Tuesday, May 20, 2025

Fact Check

Fact Check: कोलकतामा भूकम्प गएको दाबी, भूकम्पकै कारण भवन ढलेको हो?

Written By Aakash Chhetri
Mar 28, 2023
banner_image

दाबी: भारतको कोलकता ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पकै कारण भवन ढलेको छ ।
तथ्य: दक्षिण भारतको केरलामा तीन वर्षअघि वातावरणीय नियमहरूको उल्लङ्घन गर्दै निर्माण गरिएका भवन ढालिएको दृश्यलाई भ्रामक तरिकाले भूकम्पसँग जोड्न खोजिएको छ ।

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियो सामाग्री फैलिरहेको छ, जसमा एउटा गगनचुम्बी भवन एकाएक गर्ल्यामगुर्लुम ढलेको देखिन्छ । छिमेकी मुलुक भारतमा ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पकै कारण भवन ढलेको सन्देश दिनेगरी उक्त सामग्रीमा पोस्ट गरिएको छ ।

Roysurendra नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा भवन देख्न सकिन्छ । पाँच सेकेन्डभित्र हेर्दाहेर्दै उक्त भवन ढलिरहेको देख्न सकिन्छ । उक्त भिडियोसहितको सामग्रीको थमनेलमा भारतको कोलकाता भूकम्प गएको दाबी गरिएको छ । थमनेलमा अंग्रेजी भाषामा लेखिएको छ- ‘आज इन्डियामा भूकम्प ४.७ कोलकता ।’  

एक दिनअघि अर्थात् आइतबार पोस्ट गरिएको सामग्रीमा सात हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही समयमा करिब ४ सयभन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको दाबीसहितको सामग्रीलाई साढे ३ हजार भन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसको देखिन्छ । 

प्रस्तुत भिडियोसहितको सामग्रीमा रहेको दाबी अन्त्यन्तै संवेदनशील रहेको छ । भारतमा ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पकै कारण भवन ढलेको सन्देश दिइएकाले हामीले प्रस्तुत भिडियोको वास्तविकता पत्ता लगाउन तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण 

जाँचका क्रममा हामीले भिडियोलाई पुन: एकपटक नियाल्यौँ । उक्त सामग्रीमा गगनचुम्बी भवन एकाएक गर्ल्यामगुर्लुम ढलेको दृश्यसँगै एकजना सुरक्षाकर्मीसमेत देखिएका छन्, ती प्रहरीले भारतीय प्रहरीको पोशाकमा देखिएका छन् । यस तथ्यबाट प्रस्तुत भिडियो भारतकै हो भन्ने विषयमा हामी प्रष्ट भयौँ ।

प्रारम्भिक अनुमानपछि हामीले भारतमा ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको भन्ने दाबीबारे जाँच सुरु गर्‍यौँ । यसका लागि सबैभन्दा पहिले भारत सरकारको अर्थ साइन्स मन्त्रालय अन्तर्गत संचालित ‘नेशनल सेन्टर फर सेस्मोलोजी’को वेससाइटमा रहेको विवरणलाई अध्ययन गर्‍यौँ । 

नेशनल सेन्टर फर सेस्मोलोजीको भूकम्प विवरण अनुसार २६ मार्चमा भारतको असामस्थित केन्द्रबिन्दू भएर २‍‍.७ म्याग्नेच्यूटको भूकम्प गएको थियो । तर, माथि उल्लेखित दाबीसहितको सामग्रीमा भनिएजस्तो कोलकता क्षेत्रमा भूकम्प गएको विवरण नेशनल सेन्टर फर सेस्मोलोजीको भूकम्प विवरणमा उल्लेख छैन । यसबाट के प्रष्ट हुन्छ भने २६ मार्च अर्थात् दाबीसहितको सामग्री पोस्ट गरिएको दिन कोलकता क्षेत्रमा ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको थिएन । 

भूकम्पका विषयमा जाँच सकिएपछि हामीले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोबारे जाँच थाल्यौँ । जसका लागि सबैभन्दा पहिले ‘Building Demolition India’ वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । जसको नतिजास्वरुप Voice of America युट्युब च्यानलमा तीन वर्षअघि अर्थात् ११ जनवरी २०२० मा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यौँ ।

दाबीसहितको भिडियोसँग उल्लेखित युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो पनि मिल्दोजुल्दो देखिन्छ । फरक कोणबाट खिचिएको दृश्यमा भएपनि पुल र भवनको आकार-प्रकारका आधारमा हामीले दुबै भिडियोलाई एकआपसमा दाँजेर हेर्‍यौँ । 

युट्युबमा दिइएको जानकारी अनुसार भारतको दक्षिणी केरला राज्यले दुईवटा लक्जरी अपार्टमेन्ट भवनहरूलाई वातावरणीय कानुनको उल्लंघन गरेको भन्दै भत्काएको हो । समुद्र, नदी, ताल र अन्य जलस्रोतबाट निश्चित दूरीमा निर्माण गर्न निषेध गर्ने कानुन उल्लङ्घन गरेको भन्दै ती भवन भत्काइएको जानकारी उक्त युट्युब च्यानलमा दिइएको छ ।

प्रस्तुत जानकारीका आधारमा हामीले थप किवर्ड तयार पारेर जाँच कार्य अगाडि बढायौँ । ‘Building Demolition in India Kerala’ वाक्यांशलाई युट्युबमा सर्च गर्दा थुप्रै परिणामहरू भेटिए । माथि उल्लेखित दाबीसहितको सामग्रीमा रहेको भिडियोकै कोणबाट खिचिएका केही भिडियो फेला परे । 

दाबीसहितको सामग्रीमा जोडिएको भिडियोकै कोणबाट खिचिएका केही दृश्य युट्युबमा फेला त परे तर फेला परेका कुनैपनि भिडियोको आधिकारिकता पुष्टि हुन सकेनन् । यही कारण हामीले गुगलमा थप किवर्ड सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप हामीले bbc प्रकाशित एउटा समाचार फेला पार्‍यौँ । 

११ जनवरी २०२० मा प्रकाशित उक्त समाचारमा दक्षिणी भारतमा वातावरणीय नियमहरूको उल्लङ्घन गरी निर्माण गरिएका दुई लक्जरी लेकसाइड अपार्टमेन्ट कम्प्लेक्स भत्काएको जानकारी दिन्छ । एउटै कोणबाट खिचिएको आधिकारिक स्रोत फेला नपरेपछि हामीले बीबीसीको समाचारमा उल्लेखित भिडियो र दाबीसहितको सामग्रीमा रहेको भिडियोमा देखिएका दृश्यलाई एक-आपसमा तुलना गरेका छौँ ।

प्राप्त विवरण अनुसार भारतको सर्वोच्च अदालतले कोच्चीको मराडु नगरपालिकामा रहेका अवैध संरचना भत्काउन आदेश दिएपछि नियन्त्रित इम्प्लोसन विधिबाट अग्ला अपार्टमेन्ट कम्प्लेक्स भत्काइएको थियो । दाबीसहितको सामग्रीमा देखाइएको भवनको नाम होली फेथ एच टु ओ अपार्टमेन्ट रहेको थियो । कुनै बेला उक्त रहेको ठाउँलाई हामीले गुगल अर्थमा देखाउने प्रयास गरेका छौँ । हेर्नुहोस्, भवन भत्काएपछि अहिले खाली रहेको स्थानको गुगल लोकेशन :

प्रस्तुत तथ्यहरू केलाउँदा के प्रष्ट हुन्छ भने माथि उल्लेखित दाबीसहितको सामग्रीलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । भूकम्प गएको विषयदेखि भवन भत्किएको दृश्यसम्मलाई भ्रामक तरिकाले प्रस्तुत गरी सामाजिक संजालमा फैलाइएको पाइयो ।

निष्कर्ष

भारतमा ४‍‍.७ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पकै कारण भवन ढलेको सन्देश दिनेगरी सामाजिक संजालमा पोस्ट गरिएको सामग्री भ्रामक छ । भिडियोमा देखिएको भवन ढलिरहेको दृश्य कोलकताको होइन, दक्षिण भारतस्थित केरलामा तीन वर्षअघि खिचिएको दृश्यलाई दाबीसहितको सामग्रीमा भ्रामक तरिकाले प्रस्तुत गरिएको पाइयो । वातावरणीय नियमहरूको उल्लङ्घन गरी निर्माण गरिएका कारण उक्त भवन ढालिएको थियो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

861

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage