Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: ‘सुनसरीको घटनालाई लिएर आन्दोलनकारीले इलाका प्रहरी कार्यालयको गाडी राजमार्गमै जलाए’, ‘सुनसरीमा के हुन लागेको हो यस्तो’ भिडियो र अडियो ।
तथ्य: फरक समय, फरक स्थान र फरक सन्दर्भका पुराना दृश्य तथा अडियोलाई सुनसरी घटनासँग जोडेर भ्रामक सामग्री तयार पारिएको पुष्टि हुन्छ ।
सुनसरी जिल्लास्थित देवानगंजमा सुरू भएको समूहगत विवाद, पछिल्लो समय हिंसात्मक तनावमा परिणत भएको छ । १० साउन २०८३ राति भएको झडपमा सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये २४ वर्षीय ओमप्रकाश मेहतासहित दुई जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गइसकेको छ ।
देवानगंजको कप्तानगंजमा मोहरमका बेला राखिएको झण्डा हटाउने विषयमा केही समयदेखि विवाद चलिरहेको थियो । साउन १० गते राति बोलबम यात्राका क्रममा बजाइएको डिजे र झण्डाको विषयलाई लिएर दुई पक्षबीच झडप सुरु भएको थियो । झडपलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाएको थियो, सोही झडप हिंसात्मक तनावमा परिणत भएको छ ।
सुनसरीमा हिंसात्मक झडप भइरहेकै सन्दर्भमा भ्रमपूर्ण सामग्रीहरु सामाजिक संजालमा फैलाइएको पाइयो । जसमा असम्बन्धित र पुराना सन्दर्भका सनसनीपूर्ण भिडियोहरु रहेका छन् ।
Rajesh_chhetri345 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सडक प्रदर्शनको दृश्य जोडिएको छ । सडकमा धुवाँ उडिरहेको र नारावाजी भइरहेको भिडियोको थमनेलमा ‘सुनसरीमा के हुन लागेको हो यस्तो’ लेखिएको छ ।

प्रस्तुत भिडियोमा एउटा अडियो पनि जोडिएको छ, जसमा मानिसहरुले आक्रमक नारा लगाइरहेका छन् ।
त्यस्तै सुनसरी घटनाकै सन्दर्भमा प्रहरीको गाडीमा आगलागी भएको दृश्यसमेत पोस्ट गरिएको छ ।
News collection Nepal नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा नेपाल प्रहरीको गाडीमा आगो सल्किएको देख्न सकिन्छ । २९ जुलाई २०२६ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ- ‘सुनसरीको घटनालाई लिएर आन्दोलनकारीले इलाका प्रहरी कार्यालयको गाडी राजमार्गमै जलाए ।’
त्यस्तै सोही भिडियो Everestmission नामक फेसबुक पेजमा पनि पोस्ट गरिएको पाइयो । केही घण्टाअघि (२९ जुलाई २०२६) मात्रै पोस्ट गरिएको भिडियोको क्याप्सनमा ‘प्रहरी कार्यालयकाे गाडी जलाइयाे’ लेखिएको छ ।

के सामाजिक संजालमा फैलिरहेका दृश्यहरु सुनसरीको हिंसात्मक घटनासँग सम्बन्धित छन् त? दाबी र भिडियोहरुको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सबैभन्दा पहिले ‘सुनसरीमा के हुन लागेको हो यस्तो’ लेखिएको दृश्यको जाँच गर्यौँ, जसमा मानिसहरुले सडकमा प्रदर्शन गरिएको दृश्य देख्न सकिन्छ । सडकमा धुवाँ उडिरहेको र नारावाजी भइरहेको छ ।
जाँचका क्रममा प्रस्तुत भिडियोमा देखिएको दृश्यका प्रत्येक फ्रेमहरु नियाल्यौँ । यी फ्रेमहरु काठमाडौँ उपत्यकाका सडकसँग मिल्दोजुल्दो देखिएका छन् । थप जाँचका क्रममा हामीले गुगल म्यापको स्ट्रिट भ्युबाट काठमाडौँका सडकहरू नियाल्यौँ ।
सडकहरुको दृश्य नियाल्ने क्रममा काठमाडौँको मदन भण्डारी रोडस्थित मीनभवन क्षेत्रमा हाम्रो नजर अडियो । जनवरी २०२४ मा अपडेट गरिएको Google Map Street View मा देखिएको दृश्य र दाबीसहितको भिडियोमा देखिने दृश्यबीच समानता छ ।

भिडियोमा देखिने घरहरुको आकृतिले के पुष्टि गर्छ भने काठमाडौँको दृश्यलाई पछिल्लो समय सुनसरी घटनासँग जोडेर पोस्ट गरिएको छ ।
अर्कोतर्फ प्रस्तुत भिडियोमा जोडिएको अडियो नेपालको कुनैपनि घटनासँग सम्बन्धित देखिएन । जाँचका क्रममा यो भिडियो बंगलादेशमा भएको ‘कोटा आन्दोलन २०२४’ सँग सम्बन्धित रहेको पाइयो ।
२०२४ मा बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किरहेका बेला aktaruzzaman_sagor_नामक टिकटक आइडीमा एउटा भिडियो पोस्ट गरिएको थियो । जसमा प्रदर्शनकारी युवा विद्यार्थीहरुले बंगाली भाषामा ‘हाम्रा नसाहरूमा आगो बग्छ- यो जल्छ, यो जल्छ !’ (লেগেছে লেগেছে, রক্তে আগুন লেগেছে) नारा लगाएको सुनिन्छ ।

प्रदर्शनरत बंगलादेशी विद्यार्थीको सोही अडियोलाई नेपालको सुनसरी घटनासँग जोडेको देखिन्छ । प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने फरक सन्दर्भ र फरक स्थानको पुरानो भिडियोलाई बंगलादेशसँग सम्बन्धित अडियो जोडेर भ्रामक कन्टेन्ट उत्पादन गरिएको पाइयो ।
त्यस्तै दाबीसहितको अर्को भिडियोमा नेपाल प्रहरीको गाडीमा आगलागी भएको दृश्य जोडिएको छ । जाँचका क्रममा उक्त दृश्यलाई हामीले गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप nagariknews.nagariknetwork.com र annapurnapost.com लगायतका संचार माध्यममा प्रकाशित पुराना समाचारहरु फेला परे ।

२४ भदौ २०८२ मा प्रकाशित समाचार अनुसार जेनजी आन्दोलनका क्रममा रौतहटको चन्द्रनिगाहपुरमा प्रदर्शनकारीले प्रहरीको भ्यानमा आगजनी गरेका थिए । सोही पुरानो सन्दर्भको भिडियोलाई सुनसरी घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
सोही भिडियो Birgunj city नामक युट्युब च्यानलमा पनि पोस्ट गरिएको देखिन्छ । ९ सेप्टेम्बर २०२५ मा पोस्ट गरिएको भिडियोको शिर्षकमा लेखिएको छ- ‘चन्द्रनिगाहपुरमा इलाका प्रहरी कार्यालयको गाडीमा प्रदर्शनकारीद्वारा आगजनी’
सेप्टेम्बर २०२५ मा काठमाडौँसहित देशका विभिन्न स्थानमा जेनजी प्रदर्शन भएको थियो । यही सन्दर्भका भिडियोहरुलाई जुलाई २०२६ बाट सुरु भएको सुनसरी घटनासँग जोडेर भ्रामक कन्टेन्ट उत्पादन गरिएको देखियो ।
सुनसरी घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएका भिडियोहरू भ्रामक छन् । जाँचका क्रममा एउटा भिडियो काठमाडौँको मीनभवन क्षेत्रको रहेको पुष्टि भयो भने त्यसमा जोडिएको अडियो नेपालसँग नभई सन् २०२४ को बंगलादेशको ‘कोटा आन्दोलन’सँग सम्बन्धित रहेको पाइयो। त्यस्तै अर्को भिडियोमा देखाइएको प्रहरीको गाडीमा आगजनी भएको दृश्य पनि सुनसरी घटनाको होइन । २४ भदौ २०८२ मा जेनजी आन्दोलनका क्रममा रौतहटको चन्द्रनिगाहपुरमा भएको घटनाको पुरानो भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
काठमाडौँ मीनभवन क्षेत्र, maps.app.goo.gl
तस्बिर, nagariknews.nagariknetwork.com
भिडियो, Birgunj city
तस्बिर, annapurnapost.com
समाचार, kathmandupost.com
समाचार, onlinekhabar.com
समाचार, setopati.com
समाचार, thehimalayantimes.com
टिकटक अडियो, aktaruzzaman_sagor_
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
July 13, 2026

Aakash Chhetri
November 15, 2024

Aakash Chhetri
September 12, 2024