जंगली जनावर घरमा आएको दाबीसहितका भिडियोहरू सामाजिक संजालमा फैलिनेक्रम रोकिएको छैन । यही क्रममा पछिल्लो समय केही नयाँ भिडियोहरू देखिएका छन् । पछिल्लो समय सामाजिक संजालमा घरको कम्पाउन्डभित्र बाघ पसेको दृश्यसहितको भिडियो फैलिरहेको छ । सुरेशसिंह नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोमा देखाइएको दृश्य चितवनको रहेको दाबी गरिएको छ । भिडियोको क्याप्सनमा लेखिएको छ,‘चितवन बजार आसपास गैंडा देखिनु सामान्य भएपनि सिंह देखिनु नयाँ कुरा हाे, नेपाल टेलिभजनबाट ।’
उक्त भिडियोमा एउटा घरको गेट नाघेर बाघ भित्र पसेको दृश्य देखिन्छ र केही बेरमै उक्त बाघ साेही गेट नाघेर फर्किन्छ । भिडियोमा नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनको लोगोसमेत राखिएको छ । थमनेलमा उक्त भिडियोमा देखाइएको दृश्य चितवनस्थित एक होटलको रहेको दाबीसमेत गरिएको छ । थमनेलमा लेखिएको छ,‘हल्ला चाहिँ चितवनको एक होटलको रे, कोहीलाई थाहा भए भन्दिनुस् त । यसले आक्रमण गरेर भागेको थियो कुकुरलाई ।’
एक साताअघि पोस्ट गरिएको उक्त भिडियोमा ८९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै भिडियोमा ४ सय ३० भन्दा बढीले कमेन्ट गरिसकेका छन् भने सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब साढे ५ सय पुगिसकेको छ । यसले के प्रष्ट पार्छ भने यो भिडियो टिकटक प्रयोगकर्तामाझ द्रुत गतिमा फैलिएको छ ।

माथि नै उल्लेख गरिसकिएको छ कि नेपालमा पछिल्लो समय जंगली जनावर घरभित्र पसेका भिडियोहरू भाइरल भइरहेका छन् । यही क्रममा सामाजिक संजालमा अर्को भिडियो भेटिएको छ । भिडियोमा एउटा बाघ दौडिदै सडकमा आएको दृश्य देखिन्छ । केशव शर्मा नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको यो भिडियोको दृश्य गोदावरीको भएको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ, गोदावरीमा आज दिउँसाे, टाइगर ।’
यो भिडियो २० घण्टा अगाडि टिकटकमा पोस्ट भएको देखिन्छ । यो अवधिमा उक्त भिडियोमाथि १ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेकाे देखियो । वास्तविकतामाथि शंका पैदा भएपछि हामीले माथिका दुबै भिडियोमाथि तथ्यजाँच गरेका छाैँ ।
तथ्य जाँच / प्रमाणीकरण
पहिलो भिडियोमा देखिएको दृश्य चितवनको रहेको बताइएको छ । जसमा वास्तविक देखाउन नेपाल टेलिभिजनको लोगोसमेत राखिएको छ । तर, यो दृश्यको जाँच गर्दा भिडियो चितवनको हो भन्ने दाबी पुष्टि भएन । जाँच गर्दै जाँदा चितवन मात्र होइन, यो भिडियोमा देखिएको दृश्य नेपालकै नभएको पुष्टि भयो ।
भिडियोमा देखिएको दृश्य भारतस्थित गुजरातको रहेको पाइयो । भिडियोमा देखिएको दृश्य बाघको नभइ सिंहको रहेको पाइयो । गुजरातको एउटा होटलको सीसीभीटी फुटेजमा उक्त भिडियो कैद भएको थियो । यो घटना २०२१ फेब्रुअरीमा घटेको थियो । गुजरातस्थित जुनागढको एक होटेलमा सिंह पसेको भिडियो भारतमासमेत भाइरल भएको थियो । भिडियोबारे भारतीय चर्चित संचार माध्यम एनडीटीभीलेसमेत सामग्री तयार पारेको छ ।
त्यस्तै दोस्रो भिडियोमा सडकमै बाघ देखिएको दृश्य देखिन्छ । उक्त भिडियोमा गोदावरीमा ‘आज दिउँसाे’ बाघ देखिएको दाबी गरिएको छ । तर, भिडियोमा कहाँको गोदावरी हो भनेर खुलाइएको छैन । काठमाडौँ उपत्यकासँगै गोदावरी नामक ठाउँ नेपालका धेरै स्थानमा छन् । यहाँ राखिउको ‘गोदावरीमा आज दिउँसो’ भन्ने दाबीले धेरैको ध्यान खिचेको छ ।
जाँच गर्दै जाँदा यो भिडियो बंगलादेशमा खिचिएको पाइयो । यो भिडियो बंगलादेशस्थित गाजीपुरको बंगबन्धु सफारी पार्कमा जंगल घुम्ने क्रममा खिचिएको थियो । खुर्शीद अहमद जाहेद नामक युट्युब च्यानलमा यो भिडियो १७ अक्टोबर २०१५ मा पोस्ट भएको देखिन्छ । सोही भिडियोलाई गोदावरी भन्दै भ्रामक तरिकाले नेपालमा फैलाइएको छ ।
निष्कर्ष :
दुबै भिडियोमा देखाइएका दृश्य नेपालका हाेइनन् । पहिलो भिडियोमा देखिएको दृश्य भारतको हो भने दोस्रो भिडियोमा देखिएको दृश्य बंगलादेशकाे हो । यसलाई नेपालको कुनै ठाउँको संज्ञा दिँदै नेपाली सामाजिक संजाल प्रयोगकर्तामाझ फैलाइएको देखिन्छ । त्यसैले यही भिडियो नेपालको सन्दर्भमा भ्रामक बनेका छन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
IndianExpressOnline : CCTV catches an Asiatic lion entering Junagadh hotel
NDTV : Caught On Camera: Lion Enters Hotel In Gujarat By Leaping Over Wall
Khurshed Ahmed Jahed : Tiger @ Safari Park, Gazipur
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co