Fact Check
रामकोटमा ढलिरहेको घरको भिडियो भाइरल

एउटा पक्की घर ढलिरहेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ। भिडियोको थमनेलमा भूकम्पका कारण उक्त घर ढलेको दाबी गरिएको छ। साथै सवैलाई विचार पुर्याएर बस्नसमेत आग्रह गरिएको छ। भिडियो नेपालको रामकोटको रहेको र त्यहाँ ६.४ रेक्टरस्केलको भूकम्प गएकोसमेत जानकारी दिइएको छ। वरिपरीका मान्छेहरू चिच्याइरहेको आवाजसमेत भिडियोमा सुन्न सकिन्छ।
पछिल्लो समय सुभास नामक टिकटक प्रयोगकर्ताले यो भिडियो आफ्नो आइडीमा पोस्ट गरेका छन्। भिडियोमा एउटा ढल्दै गरेको घर देखाइएको छ। २० घण्टाअघि पोस्ट भएको यो भिडियोमाथि २८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन्। त्यस्तै यो भिडियोलाई सेयर गर्ने प्रयोगकर्ताको संख्या करिब साढे ५ सय छ।
टिकटकमा मात्र होइन, यो भिडियो अन्य सामाजिक संजालहरूमा पनि फैलिरहेको देखिन्छ। शुक्रबार नै एक यूट्युब च्यानलले यही भिडियोलाई अपलोड गरेको छ। उक्त च्यानलले लेखेको छ, ‘भर्खर आयो रामकोटमा यति ठूलो भुकम्प, घर नै ढल्यो।’ त्यस्तै बिहीबार पनि अर्को यूट्युब च्यानलले यो भिडियो पोस्ट गरेको थियो।जसको हेडलाइन छ,‘आज रामकोट भुकम्प आउँदा घर नै ढल्यो।’
सामाजिक संजालहरूमा द्रुत गतिमा फैलिरहेको यो भिडियोबारे हामीले तथ्यजाँच गरेका छौँ। भूकम्पबाटै यो घर ढलेको हो ? के नेपालमा भर्खरै गएको र त्यो भूकम्पको झड्काबाट यस्तो क्षति भएको हो ? लगायतका प्रश्नको उत्तर यो तथ्यजाँचले दिएको छ।
तथ्य जाँच / प्रमाणीकरण
नेपालमा यही हप्ता भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार असोज १६ गते सिन्धुपाल्चोक जिल्लालाई केन्द्रबिन्दू बनाएर ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। माथिको भिडियो नेपालमा पछिल्लो पटक भूकम्पको धक्का महसुस भएपछि फैलिन थालेको देखिन्छ।

तर, भिडियोमा देखिएको घर यही भूकम्पको कम्पनका कारण ढलेको हो त ? घर ढलिरहेको यो भिडियो सन् २०१५ को हो। जतिबेला नेपालमा महाभूकम्प गएको थियो। नागार्जुन नगरपालिकाको रामकोटमा रहेको यो घर भत्किँदा त्यतिबेला यो भिडियो खिचिएको थियो। सदिश मानन्धर नाक यूट्युब प्रयोगकर्ताले यो भिडियो ८ मे २०१५ मा पोस्ट गरेका थिए। यसबाट के प्रष्ट हुन्छ भने नेपालमा भूकम्प गएको मौका पारेर पूरानो भिडियो फैलाउन खोजिएको छ। जसले भ्रम सिर्जना गरेको देखिन्छ।
निष्कर्ष :
पूरानो भिडियोलाई भ्रामक तरिकाले गतल सन्दर्भमा फैलाउन खोजिएको देखिन्छ। यो भिडियो अर्धसत्य छ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

