दाबी: ज्ञानेन्द्र शाहको पुन: राज्याभिषेकका लागि नारायणहिटी सफा गर्न गृह मन्त्रालयले निर्देशन दिएको दाबी ।
तथ्य: पुरानो र फरक सन्दर्भको भिडियोलाई जोडेर गलत दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
राजसंस्था र पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा ज्ञानेन्द्र शाहको पुन: राज्याभिषेक हुन लागेको र नारायणहिटी सफा गर्न गृह मन्त्रालयले निर्देशन दिएको दाबी गरिएको छ ।
Lifedamaged7ओशो नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह देखिने दृश्य जोडिएको छ । उक्त दृश्यमा शाह नाचिरहेका छन् । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेवको पुन: राज्याभिषेकका लागि तत्काल नारायणहिटी सफा गर्न गृह मन्त्रालयको निर्देशन’ ।
एक साताअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई १६ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ६ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्री करिब ५ सय पटक सेयर भएको देखिन्छ ।

के ज्ञानेन्द्र शाहको पुन: राज्याभिषेकका लागि नारायणहिटी सफा गर्न गृह मन्त्रालयले निर्देशन दिएको दाबी सत्य हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
राजतन्त्र पक्षधर केही समूहहरुले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । केही दिनअघि त केही मानिसले दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकमा प्रदर्शन गरेका हुन् । यस्तै छिटपुट राजावादी प्रदर्शनहरु नेपालमा वर्षौँदेखि भइरहेका छन् । यही सन्दर्भमा ज्ञानेन्द्र शाहको पुन: राज्याभिषेकका लागि नारायणहिटी सफा गर्न गृह मन्त्रालयले निर्देशन दिएको दाबी सामाजिक संजालमा फैलाइएको छ ।
जाँचका क्रममा हामीले गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई सम्पर्क फोन गर्यौँ । प्रवक्ता तिवारीले सामाजिक संजालमा फैलाइएको दाबी सत्य नभएको बताए । दाबीमा भनिएजस्तो गृह मन्त्रालयले कुनै निर्देशन नदिएको प्रष्ट पारे ।
अर्कोतर्फ दाबीसँगै जोडिएको भिडियो पनि पुरानो र फरक सन्दर्भको रहेको पाइयो । जाँचका क्रममा नोभेम्बर २०१९ मा पोस्ट गरिएका भिडियोहरु फेला परे । पाँच वर्ष पुरानो भिडियो र दाबीसहित पोस्ट गरिएको भिडियोमा केही समानता देख्न सकिन्छ ।
nepalkhabar.com, nepallive.com लगायतका थुप्रै संचार माध्यममा प्रकाशित समाचार अनुसार मंसिर २०७६ मा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाचेका थिए । त्यो बेला ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पूर्वराजाकी पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएको थियो ।
फेला परेका तथ्यहरुले के प्रष्ट पारेका छन् भने पुन: राज्याभिषेकका लागि गृह मन्त्रालयले नारायणहिटी सफा गर्न निर्देशन दिएको छैन । अर्कोतर्फ दाबीसँगै पोस्ट गरिएको भिडियो अहिलेको होइन ।
निष्कर्ष
ज्ञानेन्द्र शाहको पुन: राज्याभिषेक हुन लागेको र नारायणहिटी सफा गर्न गृह मन्त्रालयले निर्देशन दिएको दाबी पूर्णत: गलत छ । पुरानो र फरक सन्दर्भको भिडियोलाई जोडेर गलत दाबी सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी, moha.gov.np
भिडियो, Shreizan Shrestha (FOTOZ.BY.SHREIZAN)
समाचार, nepalkhabar.com
समाचार, nepallive.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।