Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘प्रधानमन्त्री सुशीला कार्कीको घरमा डोजर चलेको छ’, तस्बिर
तथ्य: २०७८ सालमा रामेछापको मन्थलीस्थित एउटा घर पहिरोका कारण भासिएको थियो, सोही घरको दृश्यलाई फरक सन्दर्भसँग जोडर भ्रामक पारिएको देखियो ।
डोजर चलेको तस्बिरमा पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नाम जोडिएका केही दृश्य सामाजिक संजाल संजालमा फैलिरहेका छन् । उक्त दृश्यमा ‘प्रधानमन्त्री सुशीला कार्कीको घरमा डोजर चलेको’ दाबी गरिएको छ ।

Intajking99 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा, एउटा तीन तले पक्की घरमा डोजर चलिरहेको तस्बिर जोडिएको छ । उक्त भिडियोमा पूर्वप्रधानमन्त्री सुशीला कार्की र उनका श्रीमान् दुर्गा सुवेदीको तस्बिर समेत जोडिएको छ ।
साथै भिडियोमा जोडिएको समाचारशैलीको अडियोमा भनिएको छ- ‘प्रधानमन्त्री सुशीला कार्कीको घरमा डोजर चलेको छ । पाँच करोड बराबरको सार्वजनिक जमिन मिचेर कम्पाउन्ड गरेर घर बनाएकी सुशीला कार्कीले ९ आना, १ पैसा सार्वजनिक जग्गा मिचेकी छन्…।’
४ मे २०२६ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई ११ हजार ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै पोस्ट गरिएको एक दिनमै भिडियोलाई करिब ५ लाखले हेरिसकेका छन् । त्यसैगरी Chinalama117 नामक टिकटक आइडीमा पनि सोही दृश्य र अडियो पोस्ट गरिएको छ ।

प्रस्तुत तस्बिर यसअघि क्रियटर निशान मैनाली (Nishani Mainali) ले पनि प्रयोग गरेको पाइयो । मैनालीले ‘सुकुम्बासी बस्तीमा करोडौँको पक्की बनाउन हुँदैन’ भन्दै २७ अप्रिल २०२६ मा पोस्ट गरेको भिडियोभित्र तीन तले घरमा डोजर चलेको तस्बिर प्रयोग गरिएको छ ।
यी पोस्टहरुबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा फैलिरहेको एउटा तस्बिर, ‘सुशीला कार्कीको घरमा डोजर चलेको’ र ‘सुकुम्बासी बस्तीमा डोजर चलेको’ दुईवटा दाबीसँग जोडिएको छ । त्यसैले उक्त तस्बिरको वास्तविक सन्दर्भ पत्ता लगाउन तथ्यजाँच गरियो ।

पछिल्लो समय सरकारले अतिक्रमित सरकारी जमिन खाली गराउने अभियान संचालन गरिरहेको छ । जस अन्तर्गत काठमाडौँ उपत्यकाका सार्वजनिक जमिन तथा नदी किनारमा बसेका सुकुम्बासी बस्ती र घरमा डोजर चलिरहेका छन् । यही सन्दर्भमा दुईवटा दाबीसँग जोडिएको एउटा तस्बिर सामाजिक संजालमा फैलिरहेको छ ।
जाँचका क्रममा सबैभन्दा पहिले, पूर्वप्रधानमन्त्री सुशीला कार्कीको घरमा डोजर चलेको जानकारीलाई प्रमाणिकरण गर्यौँ । सामाजिक संजालमा पोस्ट गरिएको एउटा भिडियोमा काठमाडौँको टोखा नगरपालिकाले सुशीला कार्कीको घरमा डोजर चलाएको र सार्वजनिक जग्गा खाली गरेको जानकारी दिइएको छ ।
त्यस्तै thepowernews.com मा ‘प्रधानमन्त्री शुशिला कार्कीको घरको गेटमा टोखा नगरपालिकाको डोजर’ शिर्षकको समाचार प्रकाशित भएको पाइयो ।

१० मार्च २०२६ मा पोस्ट गरिएको समाचारको सुरुवाती अंश यस्तो छ- ‘काठमाडौँको टोखा नगरपालिका वडा नं. ४ मा रहेको भगवती मन्दिर ओरालो क्षेत्रमा बाटो चौडा बनाउने कार्य सुरु गरिएको छ । नगरपालिकाको डोजर प्रयोग गरी उक्त सडक विस्तार गर्ने काम भइरहेको स्थानीयले जनाएका छन् । भगवती मन्दिर ओरालोबाट जाने बाटो, जुन प्रधानमन्त्री सुशीला कार्की को घरको गेट नजिकबाट गुज्रिन्छ, सो क्षेत्रमा सडक विस्तारको काम गरिएको हो । टोखा नगरपालिकाको मापदण्डअनुसार सडकको चौडाइ कायम गर्ने उद्देश्यले नगरपालिकाले डोजर प्रयोग गरी बाटो विस्तार गरेको बताइएको छ ।’
प्रस्तुुत समाचारमा पनि डोजर चलिरहेको तस्बिर पोस्ट गरिएको छ । तर, घरमा डोजर चलेको छैन, सडक र सार्वजनिक जग्गामा मात्र चलेको हो । घरको मुलढोका बाहिरै डोजर चलेको तस्बिरमा देख्न सकिन्छ ।
अर्कोतर्फ टोखा नगरपालिकाले चलाएको जेसीबी मेसिन सहितको दृश्य र दाबीसहितको सामग्रीमा पोस्ट गरिएको तस्बिरमा कुनै समानता छैन । प्रस्तुत जाँचबाट के प्रष्ट हुन्छ भने दाबीसहित (सुशीला कार्कीको घरमा डोजर चलेको) सामाजिक संजालमा पोस्ट गरिएको तस्बिर अन्य कुनै फरक सन्दर्भको हो ।
विस्तृत जाँचका क्रममा वाक्यांश र रिभर्स इमेज सर्चको नतिजा हेर्यौँ । जाँचको नतिजास्वरुप meropradesh.com नामक वेबसाइटमा प्रकाशित समाचार फेला पर्यो ।

१६ साउन २०७८ मा पोस्ट गरिएको समाचारमा वर्षाको कारण रामेछापको मन्थली नगरपालिकास्थित बसपार्क क्षेत्रको तीन तले पक्की घर भासिएको जानकारी दिइएको छ ।
ramechhapnews.com मा प्रकाशित अर्को समाचारमा माथिल्लो भूभागबाट पहिरो आउँदा घर चर्किएको र दोस्रो दिन एक तला नै भासिएको उल्लखेत छ । पाँच वर्षमा करिब एक करोड लगानी गरेर निर्माण गरिएको घर भासिएपछि घरधनी हिरा बहादुर माझीले रामेछाप न्युजसँग भनेका थिए- ‘जीवनभर कमाएको पसिनाबाट बनाएको तीन तले घर हेर्दाहेर्दा एक तला भासियो, अब सुकुम्बासी हुने अवस्था आयो ।’
सोही पहिरोले भासिएको तीन तले पक्की घरको तस्बिर सहितको समाचार रिपोर्ट nayapatrikadaily.com मा पनि प्रकाशित भएको पाइयो ।

रामेछापको मन्थलीस्थित तीन तले घर भासिएको समाचारमा उल्लेखित तस्बिर राम्ररी जाँच गर्दा, दाबीसहित पोस्ट गरिएको तस्बिरसँग मिल्दो देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने करिब पाँच वर्ष पहिले रामेछाप जिल्लामा प्राकृतिक विपद्जन्य (घरमाथि पहिरो झरको) घटनाको दृश्यलाई भ्रामक तरिकाले पूर्वप्रधानमन्त्री सुशीला कार्कीको घरसँग जोडिएको पाइयो । त्यस्तै प्रस्तुत तस्बिर काठमाडौँको कुनै सुकुम्बासी बस्ती र डोजर चलेको सन्दर्भसँग सम्बन्धित छैन ।

घरमा डोजर चलेको तस्बिरसँगै जोडिएका दाबीहरुले (सुशीला कार्कीको घरमा डोजर चलेको र सुकुम्बासी बस्तीमा डोजर चलेको) भ्रामक सन्देश प्रवाह गरेका छन् । दाबीसँगै जोडिएको तस्बिर काठमाडौँको सुकुम्बासी बस्ती वा सुशीला कार्कीको घरसँग सम्बन्धित छैन । २०७८ मा रामेछापको मन्थलीस्थित एउटा घर पहिरोका कारण भासिएको थियो, सोही घरको दृश्यलाई फरक सन्दर्भसँग जोडर भ्रामक बनाइएको प्रमाणित हुन्छ ।
तस्बिर, nayapatrikadaily.com
समाचार,meropradesh.com
समाचार, ramechhapnews.com
समाचार, thepowernews.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
April 30, 2026

Aakash Chhetri
November 30, 2025

Aakash Chhetri
October 30, 2025