दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै खेल्न थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मिल्न लागेको एवं अब छिट्टै कांग्रेस-एमालेको सरकार बन्ने दाबी ।
तथ्य: चाडपर्वका अवसारमा राजनीतिक दलहरुद्वारा आयोजित आदानप्रदान तथा चियापान कार्यक्रममा खिचिएका पूराना दृश्यहरुलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
सामाजिक संजालमा नयाँ सत्ता समीकरण सम्बन्धि दाबीसहितको भिडियो फेला परेको छ । उक्त भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै खेल्न थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मिल्न लागेको एवं अब छिट्टै कांग्रेस-एमालेको सरकार बन्ने दाबी गरिएको छ ।
नेपाली समाचार नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच हार्दिकता आदानप्रदान भइरहेको दृश्य देख्न सकिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘प्रचण्डले धेरै खेल्न थालेपछि, देउवा र ओली मिल्दै, कांग्रेस एमालेको सरकार अब छिटो नै बन्दै ।’

दुई दिनअघि अर्थात् ३ मार्च २०२४ मा पोस्ट गरिएको दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिनेक्रम जारी छ । त्यसैले हामीले दाबीसहित पोस्ट गरिएका भिडियोहरुको मूल सन्दर्भ पत्ता लगाउन यो तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सत्ता समीकरण बनाएका छन् ।
नयाँ गठबन्धनका लागि २०८० फागुन २१ गते एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष दाहाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले आठबुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सत्ता समीकरण परिवर्तनको यही घटनाक्रमका बिच सामाजिक संजालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै खेल्न थालेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मिल्न लागेको एवं अब छिट्टै कांग्रेस-एमालेको सरकार बन्ने दाबी गरिएको भिडियो पोस्ट गरिएको छ ।
दाबीसहितको सामग्रीको जाँच गर्ने क्रममा हामीले सबैभन्दा पहिले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच हार्दिकता आदानप्रदान भइरहेको दृश्यको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ । जसका लागि हामीले युट्युबमा ‘एमाले चियापान’ ‘शुभकामना’ ;शेरबहादुर देउवा’ ‘ओली’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Yoho Television HD युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । चार महिनाअघि अर्थात् १ नोभेम्बर २०२३ मा पोस्ट गरिएको उक्त भिडियो नेकपा (एमाले)द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापनमा खिचिएको थियो ।
२०८० कात्तिक १५ गते नेकपा (एमाले)ले दशैं, तिहार, छठ लगायतका पर्वहरु को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजित उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, शीर्ष नेताहरु, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, राजदूत, कुटनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारीलगायतलाई आमन्त्रण गरिएको थियो । सोही शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा खिचिएको हार्दिकता आदानप्रदानको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
दाबीसहितको भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै देखिएको अर्को दृश्य पनि जोडिएको छ । भिडियोको जाँचका क्रममा हामीले ‘चियापान तथा शुभकामना’ ‘शेरबहादुर देउवा’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप Prime Times HD युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । चार महिनाअघि अर्थात् २८ अक्टोबर २०२३ मा युट्युबमा पोस्ट गरिएको उक्त भिडियोको शिर्षक छ- ‘नेपाली कांग्रेसको चियापानमा शेरबहादुर देउवा र केपी ओलीबीच जम्काभेट, मेलमिलापको दृश्य ।’
२०८० कात्तिक ११ गते नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको थियो । बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए । सोही क्रममा खिचिएको दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
उल्लेखित तथ्य-स्रोतहरुले दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियो वर्तमान राजनीतिक समीकरणसँग सम्बन्धित नरहेको पुष्टि गरेका छन् । चाडपर्वका अवसारमा राजनीतिक दलहरुद्वारा आयोजित आदानप्रदान तथा चियापान कार्यक्रममा खिचिएका पूराना दृश्यहरुलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
एमाले–माओवादी सम्मिलित नयाँ सत्ता समीकरणको घोषणा हुनुअघि नै कांग्रेस-एमालेको सरकार बन्न लागेको दाबी सामजिक संजालमा पोस्ट गरिएको थियो । यद्यपी दाबीसहितको भिडियो पोस्ट गरिएको एकदिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सबै मन्त्रीलाई बिदा गरेर एमाले, माओवादी र रास्वपाका एक/एक जना मन्त्री नियुक्त गरेका छन् ।
निष्कर्ष
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मिल्न लागेको एवं अब छिट्टै कांग्रेस-एमालेको सरकार बन्ने दाबी भ्रामक छ । चाडपर्वका अवसारमा राजनीतिक दलहरुद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा खिचिएका पूराना दृश्यहरुलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
रिपोर्ट, ekantipur.com
भिडियो, Prime Times HD
भिडियो, Yoho Television HD
समाचार, himalkhabar.com
समाचार, annapurnapost.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co