दाबी: बालेन शाहका विरोधीहरू विरुद्ध मलेसियामा कार्यरत नेपालीहरूले क्वालालम्पुरमा प्रदर्शन गरेको दाबी ।
तथ्य: २०७९ सालको इन्द्रजात्राको अवसरमा बालेन शाहका समर्थकहरूले लगाएको नारालाई फरक सन्दर्भको भिडियोमा जोडिएको पाइयो ।
सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ, काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको समर्थनमा मलेसियामा प्रदर्शन भएको दाबी गरिएको छ । उक्त सामग्रीमा बालेन शाहका विरोधीहरू विरुद्ध मलेसियामा कार्यरत नेपालीहरूले क्वालालम्पुरमा प्रदर्शन गरेको जानकारी दिइएको छ ।
बालेन हाम्रो साथि नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा मानिसहरूको भीड देख्न सकिन्छ । उक्त भीडले काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको समर्थनमा नारावाजी गरिरहेको सुन्न सकिन्छ । भिडियोमा देखिएको भीडले ‘बालेन-बालेन’ भन्दै नारा लगाइरहेको दृश्य देख्न सकिन्छ ।
भिडियोको थमनेलमा दाबीलाई प्रस्तुत गरिएको छ । थमनेलमा लेखिएको छ- ‘बानेलविरुद्ध सडकमा उत्रन सफल भएका कुनैपनि पार्टीका कार्यकर्ता (मासु र पैसामा बिक्ने) विरुद्ध मलेसियामा कार्यरत नेपालीले विरोध जनाएको छ, मलेसियाको क्वालालम्पुरमा विरोध प्रदर्शन ।’

चार दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा साढे १३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब दुई सय प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई एक सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । प्रस्तुत तथ्यलाई नियाल्ने हो भन्ने दाबीसहितको भिडियो सामग्री आगामी दिनमा झनै फैलिनसक्ने देखिन्छ । यही कारण हामीले प्रस्तुत भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लखित दाबीसहितको सामग्रीमा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहविरुद्ध सडकमा उत्रन सफल भएका पार्टीका कार्यकर्ताविरुद्ध मलेसियामा कार्यरत नेपालीले विरोध प्रदर्शन गरेको दाबी गरिएको छ । यही दाबीसँगै उक्त भिडियोमा ‘बालेन-बालेन’ भन्दै नारा लगाइरहेको अडियो पनि सुन्न सकिन्छ ।
प्रस्तुत दाबीका आधारमा हामीले सबैभन्दा पहिले अडियोको जाँच गर्यौँ । जसका लागि हामीले ‘बानेल शाह’ ‘नारा’ ‘इन्द्रजात्रा’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप RAMESH BOGATI नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो पर्यो ।
फेला परेको भिडियो काठमाडौँको बसन्तपुरस्थित २०७९ सालको इन्द्रजात्राको अवसरमा खिचिएको हो । इन्द्रजात्राको अवसरमा तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुसँग काठमाडौँ महानगरका मेयर पनि सहभागि भएका थिए । उक्त इन्द्रजात्रामा बालेन शाहका समर्थकहरूले उनको पक्षमा नारावाजी गरेको देखिन्छ ।
यही इन्त्रजात्रामा रेकर्ड भएको अडियोलाई माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको पाइयो । अडियोको वास्तविकता पत्ता लगेपछि हामी भिडियोको मूल सन्दर्भ खोज्नतिर लाग्यौँ । यसका लागि हामीले युट्युब लगायतका विभिन्न सामाजिक संजालहरुमा वाक्यांशहरू सर्च गर्यौँ । तर, कुनै पनि भरपर्दो नतिजा फेला परेन ।
मूल सन्दर्भ सहितको भिडियो फेला नपरेपछि हामीले पुन: एकपटक दाबीसहितको सामग्रीलाई नियाल्यौँ । दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियोलाई सरसर्ती हेर्दा पछाडि रहेको भवनमा हाम्रो नजर गयो । उक्त भवनलाई मात्र सकृनसट गरेर हामीले गुगल लेन्समा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप ‘फिफा विश्वकप २०२२’ को एउटा स्टेडियमको तस्बिर हाम्रो अगाडि देखा पर्यो ।
कतारस्थित फिफा विश्वकप २०२२ खेल्नका लागि बनाइएको अल जनुब स्टेडियमसँग भिडियोमा देखिएको भवन मिल्दोजुल्दो छ । तर, मूल भिडियो फेला नपरेका कारण हामी उक्त दृश्य कतारकै हो भन्नेमा विश्वस्त भएनौँ । यद्यपी उक्त दृश्य फिफा विश्वकप २०२२ को अवसरमा खिचिएको हुनसक्ने सम्भावना प्रवल देखिन्छ ।

फेला परेका तथ्यहरुलाई फेरि एकपटक नियाल्दा दाबीसहितको सामग्रीमा छेडखानी गरिएको पुष्टि हुन्छ । किनकि बालेन शाहको पक्षमा लगाइएका नाराहरू मलेसियामा कार्यरत नेपालीहरूले लगाएका होइनन् । उक्त भिडियो क्वालालम्पुरमा खिचिएको प्रमाणित पनि हुँदैन । यस तथ्यबाट माथि उल्लेखित दाबीसहितको सामग्री भ्रामक रहेको पुष्टि हुन्छ ।
निष्कर्ष :
काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहका विरोधीहरू विरुद्ध मलेसियामा कार्यरत नेपालीहरूले क्वालालम्पुरमा प्रदर्शन गरेको दाबी गरिएको सामग्री भ्रामक छ । २०७९ सालको इन्द्रजात्राको अवसरमा बालेन शाहका समर्थकहरूले लगाएको नारालाई फरक सन्दर्भको भिडियोसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]