स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइरहँदा सामाजिक संजालमा एउटा दाबीसहितको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र अश्रुमाली नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा मानिसहरू रोइरहेको र चिच्याइरहेको दृश्य देखिन्छ । धरानमा हर्क साम्पाङ निर्वाचित भएपछि सडकमै उक्त दोधन प्रस्तुत गरिएको दाबी सामग्रीमा गरिएको छ । दाबी प्रस्तुत गर्दै भिडियोको थमनेलमा लेखिएको छ– ‘धरानमा हर्क साम्पाङले जितेपछि कांग्रेस-माओवादी राेडमै बसेर रुँदै गरेको अवस्था ।’
न्युजचेकरले यो सामग्री तयार गर्दैगर्दा उक्त दाबीसहितको सामग्री पोस्ट भएको ४ घण्टा मात्रै पुगेको देखिन्छ । यति छोटो अवधिमा उक्त दाबीसहितको सामग्रीको फैलावट द्रुत छ । पोस्ट भएको ४ घण्टामै उक्त सामग्रीमा १ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने यही अवधिमा करिब ६० टिकटक प्रयोगकर्ताले भिडियो सामग्रीलाई सेयर गरिसकेका छन् ।

इन्टरनेटमा राखिएका हरेक सामग्री दीर्घकालसम्मका लागि रेकर्ड हुने भएकाले हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गर्ने जमर्को गर्यौँ । हाम्रो तथ्यजाँचमा प्रस्तुत दाबी गलत र भ्रामक रहेको पाइयो ।
तथ्यजाँच/प्रमाणीकरण
स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकालाई तताउने उम्मेदवार हुन्, हर्क साम्पाङ । सत्ता साझेदार गठबन्दन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उम्मेदवारलाई पछि स्वतन्त्र उम्मेदवार साम्पाङ धरानको प्रमुखमा विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे । यही निर्वाचन परिणामलाई आधार बनाउँदै माथिको दाबी सामाजिक संजालमा प्रस्तुत गरिएको छ ।
धरान उपमहानगरपालिकामा हर्क साम्पाङ निर्वाचित भएपछि कांग्रेस-माओवादीका कार्यकर्ता सडकमै आएरको रोएको भन्ने दाबीमा दुईवटा आधार देखिन्छ । जसको पहिलो आधार हो, भिडियो । भिडियोमा केही मानिसहरू रोइरहेको देखिन्छ ।
त्यस्तै भिडियोमा राखिएको थमनेल दाबीको दोस्रो आधार हो । सामग्रीमा राखिएको दृश्यकै आधारमा थमनेलमा दाबी प्रस्तुत गरिएको देखिन्छ । यही कारण हामी सुरुमै दाबीसहितको सामग्रीमा राखिएको दृश्यको मूल स्रोत पत्ता लगाउने काम गर्यौँ ।
किवर्ड तथा वाक्यांक सर्च गर्ने क्रममा ‘सडकमै रोएको’, ‘रुँदै सडकमा’, ‘सडकमा रुँदै’ लगायतका किवर्डले टिकटकमा फैलाइएको दृश्यको मूल स्रोतसम्म पुर्यायो । Dhangiri Phadera नामक युट्युब च्यानलमा भेटिएको उक्त भिडियोको शीर्षक छ- ‘मिडिया काउन्सिल विधेयक फिर्ताकाे माग गर्दै बिराटनगरका पत्रकारहरु रुदै मिडिया’
त्यसैगरी अर्को युट्युब च्यानलमा सोही स्थान र अवस्थाको भिडियो पोस्ट गरिएको छ । OB Magazine नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक राखिएको छ- ‘पत्रकारले १० लाख ल्याउन नसक्ने भएपछि मोरंग सिडियो कार्यलय अगाडी चिच्याउदै रुन थाले ।’
प्रस्तुत दुबै भिडियो २०१९ मे १९ मा एकै दिन पोस्ट गरिएको देखिन्छ । यी दुबै भिडियो खिचिएको स्थान र समयसमेत एउटै हो । किनकि उक्त भिडियो ३ वर्षअघि एउटा विरोध कार्यक्रमका क्रममा खिचिएको हो । २०७६ जेठ ५ गते तत्कालीन सरकारले ल्याउन लागेको मिडिया काउसिन्ल विधेयकको विरोधमा विराटनगरका पत्रकाहरुले सडकमै रोएर विरोध प्रदर्शन गरेका थिए । नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा आयोजित उक्त विरोध कार्यक्रम अन्तर्गत पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि अगाडी रोएर विरोध जनाएका हुन् ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने सडकमा पत्रकारहरू रुनु र धरानमा हर्क साम्पाङ विजयीबीच कुनै सम्बन्ध छैन । ३ वर्षअघि पत्रकारले गरेको विरोध प्रदर्शनलाई स्थानीय तह निर्वाचन २०८९ को नतिजासँग जोड्नु भ्रामक छ ।
निष्कर्ष :
धरानमा हर्क साम्पाङ निर्वाचित भएपछि कांग्रेस-माओवादीका कार्यकर्ता सडकमै रोएको भनेर देखाइएको दृश्य फरक सन्दर्भको हो । त्यसैले सामाजिक संजालमा फैलिरहेको प्रस्तुत भिडियो सामग्री भ्रामक र गलत छ । निर्वाचनको मत परिणाम र पत्रकार रोएको छुट्टै प्रशंगको भिडियोलाई एकै ठाउँमा जोड्नुले भ्रामक सन्देश दिएको छ ।
नतिजा : असत्य\भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]