Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिए र उनले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिए ।
तथ्य : दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो भक्तपुरको कमलविनायक-नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका बेला खिचिएको थियो ।
सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, उक्त सामग्रीमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिएको र उनले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिएको दाबी गरिएको छ ।
Veja Kharab Media नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठकाे बोलिरहेको अवस्थामा देखिएका छन् । मन्त्री श्रेष्ठसँग जम्मा भएका मानिसहरू पनि बोलिरहेको दृश्य दाबीसहितको सामग्रीमा देखिएको छ ।
चर्काचर्की भएको भिडियोसहितको सामग्रीमा एउटा समाचार शैलीको अडियो समेत जोडिएको छ । उक्त अडियोमा श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिएको दाबी गरिएको छ । समाचार शैलीमा तयार पारिएको अडियोमा भनिएको छ-
‘नाबालिग काण्डमा मुछिएका उपप्रधानमन्त्री एवं नारायणकाजी श्रेष्ठ एकाएक गुण्डाको शैलीमा उपस्थित, किशोरीका आमा बुवालाई नारायणकाजीको फोन, रिट दर्ता गरेमा बालिकाको ज्यानै लिने धम्की सहितको अडियो क्लीप बाहिरियो, हेर्नुहोस् पूरा भिडियो ।’

अर्कोतर्फ भिडियोको थमनेलमा पनि सोही दाबी दोहोर्याइएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘किशोरीका आमा बुवालाई रिट दर्ता गरेमा बालिकाको ज्यानै लिने धम्की पीडित जनतालाई थर्काउँदै उपप्रधानमन्त्रीज्यू ।’
दुई दिनअघि अर्थात् आइतबार (फागुन २८) मा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा १८ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै ५० भन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई १ सय २० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
नेपालकै उपप्रधानमन्त्री जस्तो उच्च पदमा आसिन व्यक्तिबारे गरिएको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिएको र उनले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिएको दाबीबारे हामीले जाँच गरेका छौँ ।
माथि उल्लेखित दाबीसहितको सामग्रीमा एउटा भिडियो देखिएको छ, जसमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र मानिसहरूबीच चर्काचर्की भइरहेको दृश्य देख्न सकिन्छ । प्रस्तुत दृश्यसहितको सामग्रीमा मन्त्री श्रेष्ठले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिएको दाबी गरिएको छ ।
दाबीसहितको सामग्रीमाथि जाँच गर्ने क्रममा हामीले सबैभन्दा पहिले भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । जसका लागि हामीले केही वाक्यांशहरू तयार पार्यौँ र युट्युबमा सर्च गर्यौँ । युट्युबमा ‘नारायणकाजी बालिका काण्ड’ वाक्यांश सर्च गर्दा केही महत्वपूर्ण परिणाम फेला परे ।
News24 टेलिभिजनमा प्रशारण हुने कार्यक्रम ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गरेको चर्काचर्कीबारे उल्लेख गरिएको छ । उक्त टिभी कार्यक्रमको श्रृंखला २ मार्च २०२३ मा युट्युबमा पोस्ट गरिएको देखिन्छ । उक्त कार्यक्रमको शिर्षक छ- नारायणकाजी परे जनताको घेरामा,पर्यो चर्काचर्की । रेष्टुरेन्टमा बालिका दूरुपयोग ‘स्टिङ अपरेसन’ ।
प्रस्तुत ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मन्त्री नारायणकाजी श्रेष्ठ भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेको र त्यहाँ स्थानीयसँग चर्काचर्की परेको दाबी गरिएको छ । टिभी कार्यक्रममा देखाइएको चर्चाचर्कीको दृश्य र माथि दाबीसहितको सामग्रीमा उल्लेख गरिएको दृश्य एउटै सन्दर्भमा खिचिएको देखिन्छ ।
प्रस्तुत तथ्य फेला परेपछि हामीले यस विषयमा थप जाँच गर्यौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र भक्तपुरका स्थानीयबीच भएको चर्काचर्कीको विषयमा हामीले अन्य वाक्यांश सर्च गर्यौँ । ‘नारायणकाजी चर्काचर्की’ वाक्यांशलाई गुगलमा सर्च गर्दा nepallive मा प्रकाशित एउटा समाचार फेला पर्यो ।

फागुन १८, २०७९ मा प्रकाशित प्रस्तुत समाचारमा भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीय वासिन्दा आक्रोशित भएको जानकारी दिइएको छ ।
मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोली उक्त सडकखण्डको स्थलगत निरीक्षणका लागि पुग्दा स्थानीय र मन्त्रीबीच चर्काचर्की भएको थियो ।
प्रस्तुत सन्दर्भको भिडियोलाई माथि उल्लेखित दाबीसहितको सामग्रीमा भ्रामक तरिकाले प्रस्तुत गरेको पाइयो । उल्लेखित तथ्यबाट के पुष्टि हुन्छ भने मन्त्री नारायणकाजी श्रेष्ठ ‘नाबालिग काण्ड’मा मुछिएको र उनले पीडित ‘बालिकाको ज्यानै लिने धम्की’ दिएको दाबी गर्ने सामग्रीमा जोडिएको भिडियो फरक सन्दर्भको हो ।
भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुगेका बेला खिचिएको भिडियोमा भ्रामक तरिकाले दाबीसहितको थमनेल र अडियो जोडिएको पाइयो । फरक सन्दर्भमा खिचिएको भिडियोमा अर्कै घटना जोड्नुले उल्लेखित दाबीसहितको सामग्रीलाई भ्रामक बनाएको छ ।
News24 Nepal, मार्च २, २०२३
Nepallive, फागुन १८, २०७९
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
November 29, 2025

Aakash Chhetri
October 26, 2025
Newschecker And THIP Media
August 8, 2025