बुधबार भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री पोस्ट भयो, जसमा एक मन्त्रीलाई गोली हानेर हत्या गरिएको दाबी गरिएको छ । उक्त भिडियो सामग्रीमा दुईवटा फरक-फरक दृश्य जोडेर नेपाली भाषामा सो दाबी गरिएको छ । प्रस्तुत टिकटक सामग्रीमा नेपाली सुरक्षाकर्मी देखिएका छन् ।
schoolteacher नामक टिकटक आइडीमा केही घण्टाअघि पोस्ट गरिएको सामग्रीमा उक्त मन्त्रीलाई आफ्नै साथीले गोली हानेर हत्या गरेको दाबी गरिएको छ । भिडियोको सुरुवातमा एउटा छोटो दृश्य देखिन्छ, जसमा गोली चलेको आवाज सुनिएको छ र त्यहाँ क्यामेरा देखिएको छ । उक्त सामग्रीको थमनेलमा नेपाली भाषामा लेखिएको छ– ‘आफ्नै साथीले गरे मन्त्रीको हत्या ।’
प्रस्तुत टिकटक सामग्रीमा सोही दाबीसहितको अडियोसमेत राखिएको छ । समाचार शैलीको उक्त अडियोमा भनिएको छ- ‘एकाएक पर्यटन, प्राकृतिक स्रोत साधनमन्त्रीलाई उनकै कार्यकक्षमा एकाएक ६ राउन्ड गोली हानी हत्या, कसले गर्यो हत्या ? यसको पूरा जानकारी ।’

दाबीसहितको उक्त सामग्री पोस्ट भएको २ घण्टामै ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने यही अवधिमा उक्त सामग्रीलाई करिब ३० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यतिमात्र होइन, उक्त दाबीसहितको अडियोबाट थप टिकटक भिडियोहरूसमेत पुनर्उत्पादन भइरहेको देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने उक्त दाबीसहितको सामग्रीको फैलावट व्यापक छ ।

नेपाली सुरक्षाकर्मी रहेको दृश्य देखाउँदै मन्त्रीलाई गोली हानेर हत्या गरिएको भन्ने नेपाली भाषाको दाबीले सामाजिक संजाल प्रयोगकर्ता अलमलिएको देखिन्छ । त्यसैले सामाजिक संजाल प्रयोगकर्ताले कमेन्टमार्फत् टिकटकमा फैलिएका प्रस्तुत सामग्रीको वास्तविकता जान्न खोजेको देखिन्छ । यही कारण न्युजचेकरले उक्त सामग्रीको तथ्यजाँच गर्ने जमर्को गरेको हो ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको सामग्रीमा सबैभन्दा पहिले गोली चलेको आवाज सुनिन्छ र उक्त आवाजसँगै एउटा क्यामरा र क्यामरा पर्सन देखिन्छन् । सामग्रीमा प्रष्ट तरिकाले अडियोमार्फत् दाबी गरिएकाले हामीले सबैभन्दा उक्त अडियोको मूल स्रोत पत्ता लगाउने जमर्को गर्यौँ । तर, किवर्ड सर्चले सजिलै मूल अडियो पत्ता लागेन ।
त्यसपछि हाम्रो नजर दाबीसहितको भिडियोमा राखिएको वाटरमार्कतिर गयो, जसमा नेपाली खबर टीभी नामक युट्युब च्यानको लोगो राखिएको थियो । हामी उक्त युट्युब च्यालनबारे जानकार छौँ । सनसनीपूर्ण शीर्षकहरूमार्फत् सामाजिक संजाल प्रयोगकर्तालाई भ्रामक सूचना दिनु उक्त च्यानलको विशेषता नै हो ।
NEPALI KHABAR TV नामक युट्युब च्यानलमा पोस्ट गरिएका भिडियो नियाल्दै गर्दा हामीले दाबीसहितको मूल भिडियो फेला पार्यौँ । मंगलबार नै पोस्ट गरिएको उक्त भिडियोको सुरुवात नै माथि उल्लेखित दाबीसहितको सामग्रीबाट सुरु भएको देखिन्छ ।
हामी पुन: दाबीमै पुगेर अडियौँ, सुरुवातमै गोलीको आवाजसहित देखिएको दृश्य युट्युब भिडियोमा अलि प्रष्टसँग देखिन्छ । नेपाल सशस्त्र प्रहरीले एकजना व्यक्तिलाई कार्यक्रमस्थलबाट पक्राउ गरिरहेको दृश्य भिडियोको सुरुवातमै देखिएको छ । यत्ति प्रष्ट भएपछि मूल सन्दर्भ पत्ता लगाउन हामीले सामाजिक संजालमा सशस्त्र प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गरिरहेका दृश्यहरू नियाल्न थाल्यौँ । केही समयको जाँचपछि हामीले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा घटेको एउटा घटनाको भिडियो फेला पार्यौँ ।
२ वर्षअघि तत्काली नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको थियो । लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका एक युवाले उनीमाथि जुत्ता प्रहार गरेका थिए । जुत्ता प्रहारपछि ती युवकलाई हलभित्रैबाट दाहालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । यही घटनाको भिडियोलाई दाबीसहितको भिडियोमा राखिएको देखिन्छ ।
AP1 HD को युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो र मन्त्रीमाथि गोली चलाइएको दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य अंश हुबहु देखिएको छ ।
दाबीसहितको सामग्रीमा राखिएको अर्को तस्बिरको मूल स्रोत भने पत्ता लागेन । तर, उक्त तस्बिरमा नेपालका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना देखिएका छन् । भर्खरै नेपालमा स्थानीय तह निर्वाचन २०७९ पनि सम्पन्न भएको छ र तीनवटै सुरक्षा निकाय एकै ठाउँमा देखिने सन्दर्भ भनेको निर्वाचन नै हुनसक्छ । किनकि प्रस्तुत दाबीसहितकै सामग्रीमा NEPALI KHABAR TV युट्युब च्यानलले प्रयोग गरेको अर्को तस्बिर निर्वाचनकै हो । चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना चलिरहँदा लिइएको तस्बिर अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।

माथि उल्लेखित दाबीसहितको सामग्रीमा नेपालमा खिचिएका भिडियो र फोटो प्रयोग गरिएपनि त्यस्तो घटना नेपालमा घटेको छैन । अर्कोतर्फ नेपालमा पर्यटन, प्राकृतिक स्रोत साधन नामको कुनै मन्त्रीसमेत छैन ।
निष्कर्ष :
दाबीसहितको उक्त सामग्रीमा नेपाली सुरक्षाकर्मी देखिने दृश्यहरू भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । दाबीमा प्रयोग गरिएको भिडियोलाई तोडमोडसमेत गरिएको पाइयो । उक्त भ्रामक दाबी नेपालको कुनै वर्तमान सन्दर्भसँग मेल नखाने भएकाले प्रस्तुत दाबीसहितको सामग्री भ्रामक छ ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co