Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: दुर्गा प्रसाईं नेतृत्वको सडक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित भए ।
तथ्य: पूर्वराजा ज्ञानेन्द्रसँग सम्बन्धित पूराना र फरक सन्दर्भका दृश्यहरुलाई दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनसँग जोडिएको पाइयो ।
मंसिर (२०८०) ७ गते राजधानीमा दुई किसिमका सडक प्रदर्शन भए । जसमध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन बल्खुमा र नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको प्रदर्शन तीनकुनेमा आयोजना गरिएको थियो । दुर्गा प्रसाईंले नेतृत्व गरेका प्रदर्शनकारीहरु सभा गर्न तोकिएको पूर्वनिर्धारित स्थान बल्खु सडकबाट कुलेश्वर–कालीमाटी क्षेत्र प्रवेश गर्न खोजेपछि भीडलाई रोक्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा, लाठी र रबरका गोली प्रहार गरेको थियो ।
भीड बल्खु सडकबाट कुलेश्वर–कालीमाटीतर्फ जान खोजेपछि सुरक्षार्थ तैनाथ प्रहरीले १ सय ५७ सेल अश्रुग्यास, ५ राउन्ड रबरका गोली, वाटर क्याननका दुई वटा गाडीबाट पानीका फोहरा प्रहार गरी भीडलाई रोकेको थियो । मंसिर ७ मा आयोजित यही प्रदर्शनको सन्दर्भमा केही दाबीसहितका सामग्री सामाजिक संजालमा पाेस्ट गरिएको छ । यी पोस्टहरुमा पूर्वराजा ज्ञानेन्द्र शाह दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शनमा सहभागि भएको दाबी गरिएको ।
PRASANT OFFCIAL नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाहले भाषण गरिरहेको दृश्य जोडिएको छ । साथै दुर्गा प्रसाईंको कार्यक्रमलाई पूर्वराजा शाहले सम्बोधन गरेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- राजा आए सडकमा, दुर्गा प्रसाईंको कार्यक्रमलाई सम्बोधन, कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो, श्री५ ज्ञानेन्द्र ।’
एक हप्ताअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा १७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आइसकेको उक्त भिडियोलाई दुई सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकले के प्रष्ट पार्छ भने प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
त्यस्तै टिकटकमा सोही सन्दर्भको अर्को भिडियो पनि फेला परेको छ । कपिल खड्का सुर्खेत नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूलो जनमानसले स्वागत गरिरएकाे दृश्य जोडिएको छ । साथै यस भिडियोमा पनि दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पुगेको दाबी गरिएको छ ।
प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा पुग्दा, आज दुर्गा प्रसाईंले काठमाडौँमा दुई लाखभन्दा धेरै मान्छे उतारेका छन् ।’
चार दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा साढे ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब एक सय पटक सेयर भइसकेको दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिनेक्रम जारी छ । के पूर्वराजा दुर्गा प्रसाईं नेतृत्वको सडक प्रदर्शनमा सहभागि भएका थिए ? भिडियोको वास्तविकता पत्ता लगाउने हामीले तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित पहिलो भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाह जनसभालाई सम्बोधन गरिरहेको अवस्थामा देखिएका छन् । सबैभन्दा पहिले हामीले ‘पूर्वराजा सम्बोधन’ ‘पूर्वराजा ज्ञानेन्द्र शाह’ लगायतका वाक्यांशलाई युट्युब र गुगलमा सर्च गर्यौँ । जाँचका क्रममा फेला परेका नतिजा र पूर्वराजाले लगाएको पोषाकलाई पनि नियाल्यौँ ।
सर्चको नतिजास्वरुप Aajako Press नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । ६ महिनाअघि अर्थात् २७ मे २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षक राखिएको छ- ‘सुर्खेतबाट राजाको कडा आक्रोश, भनेः अहिले कुरा धेरै भए ।’
जाँचका क्रममा फेला परेको भिडियो र दाबीसहितको भिडियोमा समानता देखिएको छ । यसबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा फैलाइएको ज्ञानेन्द्र शाहको उक्त सम्बोधन दुर्गा प्रसाईं नेतृत्वको सडक आन्दोलनको होइन । पाँच महिनाअघि पूर्वराजाले सुर्खेत जिल्लामा पुगेर जनसभालाई सम्बोधन गरेका थिए । सोही सन्दर्भको भिडियोलाई मंसिर ७ को सडक प्रदर्शनसँग जोडिएको पाइयो ।
अर्कोतर्फ दोस्रो भिडियोमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूलो जनमानसले स्वागत गरिरएकाे दृश्य जोडिएको छ । साथै यस भिडियोमा पनि दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह पुगेको दाबी गरिएको छ । जाँचका क्रममा यो भिडियो पनि दुर्गा प्रसाई नेतृत्वको सडक आन्दोलनको नरहेको तथ्य पत्ता लागेको छ ।
दुई महिनाअघि पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका थिए । यही क्रममा उनलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । यही सन्दर्भलाई सम्झिँदै हामीले युट्युबमा ‘पूर्वराजा ज्ञानेन्द्र शाह’ ‘भक्तपुर स्वागत’ लगायतका वाक्यांश सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Achut Puri नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । दुई महिनाअघि पूर्वराजा भक्तपुर जाँदा यो भिडियो खिचिएको थियो । भिडियोको शिर्षक राखिएको छ- ‘Former King Gyanendra Shah at bhaktapur Bhairab nath, भक्तपुरमा पूर्व राजा ज्ञानेन्द्रको भब्य स्वागत ।’
जाँचका क्रममा फेला परेको भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा धेरै समानता देख्न सकिन्छ । पूर्वराजा भक्तपुर दरबार क्षेत्र पुगेको दृश्यलाई मंसिर ७ गते आयोजित दुर्गा प्रसाईं नेतृत्वको सडक प्रदर्शनसँग जोडिएको पाइयो ।
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने मंसिर ७ गते दुर्गा प्रसाईंले नेतृत्व गरेको सडक प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागि भएका छैनन् र उनले कुनै सम्बोधन पनि गरेका छैनन् । इन्टरनेटमा पोस्ट गरिएका पूराना र फरक सन्दर्भका भिडियोहरुलाई जोडेर भ्रामक दाबी गरिएको पाइयो ।
पूर्वराजा ज्ञानेन्द्र शाह दुर्गा प्रसाईं नेतृत्वको सडक प्रदर्शनमा सहभागि भएका छैनन् र उनले त्यहाँ कुनै सम्बोधन पनि गरेका छैनन् । पूर्वराजाले सुर्खेतमा गरेको सम्बोधन र भक्तपुरमा खिचिएका पूराना दृश्यहरुलाई तोडमोड गरी भ्रामक दाबी गरिएको पाइयो ।
समाचार, epaper.ekantipur
भिडियो, Aajako Press
भिडियो, Achut Puri
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
April 16, 2025
Aakash Chhetri
March 17, 2025
Aakash Chhetri
October 10, 2024