Monday, September 15, 2025

Fact Check

एमसिसीसँग जोडेर प्रधानमन्त्री र सभामुखको भनाई बङ्ग्याइयो, के देउवाले आपत्तिजनक शब्द बोलेका हुन् ?

banner_image

अमेरिकी आर्थिक अनुदान सहायता कार्यक्रमसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा भेटिएका छन् । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाकाे अभिव्यक्ति भन्दै केही सामग्री सामाजिक संजालमा फैलाइएको छ । 

बुधबार पत्रकार लोकेश साउदले फेसबुकमा ‘समाचारकाे शीर्षक खुबै मन पर्‍यो’ भन्ने स्ट्याटस लेख्दै एउटा स्कृनसट पोस्ट गरे । उक्त स्कृनसटमा सभामुख सापकोटाको तस्बीरसहित थमनेल र शीर्षक राखिएको थियो । स्कृनसटमा समामुख सापकोटाले ‘आफ्नो कार्यकालमा’ एमसिसी पास हुनै नदिने अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

त्यस्तै भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एमसिसीकै विषयमा प्रधानमन्त्री देउवाको अभिव्यक्ति भन्दै एक भिडियो पोस्ट गरिएको छ । दुई साताअघि #अपृतम नाक टिकटक आइडीमा पोस्ट भएको यो भिडियोमा देउवाले संचार माध्यमसँग कुराकानी गरिरहेको दृश्य देखिन्छ । भिडियोमा अडियोमा देउवाले एमसिसी अनुदानमा आउने रकम छाड्न नसकिने र जनताले यही कारण आफूहरूलाई चोर भन्ने गरेको बताएका छन् ।

 देउवा  – ‘यो एमसिसी पास गर्‍यो भने त देश बेचुवा डाँका नै भन्छन् नि, ५५ अर्वको सवाल छ त्यत्रो पैसा छोड्न पनि सकिन्न नि, जस्तोसुकै क्यालकुलेटरमा अट्दैन यो अमाउन्ट त, त्यसैले त हो नि हामीलाई चोर भन्ने जनताले ।’

त्यतिकैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाषण गरिरहेको दृश्य देखिन्छ । दाहालले भन्छन्,‘यो कुरा साँचाे हो त साथीहरू ? होइन ।’

देउवा – ‘बिचमा कुरा नकाट, तपाई १७ हजार मार्ने ज्यानमारा पनि भन्छन् नि !’

भिडियो फैलावटको कुरा गर्ने हो भने ३१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले भिडियोमा रियाक्ट गरिसकेका छन् भने २ सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । देउवाको यो भिडियोमा राखिएको अडियोबाट अन्य भिडियो पनि पुन:निर्माण गरिएको छ । हेर्नुहोस्, पुनर्निर्मित भिडियोहरू : 

तथ्य जाँच र प्रमाणीकरण

पछिल्लो समय नेपालमा एमसिसी अन्तर्गतको झन्डै ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आर्थिक अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेको छ । यही बेला माथिको भिडियो सामाजिक संजालमा फैलिरहेको हो । एमसिसी संसद्‍बाट पास गर्नुपर्ने सम्झौता भएकाले यसमा सभामुख सापकोटाको भूमिका पनि महत्वपूर्ण हुन्छ । अर्कोतर्फ एमसिसी पास गर्न सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीको भूमिका पनि महत्वपूर्ण नै रहन्छ । त्यसैले हामीले माथिका दुई दाबीमाथि तथ्यजाँच गर्‍यौँ ।

सबैभन्दा पहिले हामीले प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति वास्तविक हो कि हैन भनेर जाँच गर्‍याैँ । टिकटक भिडियोमा देखाइएको दृश्यको मूल भिडियो TV Annapurna नामक युट्युब च्यानलमा भेटियो । यो भिडियो अहिलेको नभई ५ वर्ष पहिला पोस्ट भएको हामीले पायौँ । 

हेर्नुहोस् पाँच वर्ष पुरानो भिडियो :

९ नोभेम्बर २०१६ मा पोस्ट भएको उक्त भिडियोमा देउवाले एमसिसीको विषयमा बोलेका छैनन् । संचारकर्मीले दलाई लामासँग जोडेर प्रश्न सोधेपछि तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएका रहेछन् । सोही दृश्य पछिल्लो समय एमसिसीसँग जोडेर पोस्ट गरिएको देखियो । यसबाट के प्रष्ट हुन्छ भने माथिको टिकटक भिडियोमा  राखिएको आवाज देउवाको होइन ।

टिकटक भिडियोमा प्रधानमन्त्री देउवाको नक्कली आवाजमाथि जवाफ फर्काउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘यो कुरा साँचाे हो त साथीहरू ? होइन’ भनेको देखिन्छ । तर, दाहालले यो जवाफ देउवालाई होइन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएका थिए ।  

गत मंसिर २४ गते नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै लिङ्देनले नेताले जनताको विश्वास गुमाएको बताएका थिए । उनले भनेका थिए,‘पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने गरिन्थ्यो, अहिले कुन चोर आएछ भन्ने गरेका छन् ।’ सोही कार्यक्रममा लिङ्देनलाई जवाफ फर्काउँदै दाहालले भनेका थिए,‘यो कुरा साँचाे हो त साथीहरू ? होइन ।’ 

कांग्रेसको १४औं महाधिवेशनमा भएको जुहारी

अब बाँकि रह्यो सभामुख सापकोटाको सन्दर्भ । सामाजिक संजालमा समामुख सापकोटाले ‘आफ्नो कार्यकालमा’ एमसिसी पास हुनै नदिने अभिव्यक्ति दिएको दाबी गरिएको छ । सापकोटाले अहिलेसम्म सामाजिक संजालमा दाबी गरिएजस्तो शब्द प्रयोग गरेका छैनन् ।

एमसिसी र सभामुखको धारणासहितको सामाचारहरू नेपाली संचार माध्यममा आइरहेका छन् । यही क्रममा माघ १९ गते इकागज डटकमले सभामुखको धारणा राख्दै एक सामग्री प्रकाशन गरेको छ । जसमा समामुखले यस्तो भनेका छन् –

सभामुखको काम, कर्तव्य र अधिकार संविधानले नै निर्दिष्ट गरेको छ । प्रतिनिधि सभाको नियमावलीले पनि निर्दिष्ट गरेको छ । उहाँले सभामुखको रूपमा काम गरेको माघको दोस्रो साता २ वर्ष पूरा भएको छ । उहाँले कोभिडविरुद्ध लड्दै दुई पटक विघटन भएको प्रतिनिधि सभा जोगाउन संघर्ष गर्नुभयो । सभामुखको अडान एजेण्डा र सर्त भन्‍ने कुरा केही पनि होइन । एमसीसीबारे सभामुखको स्पष्‍ट धारणा छ । जनस्तरसम्म पुगिसकेको, धेरै छलफल बहस भइसकेको, नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषय भएकाले यो विषयलाई संसद्‌मा ल्याउँदा दलहरूका बीचमा राष्ट्रिय सहमति हुनुपर्छ । यस विषयमा जति महत्वका साथ बहस छलफल भइरहेको छ संसद्‌मा ल्याउँदा पनि दलहरूबीच राष्ट्रिय सहमति गरेर ल्याऊन् । दलहरू नै निर्णायक हो । के गर्ने भन्‍ने विषयमा दलहरूले नै निर्णय गरुन् । 

यस विषयमा जति पनि कुरा उठेका छन् । जनताबाट, कानुनविद्‌बाट, राजनीतिक दलहरूबाट, सञ्‍चारकर्मीबाट किसान, मजदुरबाट जति पनि प्रश्‍न उठेका छन् । एमसीसीबारे उठेका प्रश्नको यथोचित जवाफ दिने वातावरण संसद्‌मा बन्‍नुपर्‍यो । यो विषय संसद्‌कै हो भने छलफल नै नगरी त्यस विषयमा पक्ष वा विपक्षमा आएका धारणाबारे बोल्नुपर्छ । बोल्न पाउनुपर्छ । के हो ? के होइन भन्‍ने प्रष्ट हुनुपर्‍यो । एमसीसी यथावस्थामा संसद्‌मा जान सक्दैन । पाँच महिना हुन लाग्‍यो विपक्ष दलले संसद्‌ अवरोध गरिरहेको छ । अवरोधकै बीचमा एमसीसीलगायत अन्य विषयमा संसद्‌मा टेबल हुँदैन । सरकारले संवैधानिक बाध्यता परेपछि अध्यादेश पेश गर्नैपर्ने थियो । संसद्‌ले असोजमा पनि बजेट मात्रै पास गरेको हो । विरोधका बीचमा कानुन पनि पारित भएको छैन । ४२ वटाभन्‍दा बढी विधेयक विचराधिन अवस्थामा छन् । यी कुनै विषय अगाडि बढेको छैन । सामान्यतया संसद्‌मा विपक्ष दलले विरोध गरिरहँदा एमसीसी संसद्‌मा जाँदैन । विपक्षीले विरोध गरिरहदा विरोधकै बीच जबरजस्ती लैजानुपर्ने केही कारण छ ? एकातिर संसद्‌ सुचारु भएको छैन अर्कोतिर विरोध कायमै छ । पहिला संसद्‌ सुचारु गर्न ध्यान दिनुपर्‍यो नि त । यो विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । जनस्तरमा उठेका प्रश्‍नको जवाफ दिने वातावरण सिर्जना हुनुपर्‍यो । र संसद्‌ सुचारु हुनुपर्‍यो । यी तीन कुरा उठाउनु नै गल्ती हो त ? सभामुखले रोक्दैमा वा चाहदैमा जाने विषय त होइन । 

यस विषयमा दलहरू निर्णायक हुन् । सभामुख कहाँ ल्याएर थुपार्ने र सभामुखलाई विवादित बनाउने काम भएको छ । सभामुखको भूमिका र काम नियमावलीमा लेखिएकै छ । यो सभामुखसँग जोड्न आवश्यक छैन । यति धेरै महत्वको विषय भएकोले सबै दलहरू सहमत भएर आउनुन् भन्‍ने सभामुखको चाहना हो । यही होहल्लाका बीचमा पारित गर्ने विषय कति जायज हुनसक्‍छ ?

यसबाट के प्रष्ट हुन्छ भने सभामुख सापकोटाको धारणा भन्दै सामाजिक संजालमा फैलाइएको स्कृनसट भ्रामक छ । सभामुखले स्कृनसटमा देखाइएजस्तो अभिव्यक्ति दिएको प्रमाण कतै भेटिएन ।

निष्कर्ष : 

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाकाे अभिव्यक्ति भन्दै सामाजिक संजालमा राखिएका माथिका सामग्री भ्रामक छन् । दाबी गरिएजस्तो अभिव्यक्ति दुबैले दिएका छैनन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

इकागज : एमसीसीबारे सभामुख सापकोटा

देशसञ्चार

टीभी अन्नपूर्ण : ५ वर्ष पुरानाे भिडियो


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

913

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage