Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

   दाबी: भिपीएनको सहयोगमा टिकटक प्रयोग गरेका डेढ दर्जनभन्दा बढी नेपाली टिकटकरलाई प्रहरीले पक्राउ गरेको । भिपीएनबाट टिकटक चलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको । 
   तथ्य: पूराना र फरक सन्दर्भका सामग्रीलाई तोडमोड गरी भ्रामक दाबीलाई प्रतिबन्धित टिकटकमा फैलाइएको पाइयो ।
भिडियो केन्द्रीत समाजिक संजाल टिकटक नेपालमा प्रतिबन्ध छ । २०८० कार्तिक २७ गते बसेको मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले टिकटक खोल्न नमिल्ने बनाएका छन् । तर, नेपालमा टिकटक प्रविधिकरुपले पूर्णत: बन्द हुन सकेको छैन ।
नेपाल सरकारद्वारा प्रतिबन्धित सामाजिक संजाल टिकटकमा केही दाबीसहितका पोस्टहरुसमेत फेला परेका छन् । devendra नामक टिकटक आइडीमा पोस्ट गरिएको पोस्टमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको दृश्य देख्न सकिन्छ । प्रधानमन्त्री बोलिरहेको भिडियोसँगै थमनेलमा लेखिएको छ- ‘भिपीएनबाट टिकटक चलाएपछि प्रधानमन्त्रीको सम्बोधन, चलाउनुस् तर सरकार दिलाउनुस् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको भिडियोसँगै आवाज पनि सुन्न सकिन्छ र यो अडियोमा प्रचण्डकै जस्तो आवाज सुनिन्छ । उक्त अडियोमा भनिएको छ- ‘टिकटक बन्द गरेको, जनताहरुले भिपीएन भन्ने जन्तुबाट चलाइराख्यारचन, होइन यी जनताहरु हामीभन्दा कति बाठा भएका हुन्, हाम्रो सरकार पनि त्यो भिपीएनबाट चलाइराख्या हो खासमा । अब यिनले टिकटक पनि चलाउन लागे, बन्द गर्न चाहिँ नसकिँदो रच । चलाउनुस्, चलाउनुस् सरकार नढलाउनुस् ।’
भिपीएनबाट प्रतिबन्धित टिकटक चलाएपछि प्रधानमन्त्रीले सम्बोधन गरेको दाबी गर्ने प्रस्तुत पोस्ट व्यापक फैलिएको देखिन्छ । दुई दिनअघि पोस्ट गरिएको यस सामग्रीमा करिब ३० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब २ हजार प्रतिक्रिया आइसकेको उक्त पोस्टलाई २५ समयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ ।
यतिमात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको दाबीसहितको अडियोबाट करिब ४ सय नयाँ भिडियो पुनर्उत्पादन गरिएको छ ।

त्यसैगरी प्रतिबन्धित टिकटकमा अर्को दाबीसहितको पोस्ट फेला परेको छ । kapilkhadka_k.d नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा भिपीएनको सहयोगमा टिकटक प्रयोग गरेका डेढ दर्जनभन्दा बढी नेपाली टिकटकरलाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।
नेपाली नेताहरुको तस्बिर जोडिएको छ । तस्बिरसहितको भिडियोमा समाचार शैलीमा भनिएको छ- भिपीएन युज गरी टिकटक चलाउने केही टिकटकरहरुलाई आज प्रहरीले पक्राउ गरी हिरासतमा लिएका छन्, केही दिनअघि सरकारले बन्द गरेको नियम लागू नगरी भिपीएनबाट टिकटक चलाएपछि डेढ दर्जन टिकटकरलाई आज पक्राउ गरेका छन् ।

एक दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको सामग्रीमा ५ सयभन्दा बढी प्रतिबन्धित टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा ५० भन्दा बढी प्रतिक्रिया आइसकेको उक्त दाबीसहितको सामग्रीलाई करिब ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । फैलावटको यो तथ्यांक आगामी दिनमा झनै व्यापक हुनसक्ने देखिन्छ ।
नेपालमा टिकटक नीतिगत र प्राविधिक रुपमा प्रतिबन्ध भएपछि केही टिकटक प्रयोगकर्ता विरोधमा उत्रिएका छन् । यससँगै विभिन्न प्रविधिको सहयोगमा प्रतिबन्धित टिकटक नेपालमा प्रयोग भइरहेको देखिन्छ । सोही प्रविधिमध्येको एक हो, भर्चुअल प्राइबेट नेटवर्क (भिपीएन) ।
माथि उल्लेखित दाबीसहितका सामग्रीहरूमा भिपीएनसँग सम्बन्धित देखिन्छन् । दाबीसहितको पहिलो पोस्टमा भिपीएनबाट टिकटक चलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको र टिकटक ‘चलाउनुस् तर सरकार नढलाउनुस्’ भनेको दाबी गरिएको छ ।
प्रस्तुत दाबीको जाँचका क्रममा सबैभन्दा पहिले हामीले भिडियोलाई राम्ररी नियाल्यौँ । भिडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेका छन् तर भिडियोको आवाज भने अनि नमिल्दो छ । भिडियोमा एपीवान एचडी टेलिभिजनको लोगोसमेत देख्न सकिन्छ । यही आधारमा हामीले युट्युबमा ‘पुष्पकमल दाहाल’ ‘प्रचण्ड’ ‘AP1’ सर्च गर्च गर्यौँ ।
किवर्ड सर्चको नतिजास्वरुप AP1HD नामक युट्युब च्यानलमा पोस्ट गरिएको सर्ट भिडियो फेला पर्यो । एक वर्षअघि अर्थात् २९ जुलाई २०२२ मा पोस्ट गरिएको उक्त भिडियो टिकटक प्रतिबन्ध र भिपीएनसँग सम्बन्धित छैन । उक्त भिडियोमा माओवादी केन्द्रको अध्यक्षका रुपमा प्रचण्डले ‘सामाजदी केन्द्र’को विषयमा प्रष्टिकरण दिएका छन् ।
फेला परेको प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषणले एक वर्षअघि गरेको भाषणको भिडियोलाई तोडमोड गर्दै भ्रामक तरिकाले प्रतिबन्धित टिकटकमा पोस्ट गरिएको छ । प्रधानमन्त्रीको सम्बोधन भन्दै सामाजिक संजालमा फैलाइएको अडियो प्रधानमन्त्री प्रचण्डसँग सम्बन्धित छैन ।
अर्कोतर्फ दाबीसहितको दोस्रो सामग्रीमा नेपाली नेताहरुको तस्बिर जोडिएको छ । साथै भिपीएनको सहयोगमा टिकटक प्रयोग गरेका डेढ दर्जनभन्दा बढी नेपाली टिकटकरलाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।
दाबीसहितको भिडियोमा जोडिएको थमनेलमा अर्थ सरोकार लेखिएको लोगो देख्न सकिन्छ । यही आधारमा हामीले युट्युबमा ‘Artha Sarokar’ सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Artha Sarokar नामक युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरु फेला परे । जसमध्ये केही दिनअघि पोस्ट गरिएको एउटा भिडियोको शिर्षक छ- ‘टिकटक बन्द, फेसबुक र युट्युब पनि बन्दको तयारी ! टिकटकमा बालेन र रविको मात्र चर्चाले आत्तियो माओवादी?’

फेला परेको यही भिडियोको थमनेललाई प्रयोगगरी डेढ दर्जनभन्दा बढी नेपाली टिकटकर पक्राउ गरेको दाबी गरिएको देखिन्छ । तर, अर्थ सरोकारको भिडियोमा टिकटकर पक्राउ परेको सन्दर्भ उल्लेख गरिएको छैन । फरक सन्दर्भको भिडियो रिपोर्टलाई टिकटकर पक्राउ परेको सन्दर्भसँग जोडिएको पाइयो ।
अर्कोतर्फ भिपीएनको सहयोगमा टिकटक प्रयोग गरेका डेढ दर्जनभन्दा बढी नेपाली टिकटकरलाई प्रहरीले पक्राउ गरेको दाबी गलत छ । यस विषयमा हामीले नेपाल प्रहरी, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतलाई सम्पर्क गर्यौँ । उनले भिपीएन प्रयोग गरेर प्रतिबन्धित टिकटक चलाएकै कारण अहिलेसम्म कसैलाई पक्राउ नगरेको बताए ।
फोन सम्पर्कमा कडायतले न्युजचेकरलाई भने- ‘भिपीएन प्रयोग गरेर प्रतिबन्धित टिकटक चलाएकै कारण कसैलाई पक्राउ गरिएको छैन । तर, भिपीएन गैर कानूनी बाटो भएकाले यसमा हाम्रो निगरानी हुन्छ र यसबाट कसैले अपराध गर्न खोजे पक्राउ गर्न सकिन्छ ।’
प्रस्तुत तथ्यहरुबाट के पुष्टि हुन्छ भने प्रतिबन्धित टिकटकमा फैलाइएका दुबै सामग्री भ्रामक छन् । तथ्यहरुलाई तोडमोड गरी गलत सूचनालाई टिकटकमा फैलाइएको देखिन्छ ।
भिपीएनको सहयोगमा टिकटक प्रयोग गरेका डेढ दर्जनभन्दा बढी नेपाली टिकटकरलाई प्रहरीले पक्राउ गरेको दाबी गलत छ । अर्कोतर्फ भिपीएनबाट टिकटक चलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको र टिकटक ‘चलाउनुस् तर सरकार नढलाउनुस्’ भनेको दाबी भ्रामक छ । पूराना र फरक सन्दर्भका सामग्रीलाई तोडमोड गरी भ्रामक दाबीलाई प्रतिबन्धित टिकटकमा फैलाइएको पाइयो ।
    भिडियो, AP1HD 
    भिडियो, Artha Sarokar 
    केन्द्रीय प्रहरी प्रवक्ता, कुवेर कडायत, नेपाल प्रहरी
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
October 14, 2025

Aakash Chhetri
November 30, 2024

Aakash Chhetri
October 15, 2024