Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

पछिल्लो समय भारतीय-गोर्खा सैनिकसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा फैलिरहेका छन् । ती सामग्रीमा भारतीय-गोर्खा सैनिकलाई नेपाल-भारत सीमा समस्यासँग जोडिएको छ । महेश यादव नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा ‘भारतले कालापानी फिर्ता नगरे गोर्खाली फौजले कडा आन्दोलन गर्ने चेतावनी’ दिएको दाबी गरिएको छ । उक्त भिडियोमा अडियो र थमनेलमार्फत् सो दाबी गरिएको देखिन्छ ।
भिडियोमा राखिएको अडियोमा भनिएको छ,‘भारतले कालापानी फिर्ता नगरे कडा आन्दोलन गर्ने भारतमा कार्यरत गोर्खा आर्मीको चेतावनी, आमालाई अन्यायमा परेर भारतका लागि लड्न नसक्ने चेतावनी ।’ त्यसैगरी गोर्खाली फौजले अभ्यास गरिएको दृश्यसहितको भिडियोको थमनेलमा लेखिएको छ,‘भारतले कालापानी फिर्ता नगरे कडा आन्दोलन गर्ने भारतमा कार्यरत गोर्खाली फौजको चेतावनी ।’
मंगलबार पोस्ट गरिएको उक्त भिडियो सामाजिक संजालभित्र द्रुत गतिमा फैलिरहेको छ । पोस्ट भएको २४ घण्टामा उक्त भिडियोमाथि साढे १९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही समयमा सो भिडियो सेयर गर्नेको संख्या साढे २ सयभन्दा बढी पुगिसकेको छ ।

भारतीय-गोर्खा सैनिकसँग सम्बन्धित अर्को दाबीसहितको भिडियो पनि टिकटकमा फैलिरहेको छ । जसमा भारतले १० हजार भारतीय-गोर्खा सैनिकलाई कालापानी पठाउन लागेको दाबी गरिएको छ । भिडियोमा जोडिएको दाबीसहितको अडियोमा भनिएको छ,‘भारतले १० हजार गोर्खाली सेना कालापानी पठाउँदै, भारतमा रहेका गोर्खाहरूले गरे डरलाग्दो खुलासा ।’
यो भिडियो पनि महेश यादव नामकै टिकटक आइडीमा पोस्ट गरिएको छ । पोस्ट भएको २४ घण्टा नबित्दै भिडियोमाथि ८ हजार २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई सेयर गर्नेको संख्या ५८ रहेको छ । भारतीय-गोर्खा सैनिकसँग सम्बन्धित यी भिडियोहरूमा सामाजिक संजाल प्रयोगकर्ताको चासो अत्याधिक रहेकाले हामीले दाबीहरूमाथि तथ्यजाँच गरेका छाैँ ।
पहिलो भिडियोमा गरिएको दाबी झट्ट सुन्दा नेपाल-भारत सीमा विवादमा भारतीय-गोर्खा सैनिकहरूले नेपालको पक्षमा विद्रोह गर्न लागेको जस्तो देखिन्छ । तर, भारतीय-गोर्खा सैनिकहरुले यो दाबी अनुसारको घोषणा कुनैपनि माध्यमबाट गरेको भेटिँदैन । भिडियोको थमनेलमा ‘भारतमा कार्यरत गोर्खाली फौजको चेतावनी’ भन्ने वाक्यांश प्रयोग गरिएको छ । तर, फौजले उक्त चेतावनी दिएको पुष्टि हुँदैन ।
भिडियोमा राखिएको अडियो समाचारको शैलीमा तयार पारिएकाले हामीले टिकटक भिडियोको मूल स्रोत खोज्यौँ । अडियो र दाबीलाई एक आपसमा राखेर युट्युबमा ‘किवर्ड सर्च’ गर्दा मूल स्रोत भेटियो । १७ जनवरी २०२२ मा ‘ग्रेटर नेपाल टीभी’ नामक युट्युब च्यानलले पोस्ट गरेको भिडियोको एउटा अंश टिकटकमा राखिएको रहेछ ।
मूल स्रोत :
‘ग्रेटर नेपाल टीभी’को भिडियोमा भारतीय-गोर्खा सैनिक सम्बन्धी दाबीलाई अलि फरक तरिकाले प्रस्तुत गरेको भेटियो । ‘गोर्खा सैनिकका एक प्रमुख’को हावाला दिँदै उक्त युट्युब च्यानले सो दाबी गरेको देखिन्छ । सुरक्षा थ्रेटका कारण ती व्यक्तिको नाम नखुलाइएकोसमेत भिडियोमा दाबी गरिएको छ । कस्मिरमा कार्यरत भारतीय-गोर्खा सैनिकले गरेको एक कार्यक्रममा सैनिकले सो राय व्यक्त गरेको दाबीसमेत भिडियोमा गरिएको छ ।
त्यस्तै दोस्रो भिडियोमा भारतले १० हजार गोर्खाली सेना कालापानी पठाउन लागेको र भारतीय-गोर्खा सैनिकले डरलाग्दो खुलासा गरेको दाबी गरिएको छ । पनि सोही तरिकाको भएकाले सुरुमै हामीले मूल स्रोत खोज्यौँ । यो भिडियो पनि ‘ग्रेटर नेपाल टीभी’ नामक युट्यु च्यालनमै भेटियो । १८ जनवरी २०२० मा पोस्ट गरिएको सो भिडियोमा हेडलाइन राखिएको छ,‘भारतले १० हजार गोर्खा सेना कालापानीना खटायो ।’
दोस्रो भिडियोको मूल स्रोत :
भिडियोभित्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय रक्षामन्त्री राजनाथ सिंहले गरेको चुनावी भाषणको सन्दर्भ उल्लेख गर्दै उक्त दाबी गरिएको छ । भिडियोमा प्रशंगलाईसमेत तोडमोड गरेर सो दाबी पेश गरेको पाइयो । यसबाट ‘ग्रेटर नेपाल टीभी’ नामक युट्युब च्यालनको विश्वस्नीयतामाथि प्रश्न उठ्यो, जसका कारण हामीले यो युट्युब च्यालनले राखेका अन्य भिडियोहरू पनि हेर्यौँ ।
यो युट्युब च्यानका अन्य भिडियोमा पनि सनसनीपूर्ण थमनेल र हेडलाइन प्रयोग गरिएको पाइयो । यसबाट के प्रष्ट भयो भने यो युट्युब च्यालनले विषयवस्तुलाई तोडमोड गरेर सामग्रीहरू उत्पादन गर्ने रहेछ । हेर्नुहोस् ‘ग्रेटर नेपाल टीभी’ले उत्पादन गरेका अन्य भिडियोहरू :

भारतीय-गोर्खा सैनिकलाई जोडेर तयार पारिएका भिडियोहरू पुष्टि हुँदैनन् । भारतले कालापानी फिर्ता नगरे गोर्खाली फौजले कडा आन्दोलन गर्ने चेतावनी दिएको प्रमाण भेटिएन । यस्ता दाबीसहितका सामग्री उत्पादन गर्ने युट्युब च्यानलसमेत विवादित देखियो । विवादित च्यानलले उत्पादन गरेका अपुष्ट र सनसनीपूर्ण सामग्री सामाजिक संजालमा फैलिएको पाइयो ।
भारतमा कार्यरत गोर्खा सेनाले गरे कालापानीबारे डरलाग्दो घोषणा
भारतले १० हजार गोर्खा सेना कालापानीना खटायो
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
May 20, 2026
Aakash Chhetri
April 21, 2026
Surendra Phuyal
June 1, 2021