Fact Check
के प्रधानमन्त्रीले ‘देशलाई राजाको जिम्मा’ लगाउने घोषणा गरेकी हुन्?

दाबी: ‘अहिले बिहान ४ बजे प्रधानमन्त्री शुसिला कार्कीले अब म देश राजालाई जिम्मा दिन्छु भनेर घोषणा गर्नुभयो ।’
तथ्य: प्रधानमन्त्री सुशीला कार्कीले ‘देशलाई राजाको जिम्मा लगाउने घोषणा गरेको’ भन्ने दाबी गलत छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा प्रधानमन्त्री सुशीला कार्कीले ‘देशलाई राजाको जिम्मा’ लगाउने घोषणा गरेको दाबी गरिएको छ ।
टिकटकमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री शुसिला कार्की बोलिरहेको दृश्य जोडिएको छ । २४ अक्टोबर २०२५ पोस्ट गरिएको भिडियो सामग्रीमा लेखिएको छ-
‘अहिले बिहान ४ बजे प्रधानमन्त्री शुसिला कार्कीले अब म देश राजालाई जिम्मा दिन्छु भनेर घोषणा गर्नुभयो । प्रधानमन्त्री शुसिला कार्कीको जिम्मा दिने घोषणा प्रधानमन्त्री शुसिला कार्कीले ४ बजे देश राजा लाई जिम्मा दिने घोषणा गरे । यो ऐतिहासिक घडीको बारेमा जान्नुस् । प्रधानमन्त्री शुसिला कार्की, जिम्मा दिने घोषणा, राजनीतिक परिवर्तन नेपाल, ४ बजे नेपाल, देश राजा जिम्मा, नेपालको राजनीतिक स्थिति, ऐतिहासिक घडी नेपाल, नेपाल समाचार, प्रधानमन्त्रीको भूमिका, शुसिला कार्कीको निर्णय ।’
दाबीसहितको सामग्रीमा ३१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब १ हजार प्रतिक्रिया आएको सामग्री १५ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।

के प्रधानमन्त्रीले ‘देशलाई राजाको जिम्मा’ लगाउने घोषणा गरेकी हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
सामाजिक संजालमा फैलिरहेको भिडियोमा हिमालय टेलिभिजनको लोगो देख्न सकिन्छ । भिडियोको वास्तविकता पत्ता लगाउन हामीले हिमालय टेलिभिजनसँग सम्बन्धित सामाजिक संजाल खाताहरुमा पोस्ट गरिएका प्रधानमन्त्रीसँग सम्बन्धित भिडियोहरुको जाँच गर्यौँ ।
जाँचका क्रममा Himalaya TV फेसबुक पेजमा २० अक्टोबर २०२५ मा पोस्ट गरिएको भिडियो फेला पर्यो । यस भिडियोमा प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा शुभकामना सन्देशमा स्वदेश दिइरहेकी छन् ।

भिडियो सन्देशमा प्रधानमन्त्री कार्कीले समसामायिक विविध विषयमा आफ्नो सन्देश दिइरहेको देखिन्छ । तर, उनले ‘देशलाई राजाको जिम्मा’ लगाउने घोषणा गरेको क्लीप फेला परेन ।
थप जाँचका लागि हामीले संचार माध्यममा प्रकाशित समाचारहरु खोज्यौँ । bizmandu.com र deshsanchar.com लगायतका संचार माध्यममा प्रधानमन्त्रीले जारी गरेको सन्देशको समाचार प्रकाशित गरिएको छ । तर, ३ कात्तिक २०८२ मा प्रकाशित समाचारमा ‘देशलाई राजाको जिम्मा’ लगाउने घोषणा गरिएको कुनै जानकारी उल्लेख छैन ।
जेनजी आन्दोलन (सेप्टेम्बर ८ र ९) पछि पूर्व प्रधानन्यायाधीशसमेत रहेकी सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकी थिइन् । उनको सरकारले आगामी मार्च ६ मा निर्वाचन गराउने म्यान्डेट पाएको छ ।

अर्कोतर्फ प्रधानमन्त्री कार्कीले ‘देशलाई राजाको जिम्मा’ लगाउनले जस्तो कुनै घोषणा गरेको भेटिएन । उनले आफ्नो सार्वजनिक अभिव्यक्तिमा पनि यस्तो कुनै आशय प्रकट गरेको छैनन् ।
निष्कर्ष
प्रधानमन्त्री सुशीला कार्कीले ‘देशलाई राजाको जिम्मा लगाउने घोषणा गरेको’ भन्ने दाबी गलत छ । टिकटकमा फैलाइएको भिडियो वास्तवमा हिमालय टेलिभिजनमा प्रसारित तिहार, म्हं पूजा, नेपाल संवत् नयाँ वर्ष र छठ पर्वका शुभकामना सन्देशको क्लिप हो, जसलाई सन्दर्भविहीन रूपमा सम्पादन गरी गलत दाबीसहित पोस्ट गरिएको देखियो । प्रधानमन्त्री कार्कीले सत्ता परिवर्तनक सार्वजनिक घोषणा गरेको समाचार वा प्रमाण भेटिँदैन ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
भिडियो, Himalaya TV
समाचार, bizmandu.com
समाचार, deshsanchar.com
समाचार, thehimalayantimes.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


