भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा जोडिएको भिडियोमा नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा बोलिरहेको देखिन्छ ।
Milan Rai नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा गगन थापाले कांग्रेस गरिबको पार्टी होइन भन्ने अभिव्यक्ति दिएको सुनिन्छ । भिडियोमा गगन थापाले भनेका छन्- ‘कांग्रेस गरिबको पार्टी होइन, कांग्रेस सुबुम्बासीको पार्टी होइन, कांग्रेस हुनेखानेको पार्टी हो, कांग्रेस गाडीघोडा हुनेहरुकाे पार्टी हो, जग्गा जमिन हुनेहरुको पार्टी हो ।’
प्रस्तुत भिडियोसहितको सामग्रीको प्याप्सनमा लेखिएको छ- ‘कांग्रेसको असली चरित्र बुझौँ ।’ सोही अभिव्यक्तिलाई आकार बनाएर सामग्रीको थमनेलमा ‘No Vote Again’ लेखिएको छ ।

पोस्ट गरिएको २ दिनमै दाबीसहितको प्रस्तुत सामग्रीमा करिब ६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्री सेयर गर्ने प्रयोगकर्ताको संख्या साढे ८ सयभन्दा बढी रहेको छ । यसबाट के प्रस्ट हुन्छ भने दाबीसहितको सामग्रीको फैलावट व्यापक छ ।
निर्वाचनको मुखमा गरिएको उक्त दाबीले मतदाताको मत प्रभावित पनि पार्छसक्छ त्यसैले हामीले प्रस्तुत सामग्रीमा तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको सामग्रीमा गगन थापा बोलिरहेको अवस्थामा देखिएका छन् र उनले दिएको अभिव्यक्तिलाई नै आधार बनाएर यहाँ दाबी पेस गरिएको छ । त्यही कारण हामीले सबैभन्दा पहिले गगन थापाले बोलेको सोही भिडियोको मूल अंश पत्ता लगाउने काममा जुट्यौँ ।
मूल भिडियो पत्ता लगाउन हामीले पुन: एकपटक भिडियो नियाल्यौँ र उक्त भिडियोकव एक कुनामा मकालुखबर नामक संचार माध्यमको लोगो देखियो । यही आधारमा हामीले Makalu Khabar को युट्युब च्यानलमा गएर गगन थापाको मूल भिडियो खोज्यौँ । परिणामस्वरुप १२ दिनअघि अर्थात् १६ अक्टोबरमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । काठमाडौँमा आयोजित एक कार्यक्रममा गरेको उक्त भाषणको अंशको शीर्षक छ- ‘कांग्रेस गरिब, सुकुम्बासीको पार्टी होइन भन्यो भनेर, मेरो बारेमा गलत हल्ला फैल्याइयो : गगन थापा’
उक्त भिडियो क्लिपमा गगन थापाले भनेका छन्-
मैले पार्टीका थुप्रै कार्यक्रममा के भन्थेँ भने नेपाली कांग्रस पार्टी भनेको मैले कुनै दिन नेतृत्व गर्न पाएँ भने म नेपाली कांग्रेस पार्टीलाई गरिबको पार्टी, सुकुम्बासीको पार्टी भन्ने परिचय राख्दिनँ । कांग्रेस गरिबको पार्टी होइन, कांग्रेस सुबुम्बासीको पार्टी होइन, कांग्रेस हुनेखानेको पार्टी हो, कांग्रेस गाडीघोडा हुनेहरुकाे पार्टी हो, जग्गा जमिन हुनेहरुको पार्टी हो । त्यसकारण हुने खानेको पार्टीले के गर्छ भने जहिलेपनि मान्छेलाई हुनेखाने बनाउन खोज्छ । जग्गाजमिन भएको पार्टीले के गर्छ भने भूमिहीन सुकुम्बासीलाई जग्गाको पूर्जा दिन चहान्छ किनभने पूर्जा दियो भने त्यो जग्गावाल हुने, जग्गा भयोभने त्यो कांग्रेस हुन्छ भनेको हो । चुनावको बेला यहाँ आएको त पछाडीको पाठ उड्यो । कांग्रेस गरिबको पार्टी होइन, सुकुम्बासीको पार्टी होइन भन्ने मात्र देखाइरहेका रहेछन् साथीहरुले ।
मूल भिडियोमा के गगन थापाले आफ्नो भाषणलाई छाँटकाँट गरेर भ्रामक पारिएको दाबी गरेका छन् । सबैलाई हुनेखाने बनाएर कांग्रेसलाई हुनेखानेको पार्टी बनाउने आशयको अभिव्यक्ति आफूले दिएको तर त्यसलाई काटेर भ्रामक बनाइएको प्रष्टोक्ति गगन थापाको छ ।
प्रस्तुत तथ्यबाट के हुन्छ भने गगन थापाले आफूविरुद्ध फैलाइएको भिडियो दिँदै भाषण गरेको भिडियोलाई पनि भ्रामक तरिकाले फैलाइयो । उनले फरक आशयसहित बोलेको अभिव्यक्तिलाई छाँटकाँट गरेर फरक तरिकाले सामाजिक संजालमा फैलाउन खोजेको पाइयो ।
निष्कर्ष
गगन थापाले कांग्रेस गरिबहरुको पार्टी होइन भन्ने आशयले कुनै अभिव्यक्ति दिएका छैनन् । थापाका अनुसार सबै नेपालीलाई धनी बनाउने र कांग्रेसलाई हुनेखाने पार्टी बनाउने आशयसहितको अभिव्यक्तिलाई छाँटकाँट गरेर सामाजिक संजालमा फैलाइएको छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co