Fact Check
भ्रामक सामग्री : लाओस, भारत र हेलम्बुको बाढीले कसरी गर्यो रुपन्देहीमा धनजनको क्षति ?

सामाजिक संजालमा प्राकृतिक प्रकोपसँग सम्बन्धित अर्को दाबीसहितको सामग्री भेटिएको छ । उक्त सामग्रीमा भयानक बाढी आएको र मानव बसोबास क्षेत्रले व्यहोर्नुपरेको क्षतिका दृश्यहरू देखाइएको छ । दाबीसहितको सामग्रीमा देखिएको दृश्य रुपन्देशी जिल्लाको दाबीसमेत गरिएको छ ।
AngadPrasadSahani नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त दाबीसहितको सामग्री १० सेकेन्ड लामो छ । उक्त भिडियो सामग्रीको थमनेलमार्फत् दाबी पेस गरिएको छ । थमनेलमा उक्त दृश्य यही असार १५ गते घटेको घटना रहेको र उक्त घटना रुपन्देही जिल्लास्थित मर्चवारमा घटेको दाबी गरिएको छ ।
थमनेलमा लेखिएको छ- ‘रुपन्देहीको मर्चवारमा आएको बाढीले धेरै धनजनको हानी पर्याएको छ । मिति २०७९/०३/१५ गते । हे भगवान बचाउ मर्चवारलाई ।’
त्यस्तै मनसुनी विपत्तिसँग सम्बन्धित अर्को भिडियो पनि न्युजचेकरले फेला परेको छ । afjalansari2909 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा ठूलो बाढीको दृश्य देखिन्छ । बाढीले नदी छेउछाउको मानव बसोबास क्षेत्रलाई ठूलो क्षति पुर्याएको दाबीसहितको सामग्रीमा देखिन्छ । उक्त भिडियो सामग्रीको थमनेलमा लेखिएको छ- ‘सप्तकोशी ।’

प्रस्तुत भिडियो सामग्रीमा एउटा अडियोसमेत जोडिएको छ । उक्त अडियोमा सप्तकोसीका सबै ढोका नखोलिँदा सप्तकोसी आसपासका जिल्लामा बसोबास गर्ने मानिसहरूको ज्यान जोखिममा रहेको दाबी गरिएको छ । के दाबीसहितको सामग्रीमा देखिएको दृश्य सप्तकोशी आसपासको हो ?
प्रस्तुत दुबै दाबीसहितका सामग्रीको फैलावट अचाक्ली छैन । तर, आगामी दिनमा वास्तविकता थाहै नपाएर सामाजिक संजाल प्रयोगकर्ताले यी दृश्यहरूलाई जथाभावी प्रयोग गर्ने निश्चित छ । त्यसैले यी दृश्यको वास्तविकता पत्ता लगाउने जमर्को न्युजचेकरले गरेको छ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितका सामग्रीमा मुख्यत: अन्जान भिडियोका अंश राखिएको छ र त्यसमा कुन ठाउँ र कहिलेको घटना हो भन्ने प्रश्नको उत्तर दाबीका रुपमा प्रस्तुत गरिएको छ । त्यसैले हामीले यस जाँचलाई प्रस्तुत दृश्यको वास्तविकता पत्ता लगाउने काममै केन्द्रीत गरेका छौँ ।
पहिलो सामग्रीलाई नजिकबाट नियाल्दा अलग-अलगत तीनवटा दृश्य राखिएको देखिन्छ । यही आधारमा हामीले ती तिनवटै दृश्यको स्क्रीनसट लियौँ । ती स्क्रिनसट मध्येको एउटा एउटा दृश्यलाई रिवर्स इमेज सर्च गर्दा देखिएको पहिलो नतिजामा हाम्रो नजर गयो । जसमा एक फेसबुक पेजमा एक वर्षअघि पोस्ट गरिएको भिडियो थियो ।
NTV NEPAL नामक उक्त फेसबुक पेजमा १९ जुन २०२१ मा ‘Flode in Sindhupalchok Nepal destroyed many home 2021’ शीर्षकको भिडियो पोस्ट गरिएको देखियो । यो भिडियो हाम्रा लागि किन विशेष रह्यो भने हामीले माथिको दाबीसहितको सामग्रीमा उल्लेख गरेका सबैखाले दृश्यहरू यस भिडियोमा पनि देखिएका छन् ।यहाँ देखाइएका सबै दृश्य सिन्धुपाल्चोकको घटनामा रहेको समेत उक्त सामग्रीमा दाबी गरिएको छ ।
https://www.facebook.com/ntvnepal1/videos/523903301981015
तर, यहाँ प्रस्तुत गरिएको दाबी भने चित्त बुझ्दो छैन । किनकि यस फेसबुक पेज र भिडियोमा नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजन (एनटीभी)को लोगो आफ्नै तरिकाले प्रयोग गरिए पनि यो नेपाल टेलिभिजनकै रिपोर्ट हो भन्ने विषयमा हामी विस्वस्त हुन सकेनौँ । त्यसैले हामी माथिकै दाबीमा केन्द्रीत रहेर अन्य स्रोतको खोजीमा लाग्यौँ ।
दाबीसहितको सामग्रीमा जोडिएको अर्को दृश्यमा नदि किनाराको भवनलाई बाढीले आफूसँगै बगाएको देखिन्छ । उक्त दृश्यलाई स्क्रिनसट मध्येको एउटा एउटा दृश्यलाई रिवर्स इमेज सर्च गर्दा कयौँ स्रोतहरू भेटिए, जसमध्येको एउटा स्रो हो- IIBharatII नामक युट्युब च्यानल । उक्त च्यानलले दिएको विवरण अनुसार यो दृश्य नेपालको नभई भारतस्थित उत्तराखण्डको हो । २० जुन २०१३ मा पोस्ट गरिएको उक्त भिडियोमा २०१३ मा उत्तराखण्डस्थित गंगा ओभरफ्लो ऋषिकेशमा आएको ठूलो बाढीका कारण यस्तो दृश्य देखिएको थियो ।
प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने सामाजिक पोस्ट गरिएजस्तो यो घटना नेपालको होइन र यो घटना अहिलेको पनि होइन् । पूरानो भिडियोको अंशलाई भ्रामक रुपमा नेपालमा फैलाइएको पाइयो ।
त्यस्तै दाबीसहितकै सामग्रीमा बाढीको अर्को दृश्य पनि देखिएको छ, एउटा अज्ञात नदिमा ठूलो बाढी आएको छ र उक्त बाढीले घरका अंशहरू नै बगाइरहेको भिडियोमा देखिन्छ । हामीले उक्त दृश्यलाई रिवर्स इमेज सर्च गर्दा गर्यौँ । जसबाट के पत्ता लाग्यो भने सो दृश्य पनि नेपालको नभएर लाओस देशको हो ।
Daniel García-Castellanos नामक युट्युब च्यानलमा १२ सेप्टेम्बर २०१७ मा पोस्ट गरिएको मूल भिडियोमा लाओसमा उक्त बाढी आएको बताएइएको छ ।
तर, उल्लेखित स्रोतबाट मात्रै विश्वस्त नभएपछि हामीले अन्य स्रोतको पनि खोजी गर्यौँ । उक्त युट्युब च्यानलको विवरण अनुसार हामीले अन्य स्रोतको खोजी गर्दा उक्त घटनाबारे रेडियो फ्री एशियाले तयार पारेको एउटा समाचार भेट्टायौँ । २० सेप्टेम्बर २०१७ मा प्रकाशित उक्त समाचार अनुसार सेप्टेम्बर ११ मा उत्तरपूर्वी लाओसको एउटा प्राप्तको फाक्से जिल्लामा नाम आओ नदीमा लगाइएको बाँधको जलाशय फुटेपछि उक्त दृश्य खिचिएको थियो ।
दुईवटा दृश्यको वास्तविकता पत्ता लागेपछि हामी पुन: सुरुमै देखिएको दृश्यमा आइपुग्यौँ । उक्त भिडियोमा भयानक बाढी आएको र नदि किनारका घरहरू डुबाएको देखिन्छ । उक्त दृश्यलाई स्क्रीनसट गरेर कयौँपटक खोजी गर्दा Purnika Shah नामक युट्युब च्यानलमा ५ अगस्ट २०२१ मा पोस्ट गरिएको भिडियो भेटियो, जसमा दाबीसहितको सामग्रीमा प्रयोग गरिएका दृश्यहरू देखिएका छन् । यी दृश्यहरू सिन्धुपाल्चोकस्थित हेलम्बुको रहेकोसमेत युट्युब च्यानलमा बताइएको छ ।
उल्लेखित युट्युब च्यानलको भिडियोबाट हामी विस्वस्त हुन नसकेपछि हामीले अर्को स्रोत खोज्न थाल्यौँ । यही क्रममा ‘बाढी’ ‘हेलम्बु’ ‘सिन्धुपाल्चोक’ लगायतका शब्दहरूलाई मिश्रितरुपमा प्रयोग गरेर अन्य भिडियोहरू खोज्दा एउटा अर्को भिडियो भेटियो । Harek News TV नामक युट्युब च्यानलमा बाढीपछिको हेलम्बुको दृश्य देखाइएको छ, बाढीपछि र बाढी आइरहेका बेला देखिएका स्थिर दृश्यलाई एकअर्कासँग मिलान गार्दा उक्त दृश्य हेलाम्बुकै हो भन्नेमा हामी विश्वस्त भयो ।

यो तथ्यबाट पनि के पुष्टि भयो भने दाबीसहितको सामग्रीमा देखाइएजस्तो यो दृश्य रुपन्देशीस्थित मर्चवारको होइन । यो दृश्य एक वर्षअघि सिन्धुपाल्चोकस्थित हेलम्बुमा बाढी आउँदा खिचिएको दृश्य हो । सिन्धुपाल्चोकको पुरानो दृश्यलाई रुपन्देही भन्नुले यस सामग्रीलाई भ्रामक बनाएको छ ।
अन्तिमा दाबीसहितको दोस्रो भिडियो सामग्रीको विषयमा प्रवेश गरौँ । उक्त भिडियोमा सप्तकोशी आसपासका क्षेत्र भन्दै बाढी आएको दृश्य देखिएको छ । तर उक्त दृश्य सप्तकोशी आसपास नभई एक वर्षअघि सिन्धुपाल्चोकस्थित हेलम्बुमामा खिचिएको दृश्य हो । माथि उल्लेखित Purnika Shah नामक युट्युब च्यानलमा ५ अगस्ट २०२१ मा पोस्ट गरिएको भिडियो र दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियो दुरुस्तै छ । यस तथ्यबाट के प्रस्ट हुन्छ भने दोस्रो भिडियो पनि भ्रामक तरिकाले तयार पारिएको छ ।
निष्कर्ष :
फरक सन्दर्भ र फरक स्थानका दृश्यहरूलाई दाबीसहितका सामग्रीमा भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । दाबीसहितका सामग्रीमा देखाइएका दृश्य न रुपन्देहीस्थित मर्चवारका हुन्, न सप्तकोशी वरिपरिका हुन् । दुबै सामग्रीमा प्रयोग गरिएका दृश्यहरू कुनै विदेशका हुन् भने कुनै सिन्धुपाल्चोकस्थित हेलम्बुका हुन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]