Fact Check
Fact Check: के लिक्वीड क्लोरोफिलले दीर्घरोगहरु निको पार्न सक्छ?

दाबी: लिक्वीड क्लोरोफिलको सेवनले ग्यास्ट्रिक, कब्जियत, पायल्स, अल्सर, थाइराइड, सुगर, प्रेसर, आँखा, छालाको समस्या, रगतको कमी, शरीरमा भएको अम्लीयमात्रालाई नियन्त्रण गर्ने दाबी ।
तथ्य: क्लोरोफिल पूरकहरू लिँदा सावधानी अपनाउन जरुरी छ । यस्ता पूरकहरू नियमित रूपमा वा लामो समयसम्म प्रयोग गर्दा अप्रत्याशित साइड इफेक्टहरू देखापर्न सक्छन् ।
लिक्वीड क्लोरोफिल नामक झोल पदार्थबारे तयार पारिएको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा लिक्वीड क्लोरोफिलको सेवनले ग्यास्ट्रिक, कब्जियत, पायल्स, अल्सर, थाइराइड, सुगर, प्रेसर, आँखा, छालाको समस्या, रगतको कमी, शरीरमा भएको अम्लीयमात्रालाई नियन्त्रण गर्ने दाबी गरिएको छ ।
world’s best chlorophyll नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा लिक्वीड क्लोरोफिलको प्याकेजिङसहितको तस्बिर जोडिएको छ । सोही तस्बिरमा जोडिएको अडियोमा लिक्वीड क्लोरोफिल प्रयोग गर्ने बित्तिकै ग्यास्ट्रिक, कब्जियत, पायल्स, अल्सर, थाइराइड, सुगर, प्रेसर जस्ता थुप्रै समस्याहरु निको हुने दाबी गरिएको छ ।
त्यस्तै दाबीसहितको सामग्रीको थमनेलमा लेखिएको छ- ‘ग्यास्ट्रिक, कब्जियत, पायल्स, अल्सर, थाइराइड, सुगर, प्रेसर, आँखा, छालाको समस्या, रगतको कमी, शरीरमा भएको अम्लीयमात्रालाई नियन्त्रण गर्छ ।’

के लिक्वीड क्लोरोफिलको सेवनले ग्यास्ट्रिक, कब्जियत, पायल्स, अल्सर, थाइराइड, सुगर, प्रेसर, आँखा, छालाको समस्या, रगतको कमी, शरीरमा भएको अम्लीयमात्रालाई नियन्त्रण वा निको गर्छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
क्लोरोफिल बिरुवाहरूमा पाइने हरियो रंग कारक प्राकृतिक यौगिक हो, यो एन्टी-इन्फ्लेमेटरी गुणहरूका लागि परिचित छ । तर, पछिल्लो समय पूरक क्लोरोफिलिनलाई सबैभन्दा बढी प्रयोग गर्ने गरिन्छ । क्लोरोफिलको कृत्रिम रूपलाई सेवन गर्न वा छालामा प्रयोग गर्न सकिन्छ । क्लोरोफिल पूरकहरूको प्रयोग गर्दा यो घरका बिरुवाहरूमा पाइने क्लोरोफिल भन्दा फरक हुन्छ भनेर बुझ्नुपर्छ ।
लिक्वीड क्लोरोफिलले छाला रोगहरू रोक्न सक्छ भनेर पुष्टि गर्ने कुनै बलियो वैज्ञानिक प्रमाण छैन । यद्यपि, यसमा एन्टिअक्सिडेन्ट गुणहरू हुन्छन्, जसले केही स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छ । क्लोरोफिल सेवन र छाला रोग रोकथाम बीचको सम्बन्ध अझै राम्रोसँग स्थापित भएको छैन । लिक्वीड क्लोरोफिलले अनुहारको दागलाई हटाउन मद्दत गर्नसक्ने केही सीमित अध्ययनहरूले सुझाव दिन्छन् । तर, यसलाई वैज्ञानिक रुपमा प्रमाणित गर्ने प्रमाणको सीमितता देखिन्छ ।
लिक्वीड क्लोरोफिलले अनुहारको छालालाई स्वस्थ राख्न मद्दत गर्न सक्छ कि सक्दैन भनेर बुझ्न हामीले छाला विशेषज्ञ डा.ज्योति कन्नंगथसँग परामर्श गर्यौँ । उनका अनुसार लिक्वीड क्लोरोफिलले सामाजिक सञ्जालमा लोकप्रियता हासिल गरेको छ, तर यसको प्रभावकारितालाई समर्थन गर्न ठोस वैज्ञानिक अनुसन्धानको अभाव छ । क्लोरोफिलमा एन्टिअक्सिडेन्ट गुणहरू भए पनि यसले हानिकारक पदार्थहरूबाट हुने क्षतिबाट छालालाई जोगाउँछ भनेर प्रमाणित भएको छैन ।
डा. कन्नंगथले अनुहारको छाला बिग्रिएको अवस्थामा औषधीको रूपमा लिक्वीड क्लोरोफिल प्रयोग नगर्न चेतावनी दिएकी छन् । उनका अनुसार यसको अत्यधिक सेवनले शरीरमा हानिकारक क्लोरोफिल निर्माण हुन सक्छन् । यद्यपि, उनी स्वीकार गर्छिन् कि छालाको अवस्थाको लागि फोटोडायनामिक थेरापीसँगै प्रयोग गर्दा क्लोरोफिलको भूमिका हुन सक्छ, यो विधि केवल व्यावसायिक पर्यवेक्षणमा मात्र गर्नुपर्छ र घरमा प्रयास गर्नु हुँदैन ।
त्यस्तै लिक्वीड क्लोरोफिलले मधुमेह, रक्तचाप, थाइराइड र रक्तअल्पता निको पार्न सक्दैन । यद्यपि, चिकित्सा उपचार र जीवनशैली परिवर्तनसँगै यसको प्रयोगले हल्का सहायक फाइदाहरू प्रदान गर्न सक्छ । मधुमेहको लागि क्लोरोफिलिन (क्लोरोफिलको अर्ध-कृत्रिम व्युत्पन्न) ले खाना पछि रगतमा चिनीको मात्रा घटाउन सक्ने एउटा सानो अध्ययनले पत्ता लगाएको छ । तर, यो छोटो अवधिमा प्रभावरी हुँदैन ।
त्यस्तै रक्तचापको सन्दर्भमा क्लोरोफिलको एन्टिअक्सिडेन्ट गुणहरूले मुटुको स्वास्थ्यलाई समर्थन गर्न सक्छ तर यसले रक्तचापको स्तर कम गर्छ वा सामान्य बनाउँछ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फरेन ।
अर्कोतर्फ थाइराइड समस्या, विशेषगरी हाइपोथायरायडिज्म वा हाइपरथाइराइडिज्मको लागि क्लोरोफिलले हर्मोन उत्पादन वा थाइराइड कार्यलाई असर गर्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । थाइराइड समस्या भएका व्यक्तिहरू सावधान हुनुपर्छ, किनकि क्लोरोफिल पूरकहरूमा आयोडिन हुन सक्छ वा औषधिसँग अन्तरक्रिया हुन सक्छ ।
लिक्वीड क्लोरोफिलमा केही एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू भए तापनि यो यी कुनै पनि अवस्थाको उपचार होइन र यसले चिकित्सा उपचारलाई प्रतिस्थापन गर्नु हुँदैन ।
निष्कर्ष
ग्यास्ट्रिक, कब्जियत, पायल्स, अल्सर, थाइराइड, सुगर, प्रेसर, आँखा, छालाको समस्या, रगतको कमी जस्ता समस्याको उपचारमा लिक्वीड क्लोरोफिलमै मात्र भरपर्नु उपयुक्त हुँदैन । कुनैपनि मानिसले आफ्नो दैनिक आहारमा हरियो तरकारी जस्ता क्लोरोफिल युक्त खानेकुराहरू सेवन गर्नु सुरक्षित हुन्छ। यद्यपि, क्लोरोफिल पूरकहरू लिँदा सावधानी अपनाउन जरुरी छ । यस्ता पूरकहरू नियमित रूपमा वा लामो समयसम्म प्रयोग गर्दा अप्रत्याशित साइड इफेक्टहरू देखापर्न सक्छन् ।
नतिजा : आंशिक गलत
हाम्रा स्रोतहरू
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
तथ्यजाँच लेख, thip.media
(This article is published in collaboration withTHIP Media)