दाबी: रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएको र उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेको दाबी ।
तथ्य: पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित पुरानो तस्बिरलाई तोडमोड गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अधिवक्ता युवराज सफलसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएको र उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेको दाबी गरिएको छ ।
kumar magar नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अधिवक्ता युवराज सफल देखिने एउटा थमनेल जोडिएको छ । उक्त थमनेलमा ‘युवराज सफलमाथि खुकुरी प्रहार, गम्भीर अवस्थामा हस्पिटल भर्ना, तुरुन्त पुगे प्रचण्ड’ लगायतका वाक्यांश लेखिएको छ ।
साथै भिडियोमा जोडिएको एउटा अडियोमा पनि यस्तै दाबी गरिएको छ । अडियोमा भनिएको छ- ‘अहिले भर्खरै युवराज सफलको हातै छिनाइदियो रवि लामिछानेको समर्थकले, रवि लामिछानेविरुद्ध बोलेको भन्दै रवि लामिछानेको समर्थकले कालो झोला बोक्ने हातै छिनाइदिएका छन् आज भर्खरै, अहिले युवराज सफल हस्पिटलमा ।’

दाबीसहितको सामग्रीलाई ७ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब ८ सय प्रतिक्रिया आएको सामग्री करिब ४ सय पटक सेयर भइसकेको छ ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थकले युवराज सफलको हाल छिनाइदिएका हुन् त ? उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेको भन्ने दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको सामग्रीमा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिरसमेत जोडिएको छ । तस्बिरमा उनी अस्पतालमा देखिएका छन् । यही तस्बिरको जाँचका क्रममा हामीले ‘प्रचण्ड अस्पताल पुगे’ लगायतका वाक्यांश सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप setopati मा प्रकाशित एउटा पुरानो समाचार फेला पर्यो । ३ माघ २०७९ मा प्रकाशित समाचारमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अस्पताल पुगेर भेटेको जानकारी दिइएको छ । समाचार अनुसार स्वास्थ्यमा समस्या आएपछि उपचार गराइरहेका पुनलाई प्रचण्डले ललितपुरको सुमेरू अस्पतालमा पुगेर भेटेका हुन् ।
यही तस्बिरलाई तोडमोड गरेर प्रचण्ड युवराज सफललाई भेट्न अस्पताल पुगेको दाबीसहितको सामग्रीमा जोडिएको देखिन्छ ।

थप जाँचका क्रममा हामीले युवराज सफल फेसबुक खाता राष्ट्रसेवक युवराज सफल जाँच गर्यौँ । तर, सामाजिक संजालमा उनका गतिविधि सामान्य नै देखिएका छन् । दाबीसहितको सामग्री पोस्ट भएपछि केही दिनअघि मात्रै उनले आफ्ना तस्बिरसहितका सामग्री सामाजिक संजालमा पोस्ट गरेका छन् ।
दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिसकेपछि युवराज सफलको एउटा अन्तर्वार्ता पोस्ट भएकोसमेत देखिन्छ । दाबीसहितको सामग्री २३ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको छ भने सफलको पछिल्लो अन्तर्वार्ता २८ सेप्टेम्बर २०२४ मा Churo Kuro TV नामक युट्युब च्यानलमा पोस्ट भएको छ ।
थप जाँचका क्रममा हामीले अधिवक्ता सफललाई फोनमार्फत् सम्पर्क गर्यौँ । उनले पछिल्लो समय आफूमाथि कुनै भौतिक आक्रमण नभएको प्रष्ट पारे । उनका अनुसार खुकुरी प्रहारबाट आफ्नो हात छिनाइएको र आफ्नो अवस्था गम्भीर भएको भन्ने दाबी भ्रामक छन् ।
निष्कर्ष
रवि लामिछानेका समर्थकले युवराज सफलको हात छिनाइदिएको र उनलाई भेट्न प्रचण्ड अस्पताल पुगेको दाबी भ्रामक छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित पुरानो तस्बिरलाई तोडमोड गरेर भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
सामाचार, Setopati
भिडियो, Churo Kuro TV
युवराज सफल
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।