Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: बालेन सरकारले नेपालमा टिकटक बन्द गरेको दाबी, अडियो !
तथ्य: दाबीसहितको भिडियोमा प्रयोग गरिएको अडियो पुरानो समाचार अंश हो, जसलाई सन्दर्भ लुकाएर वर्तमान सन्दर्भसँग जोडियो ।
टिकटक प्रतिबन्ध सम्बन्धी दाबीहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता समाचार शैलीका भिडियोमा बालेन सरकारले ‘नेपालमा टिकटक बन्द’ गरेको दाबी गरिएको छ ।
Find_the_place1 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा पोस्टर र अडियो जोडिएको छ । उक्त पोस्टरमा लेखिएको छ- ‘नेपाल सरकारको निर्णय, अब टिकटक बैन !’

१२ अप्रिल २०२६ मा पोस्ट गरिएको सामग्रीलाई ९७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ६८ हजारभन्दा बढी पटक सेयर भइसकेको दाबीसहितको भिडियोलाई पोस्ट भएको पाँच दिनभित्र करिब ३० लाखले हेरिसकेका छन् ।
त्यस्तैगरी nepal_samachar नामक टिकटक आइडीमा पनि दाबीसहितको अडियो जोडिएको छ । उक्त अडियोमा भनिएको छ– ‘अबको एक घण्टापछि नेपालमा बन्द हुँदैछ टिकटक, टिकटक आजैदेखि बन्द हुने भएको छ, प्राविधिक काम गर्न एक डेढ घण्टा लाग्ने र त्यसपछि बन्द ।’

साथै थमनेलमा जोडिएको पोस्टरमा लेखिएको छ- टिकटक सधैंका लागि बन्द? अहिले भर्खरैको ठूलो निर्णय, टिकटक सधैंका लागि बन्द? सरकारको नयाँ चेतावनी, अब के होला?
१३ अप्रिल २०२६ मा पोस्ट गरिएको भिडियोमा २२ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । ५ हजारभन्दा बढी पटक सेयर भइसकेको भिडियोलाई ६ लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।
त्यस्तैगरी Kripa22ks नामक टिकटक आइडीमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङको तस्बिर जोडिएको छ । ‘अबको एक घण्टापछि नेपालमा बन्द हुँदैछ टिकटक’ भनिएको अडियोसमेत यस भिडियोमा सुन्न सकिन्छ ।

के प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सामाजिक संजाल टिकटक बन्द गर्ने वा प्रतिबन्ध लगाउने निर्णय गरेको हो त? दाबीसहितको अडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा सबैभन्दा पहिले, हामीले दाबीसहितको जानकारीबारे ‘टिकटक बन्द’ ‘टिकटकमा प्रतिबन्ध’ लगायतका वाक्यांशहरु सर्च गर्यौँ । जाँचको नतिजास्वरुप bbc.com र ekantipur.com लगायतका संचार माध्यममा प्रकाशित पुराना समाचार फेला परे ।

२७ कार्तिक २०८० मा प्रकाशित समाचार अनुसार तत्कालीन सरकारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको जानकारी सत्य हो । यद्यपी, ६ भदौ २०८१ मा अर्को सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि नेपालमा टिकटक प्रतिबन्धसम्बन्धी कुनै थप प्रक्रिया अघि बढाइएको पुष्टि हुँदैन ।

थप जाँचका क्रममा हामीले दाबीसहितको भिडियोमा जोडिएको समाचार शैलीको अडियोबारे पनि छानविन गर्यौँ । छानबिनका क्रममा Chautari Media नामक फेसबुक पेजमा १३ नोभेम्बर २०२३ मा पोस्ट गरिएको पुरानो समाचार अडियो फेला पर्यो । उक्त पुरानो अडियोलाई वर्तमान बालेन सरकारसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
यही समाचार अडियोलाई दुरुपयोग गरेर यसअघि पनि विभिन्न समय भ्रामक जानकारी फैलाइएको देखिन्छ । प्रस्तुत अडियो सम्मिलित भ्रामक जानकारीबारे यसअघि Newschecker ले १४ अक्टोबर २०२५ र ३० नोभेम्बर २०२४ मा दुईवटा तथ्यजाँच रिपोर्ट प्रकाशित गरिसकेको छ । उक्त रिपोर्टमा पुरानो समाचार अडियोलाई तोडमोड गरेर फरक सन्दर्भमा पोस्ट गरिएको निष्कर्ष लिकालिएको छ ।

तथ्यजाँच रिपोर्ट, १४ अक्टोबर २०२५,
के जेनजी आन्दोलनपछि नेपालमा टिकटक बन्द हुन लागेको हो?

तथ्यजाँच रिपोर्ट, ३० नोभेम्बर २०२४,
नेपालमा टिकटक बन्द हुन लागेको भ्रामक दाबी सामाजिक संजालमा फैलियो
नेपालको वर्तमान बालेन सरकारले ‘नेपालमा टिकटक बन्द’ गरेको दाबीसहितका पोस्टहरु भ्रामक छन् । विगतमा नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगाएको थियो तर सो प्रतिबन्ध केही समयमै हटाइएको हो । साथै, दाबीसहित फैलाइएको भिडियोमा प्रयोग गरिएको अडियो पनि पुरानो समाचार सामग्रीलाई तोडमोड गरी वर्तमान सन्दर्भसँग जोडिएको देखिन्छ ।
समाचार, bbc.com
समाचार, ekantipur.com
तथ्यजाँच रिपोर्ट, nepal.newschecker.co
तथ्यजाँच रिपोर्ट, nepal.newschecker.co
भिडियो, Chautari Media
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
October 14, 2025

Aakash Chhetri
November 30, 2024

Aakash Chhetri
February 20, 2024