दाबी: ज्ञानेन्द्र शाही पक्राउ परेका छन् ।
तथ्य: सांसद ज्ञानेन्द्र शाही पक्राउ गरेका छैनन् । पूरानो र फरक सन्दर्भको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, दुई दिनअघि पोस्ट गरिएको उक्त सामग्रीमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही पक्राउ परेको दाबी गरिएको छ ।
SURESH_DHAMI_SANGAM नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा सांसद ज्ञानेन्द्र शाही र प्रहरीलाई देख्न सकिन्छ । सो दृश्यमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरिरहेको छ । प्रस्तुत भिडियोमा रहेको थमनेल र अडियोमार्फत् ज्ञानेन्द्र शाहीलाई पक्राउ गरिएको दाबी पेश गरिएको छ ।
भिडियोमा देखिएको थमनेलमा लेखिएको छ- ‘ओलीले गरे ज्ञानेन्द्रको भण्डाफाेर, ओलीले ज्ञानेद्रलाई यसरी फसाए, ज्ञानेन्द्र शाही पक्राउ, ओली मुर्दावाद भन्दै ज्ञानेन्द्र ।’
अर्कोतर्फ भिडियोमा जोडिएको अडियो पनि सोही दाबी दोहोर्याइएको छ- ‘केपी ओलीले ज्ञानेन्द्र साहिलाई गरे पक्राउ, ओली गरे भण्डाफोर ज्ञानेन्द्रलाई फसाए हामीले गर्जियौँ भने ३२ पुग्यौँ बहुमत पुग्छ र नेपाल कब्जा हुन्छ ।’
प्रस्तुत दाबीसहितको सामग्रीको फैलावट दिन प्रतिदिन व्यापक भइरहेको छ । पोस्ट भएको दुई दिनमै उक्त दाबीसहितको सामग्रीमा साढे ५३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त सामग्रीमा प्रतिक्रिया दिनेको संख्या करिब एक हजार रहेको छ । त्यस्तै दाबीसहितको सामग्रीलाई करिब पाँच सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । फैलावटको यस तथ्यांकलाई नियाल्ने हो भने आगामी दिनमा यसको फैलावट व्यापक हुने संकेत देखिन्छ ।

वर्तमान सन्दर्भमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही पक्राउ परेको दाबी अति नै महत्वपूर्ण र संवेदनशील देखिएको छ । सोही कारण हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
पछिल्लो समय नेपालका केही हाइप्रोफाइल नेपालहरू परिरहेका छन् । यही क्रममा बुधबार (२७ बैशाख) पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई पक्राउ गरेको हो ।
सोही आरोपमा तत्कालीन ऊर्जामन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । यही सन्दर्भमा सांसद ज्ञानेन्द्र शाही पक्राउ गरेको दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ ।
प्रस्तुत सामग्रीको जाँचका क्रममा हामीले भिडियोको वास्तविकता पत्ता लगाउने जमर्को गरेका छौँ । यसका लागि सबैभन्दा पहिले हामीले ‘ज्ञानेन्द्र शाही पक्राउ’ भन्ने वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Rajdhani News नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो ।
दुई वर्षअघि अर्थात् १२ मे २०२० मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘ज्ञानेन्द्र शाहि फेरी पक्राउ’ । भिडियोसँग दिइएको जानकारी अनुसार तत्काली भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाहीलाई काठमाडौँस्थित सेन्ट्रल पार्कबाट पक्राउ गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरूलाई प्रहरीले लकडाउन उलङ्घन गरेको आरोपमा पक्राउ गरेको जानकारी समेत उक्त युट्युब च्यानलमा दिइएको छ ।
नेपालमा प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन २०७९ मंसिर ४ गते अर्थात् २० नोभेम्बर २०२२ मा एकैपटक सम्पन्न भएको थियो । सांसद ज्ञानेन्द्र शाही पनि सोही निर्वाचनमा जुम्लाबाट निर्वाचित भएका थिए । तर, ज्ञानेन्द्र शाही पक्राउ परेको मूल भिडियोमा दुई वर्षअघि अर्थात् १२ मे २०२० मा पोस्ट गरिएको देखिन्छ ।
फेला परेको प्रस्तुत स्रोतबाट के प्रष्ट हुन्छ भने दुई वर्ष पूरानो भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको छ । पूरानो भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गरिनु र सामाजिक संजालमा फैलाइनुले भ्रामक सन्देश प्रवाह गरेको छ ।
निष्कर्ष
सामाजिक संजालमा दाबी गरे जस्तो सांसद ज्ञानेन्द्र शाही पक्राउ गरेका छैनन् । पूरानो र फरक सन्दर्भको भिडियोलाई वर्तमान सन्दर्भमा सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]