दाबी: बालेन शाहलाई जेल हालेर नै छाड्छौँ: केपी ओली (भिडियोसहित) ।
तथ्य: केपी शर्मा ओलीले ‘बालेनलाई सोध्नु’ भन्ने अभिव्यक्ति दिएको भिडियोमा भ्रामक दाबी जोडिएको पाइयो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महागरका मेयर बालेन शाहसँग सम्बन्धित एउटा दाबीसहितको पोस्ट फेला परेको छ । उक्त पोस्टमा केपी शर्मा ओलीले बालेन शाहलाई जेल हालेरै छाड्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।
Rudra Parajuli नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्णप्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशित भाव देखाएका छन् । उक्त भिडियोमा ओलीले ‘बालेनलाई सोध्नू’ भन्ने वाक्यांश बोलेको पनि सुन्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘बालेन शाहलाई जेल हालेर नै छाड्छौँ: केपी ओली ।’
केपी शर्मा ओलीले बालेन शाहलाई जेल हाल्ने अभिव्यक्ति दिएको दाबी सामाजिक संजालमा फैलिँदो छ । त्यसैले हामीले प्रस्तुत दाबीसहितको भिडियोबारे तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जेठ २१ (२०८१ ) गते काठमाडौँका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबारे फेसबुकमा भ्रष्टाचारको आरोप लगाएका थिए । स्ट्याटसमा मेयर बलेनले ओलीमाथि १० हजार करोडको काण्ड लुकाउन खोजेको आरोप लगाएका हुन् ।
दाबीसहितको भिडियोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘बालेनलाई सोध्नु’ भन्ने वाक्यांश बोलेको देखिन्छ । जाँचका क्रममा हामीले सोही वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप नागरिक न्युज डटकम लगायतका संचार माध्यममा प्रकाशित समाचार फेला परे ।
समाचार अनुसार बालेनले सामाजिक संजालमार्फत् आरोप लगाएकै दिन सञ्चारकर्मीहरुले संसद् भवनपरिसरमा केपी शर्मा ओलीलाई ‘गिरीबन्धु टी–स्टेट’बारे प्रतिक्रयमा मागेका थिए । संचारकर्मीले ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्न गरेपछि अध्यक्ष ओलीले आक्रोशित भावमा भनेका थिए- ‘बालेनलाई सोध्नु’ ।
फेला परेका तथ्यका आधारमा हामीले युट्युबमा ‘बालेनलाई सोध्नु’ भन्ने वाक्यांश सर्च गर्यौँ । जाँचको नतिजास्वरुप
Mountain TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो दाबीसहिको भिडियोसँग दुरुस्तै मिलेको छ । तर उक्त भिडियोमा केपी शर्मा ओलीले बालेन शाहलाई जेल हाल्ने अभिव्यक्ति दिएका छैनन् ।
यही क्रममा हामीले दाबीसहितको भिडियोलाई पुन: एकपटक नियाल्यौँ । जसमा SUNAULO PANA युट्युब च्यानलको लोगो देख्न सकिन्छ । उक्त युट्युब च्यानललाई जाँच गर्दा २४ जुन २०२४ मा पोस्ट गरिएको उक्त भिडियोमा ओली-बालेन तनाबबारे भिडियो रिपोर्ट तयार पारिएको छ । तर, उक्त भिडियोमा पनि केपी शर्मा ओलीले बालेन शाहलाई जेल हालेरै छाड्ने अभिव्यक्ति दिएका छैनन् ।
यही भिडियोको एउटा अंशलाई काटेर सामाजिक संजालमा जोडिएको पोस्ट गरिएको पाइयो । साथै उक्त भिडियोमा केपी शर्मा ओलीले बालेन शाहलाई जेल हालेरै छाड्ने अभिव्यक्ति दिएकोसमेत भ्रामक दाबी गरिएको छ ।
निष्कर्ष
केपी शर्मा ओलीले बालेन शाहलाई जेल हालेरै छाड्ने अभिव्यक्ति दिएको दाबी भ्रामक छ । ओलीले ‘बालेनलाई सोध्नु’ भन्ने अभिव्यक्ति दिएको भिडियोमा भ्रामक र असम्बन्धित दाबी जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, nagariknews.nagariknetwork.com
समाचार, ratopati.com
भिडियो, SUNAULO PANA
भिडियो, Mountain TV
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]