Fact Check
Fact Check: प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई जोडेर भ्रामक दाबी

दाबी: ‘मोदीको शपथमा संसार भरका प्रधानमन्त्री आए पनि मोदीले प्रचण्डलाई मात्रै प्राथमिकता दिएसी अन्तर्राष्ट्रिय मिडिया चकित ! न्युयोर्क टाइम्स लेख्छ प्रचण्ड साच्चै डाइनामिक लिडर रैछ !’
तथ्य: नरेन्द्र मोदीको शपथग्रहण समारोहमा संसारभरीका प्रधानमन्त्री उपस्थित भएको तर मोदीले नेपाली प्रधानमन्त्रीलाई मात्र प्राथमिकता दिएको दाबी भ्रामक छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा संसारभरीका प्रधानमन्त्री आएको तर मोदीले प्रचण्डलाई मात्र प्राथमिकता दिएको दाबी गरिएको छ ।
Chawassai नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देख्न सकिन्छ । साथै उक्त तस्बिरको थमनेलमा लेखिएको छ- ‘मोदीको शपथमा संसार भरका प्रधानमन्त्री आए पनि मोदीले प्रचण्डलाई मात्रै प्राथमिकता दिएसी अन्तर्राष्ट्रिय मिडिया चकित ! न्युयोर्क टाइम्स लेख्छ प्रचण्ड साच्चै डाइनामिक लिडर रैछ !’

नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिएको सन्दर्भमा पोस्ट गरिएको दाबीसहितको तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । मोदीले प्रचण्डलाई मात्र प्राथमिकता दिएको दाबीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
९ जुन २०२४ मा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथग्रहण गरेका छन् । सोही शपथग्रहण समारोहमा सहभागि हुन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली भारतको राजधानी दिल्ली पुगेको थियो ।
शपथग्रहण समारोहपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ताका तस्बिर प्रधानमन्त्री प्रचण्डको सचिवालयले नेपाली संचार माध्यमलाई उपलब्ध गराएको थियो । ती मध्ये एउटा तस्बिरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका प्रधानमन्त्री प्रचण्ड र प्रचण्डपुत्री गंगा दाहाल देखिएका छन् ।
नेपाली संचार माध्यमले प्रकाशित गरेको सोही तस्बिरको ‘क्रप’ गरेर (काटछाँट) गर्दै दाबीसहितको विवरण जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नरेन्द्र मोदीको शपथग्रहण समारोहमा संसारभरीका प्रधानमन्त्री उपस्थित थिएनन् । उक्त समारोहमा स्वदेशी-विदेशी गरी सात हजारभन्दा बढी विशिष्ट पाहुना सहभागी भएको independent.co.uk ले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
साथै शपथग्रहण समारोहमा भारतका सात छिमेकी देशका राष्ट्र प्रमुख र प्रधानमन्त्रीलाई आपमन्त्रित गरिएको थियो । जसमध्ये नेपालका प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथ, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको सहभागिता थियो । थिए ।
यही सन्दर्भमा मोदीको शपथग्रहण समारोहमा संसारभरीका प्रधानमन्त्री आएको तर मोदीले प्रचण्डलाई मात्र प्राथमिकता दिएको दाबी सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै न्युयोर्क टाइम्सले प्रचण्ड साच्चै डाइनामिक लिडर रहेको समाचार प्रकाशित गरेको दाबीसमेत गरिएको छ ।
नरेन्द्र मोदीको शपथग्रहण समारोहको समाचारलाई New York Times ले ‘Modi, Striking a Modest Tone, Is Sworn In for a Third Term’ शिर्षकमा प्रकाशित गरेको छ । तर, नरेन्द्र मोदीको शपथग्रहणसँग जोडेर न्युयोर्क टाइम्सले प्रचण्डलाई डाइनामिक लिडर लेखेेको पाइएन । शपथग्रहण समारोहपछि मोदीले नेपालबाट आएका समकक्षीसहितका पाहुनासँग भेटवार्ता गरेका थिए । सोही सन्दर्भको तस्बिरमा दाबीसहितको विवरण जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
नरेन्द्र मोदीको शपथग्रहण समारोहमा संसारभरीका प्रधानमन्त्री उपस्थित भएको तर मोदीले नेपाली प्रधानमन्त्रीलाई मात्र प्राथमिकता दिएको दाबी भ्रामक छ । साथै उक्त शपथग्रहण समारोहलाई जोडेर न्युयोर्क टाइम्सले प्रचण्डलाई डाइनामिक लिडर लेखेेको पाइएन ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, New York Times
समाचार, independent.co.uk
समाचार, ndtv.com
समाचार, bbc.com/nepali
तस्बिर, gorkhapatraonline.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]