोस्रो दाबीमा प्रवेश गर्यौँ । दाबीसहितको दोस्रो भिडियोमा एउटा भिडभाडयुक्त सडक देखिएको छ र सवारीसाधन गुडिरहेको उक्त सडकमै एउटा ठूलो संरचना बजारिएको देखिन्छ । यस दृश्यलाई आइतबारको भन्ने दाबी उक्त भिडियोको थमनेल र अडियोमार्फत् गरिएको छ ।
सबैभन्दा पहिले हामीले उक्त सरमाचार शैलीको अडियोको मूल सामग्री फेला पार्ने काममा लाग्यौँ । भिडियोमा राखिएको लोगोसहितको नामलाई युट्युबमा सर्च गर्दा हामीले Your nepali नामक युट्युब च्यानल फेला पार्यौँ । उक्त युट्युब च्यानलमा आइतबार पोस्ट गरिएको भिडियो सर्च गर्दा दाबीसहितको सामग्रीको मूल स्रोत भेटियो ।
प्रस्तुत युट्युब च्यानलले पोस्ट गरेका अन्य सामग्री हेर्दा यो युट्युब च्यानल विश्वसनीय देखिएन । यसले फरक सन्दर्भका दृश्यहरू पोडेर अन्य सामग्री उत्पादन गर्ने गरेको पाइयो । यस तथ्यलाई मध्यनजर गर्दै हामीले दाबीसहितको सामग्रीमा जोडिएको दृश्यको अर्को स्रोत खोज्नतिर लाग्यौँ ।
‘earthquake kathmandu’ भन्ने किवर्ड सर्च गर्दा हामीले दाबीसहितको सामग्रीमा प्रयोग गरिएको अर्को भिडियो फेला पर्यौँ । wara Musafir नामक युट्युब च्यानलमा भेटिएको उक्त सामग्री ३ मे २०१५ मा पोस्ट गरिएको देखिन्छ । विभिन्न फुटेजहरू जोडेर तयार पारिएको उक्त सामग्री २०१५ को महाभूकम्पमा आधारित छ ।
प्रस्तुत तथ्यहरूका आधारमा के प्रष्ट हुन्छ भने भने आइतबारको भूकम्प भन्दै दाबीसहितको सामग्रीमा राखिएका दृश्यहरू फरक सन्दर्भका हुन् । त्यसैले सामाजिक संजालमा फैलाइएका ती दृश्यहरू वर्तमान सन्दर्भमा पोस्ट हुँदा भ्रामक बनेका छन् ।
निष्कर्ष :
आइतबार बिहान खोटाङमा गएको भूकम्पसँग जोडिएको दृश्यहरू अहिलेका होइनन् । पुराना भिडियोलाई छाँटकाँट गरेर भ्रामक तरिकाले वर्तमान सन्दर्भसँग जोडेर भ्रामक सामग्री उत्पादन गरिएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co