Fact Check
के प्रधान सेनापतिले ‘राजालाई केन्द्रमा राख्नुपर्ने’ अभिव्यक्ति दिएका हुन्?

दाबी: ‘प्रधान सेनापति अशोकराज सिग्देलको अभिव्यक्ति, देश अहिले संवेदनशील अवस्थामा छ, राजालाई केन्द्रमा राख्नुपर्छ !’
तथ्य: हालसालैको सन्दर्भ जोडेर फैलाइएको उक्त भिडियो वास्तवमा जनवरी २०२६ मा पोस्ट गरिएको पुरानो भिडियोको अंश हो । साथै, उपलब्ध प्रमाण र विश्वसनीय स्रोतहरूको आधारमा सिग्देलले संविधानविपरीत हुने गरी ज्ञानेन्द्र शाहलाई केन्द्रमा राख्नुपर्ने अभिव्यक्ति दिएको पुष्टि हुँदैन ।
प्रधान सेनापति अशोकराज सिग्देलसँग सम्बन्धित समाचार क्लिप सामाजिक संजाल संजालमा फैलिरहेको छ । उक्त भिडियोमा ‘देश संवेदनशील अवस्थामा रहेको र राजालाई केन्द्रमा राख्नुपर्ने’ अभिव्यक्ति प्रधान सेनापति अशोकराज सिग्देलले दिएको दाबी गरिएको छ ।
Ganesh.bhusal340 नामक टिकटक आइडीमा समाचारशैलीको भिडियोमा जोडिएको छ । साथै भिडियोमा भनिएको छ- ‘प्रधान सेनापति अशोकराज सिग्देलको अभिव्यक्ति, देश अहिले संवेदनशील अवस्थामा छ, राजालाई केन्द्रमा राख्नुपर्छ !’

७ अप्रिल २०२६ मा पोस्ट गरिएको भिडियोमा १५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै हजारौँले हेरेको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
त्यसैगरी Nepali online khabar 2 नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा सोही दाबीसहितको भिडियो जोडिएको छ ।
५ अप्रिल २०२६ मा पोस्ट गरिएको भिडियोमा ३ हजार ३ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब तीन सयपटक सेयर भइरहेको सामग्रीलाई एक लाखभन्दा बढी फेसबुक प्रयोगकर्ताले हेरिसकेक छन् ।

के प्रधानसेनापति सिग्देलले ‘देश संवेदनशील अवस्थामा रहेको र राजालाई केन्द्रमा राख्नुपर्ने’ अभिव्यक्ति दिएका हुन् त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
जाँचका क्रममा हामीले सबैभन्दा पहिले, ‘प्रधान सेनापति अशोकराज सिग्देल’ ‘देश संवेदनशील अवस्था’ लगायतका वाक्यांश र दाबीसहित पोस्ट गरिएको भिडियोका केही स्क्रिनसटलाई रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप AOne Television नामक फेसबुक पेजमा पोस्ट गरिएको सोहो समाचार भिडियो फेला पर्यो । तर, उक्त भिडियो दाबीसहितको भिडियो जस्तै हालसालै पोस्ट भएको भने होइन ।
२६ जनवरी २०२६ मा पोस्ट गरिएको यही भिडियोको एउटा सानो अंशलाई हालसालै सामाजिक संजालमा फैलाइएको देखिन्छ । पूरा भिडियोमा भनिएको छ-
‘प्रधान सेनापति अशोकराज सिग्देलको अभिव्यक्ति, देश अहिले संवेदनशील अवस्थामा छ, राजालाई केन्द्रमा राख्नुपर्छ ! प्रधान सेनापति अशोकराज सिग्देलले देशको वर्तमान राजनीतिक तथा सुरक्षा अवस्था अत्यन्त संवेदनशील रहेको भन्दै राजा ज्ञानेन्द्र शाहलाई केन्द्रमा राखेर संतुलित राज्य संरचना बनाउनुपर्ने बताएका छन् । उनले शान्ति, स्थिरता र राष्ट्रिय सुरक्षाका लागि यो बेला विकल्प उपयुक्त भएको बताएका छन् । सिग्देलको यो भनाईले राजनीतिक वृत्तमा फेरि चर्चा र विवाद तातेको छ ।’

प्रस्तुत, फेला परेको तथ्यबाट के पुष्टि हुन्छ भने, प्रधान सेनापति अशोकराज सिग्देलको अभिव्यक्ति भन्दै पोस्ट गरिएको दाबीसहितको भिडियो पुरानो हो । करिब चार महिनाअघि नै पोस्ट गरिएको दाबी भिडियोलाई हालसालैको समाचार जसरी सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
यसपछि प्रश्न उठ्छ, के चार महिनाअघि (जनवरी २०२६) प्रधान सेनापति अशोकराज सिग्देलले ‘देश संवेदनशील अवस्थामा रहेको र राजालाई केन्द्रमा राख्नुपर्ने’ अभिव्यक्ति दिएका थिए त? तर, सेनापति सिग्देलले यस्तो खालको सार्वजनिक अभिव्यक्ति दिएको पुष्टि भएन । प्रधान सेनापति अशोकराज सिग्देलले संविधानसँग बाझिने वा त्यसको विपरित हुने कुनैपनि अभिव्यक्ति दिएको जानकारी फेला परेन ।
अर्कोतर्फ यसअघि ९ सेप्टेम्बर २०२५ मा प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै संवैधान अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनताका लागि देश र जनताको रक्षाका लागि नेपाली सेना सक्रिय रहेको प्रष्ट पारेका थिए । उनले त्यो सन्दर्भमा आन्दोलनरत जेनजी समूहहरुलाई वार्तामा आउन आह्वान पनि गरेका थिए ।
यससँगै ७ पुस २०८२ मा प्रकाशित केही लेखहरुमा ‘सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ’ सन्देशहरु दिइएको छ ।
नेपालको संविधानले नेपाली सेनालाई पूर्ण रूपमा नागरिक सर्वोच्चता, निर्वाचित सरकारको अधीन र लोकतान्त्रिक मूल्य-मान्यताप्रति प्रतिबद्ध रहने संस्थाको रूपमा परिभाषित गरेको छ । संविधानको धारा २६७ अनुसार सेनाले राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने, समावेशी चरित्र अपनाउने र राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारको निर्देशनमा परिचालित हुने मर्म बोकेको छ ।

नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको’ भनाई २५ चैत २०८२ मा lokaantar.com ले प्रकाशित गरेको छ ।
त्यस्तै ३ चैत २०८१ मा प्रधानसेनापति अशोकराज सिग्देलको अर्को अभिव्यक्ति सार्वजनिक भएको पाइयो । उनले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुन:परिभाषित गर्नुपर्नेमा जोड दिएका थिए ।
shilapatra.com मा प्रकाशित समाचार अनुसार सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीस्थित दशौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन समारोहमा बोल्दै प्रधानसेनापति अशोकराज सिग्देलले देशको परिस्थितिअनुसार सुरक्षा अवधारणा लागू गर्नु महत्त्वपूर्ण हुने धारणा राखेका थिए ।
नेपाली सेना नेपाल सरकारको नियन्त्रणमा रहने, समावेशी चरित्रको हुने र राजनीतिक रूपमा तटस्थ रहने संवैधानिक व्यवस्था छ । नेपालको संविधान २०७२ को धारा २६७ ले नेपाली सेनासम्बन्धी व्यवस्था गरेको छ, जसअनुसार राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सुरक्षाका लागि एक समावेशी सेना रहनेछ । राष्ट्रपति सेनाको परमाधिपति हुने र मन्त्रिपरिषद्को सिफारिसमा सेना परिचालन हुने संवैधानिक व्यवस्था छ ।
नेपालको संविधान, धारा २६७ नेपाली सेना सम्बन्धी व्यवस्था
(१) नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ ।
(२) राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ ।
(३) नेपाली सेनामा महिला, दलित, आदिवासी, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग तथा पिछडिएको क्षेत्रका नागरिकको प्रवेश समानता र समावेशी सिद्धान्तको आधारमा संघीय कानून बमोजिम सुनिश्चित गरिनेछ।
(४) नेपाल सरकारले नेपाली सेनालाई संघीय कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्नेछ ।
(५) राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रधान सेनापतिको नियुक्ति र पदमुक्ति गर्नेछ ।
(६) नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ । नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महीनाभित्र प्रतिनिधि सभाबाट अनुमोदन हुनु पर्नेछ ।
(७) नेपाली सेना सम्बन्धी अन्य व्यवस्था कानून बमोजिम हुनेछ ।

अर्कोतर्फ नेपालको वर्तमान संविधानले नै राजसंस्थालाई प्रतिस्थापन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित गरेको हो । संविधानले सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गरेको छ भने राष्ट्राध्यक्षको रूपमा राष्ट्रपति रहने व्यवस्था गरेको छ ।
प्रस्तुत तथ्य प्रमाणहरुबाट प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेना संविधानप्रति निष्ठावान् रहेको प्रष्ट पार्दै आएको पुष्टि हुन्छ । तर, उनले संविधानको व्यवस्था विपरित ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई केन्द्रमा राखेर संतुलित राज्य संरचना बनाउनुपर्ने’ अभिव्यक्ति दिएको प्रमाणित भएन । प्रधान सेनापति सिग्देलले राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सेनाको संवैधानिक भूमिका र सुरक्षा चुनौतीबारे धेरै पटक बोलेका छन् । तर ठ्याक्कै ‘देश अहिले संवेदनशील अवस्थामा छ, राजालाई केन्द्रमा राख्नुपर्छ’ जस्तो वाक्यांश कतै बोलेको पाइएन ।
निष्कर्ष
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको नाममा फैलाइएको ‘देश संवेदनशील अवस्थामा छ, राजालाई केन्द्रमा राख्नुपर्छ’ भन्ने अभिव्यक्ति आधिकारिक रुपमा पुष्टि भएन । हालसालैको सन्दर्भ जोडेर फैलाइएको उक्त भिडियो वास्तवमा जनवरी २०२६ मा पोस्ट गरिएको पुरानो भिडियोको अंश हो । साथै, उपलब्ध प्रमाण र विश्वसनीय स्रोतहरूको आधारमा सिग्देलले संविधानविपरीत हुने गरी ज्ञानेन्द्र शाहलाई केन्द्रमा राख्नुपर्ने अभिव्यक्ति दिएको पुष्टि हुँदैन । बरु उनले पटक–पटक नेपाली सेना संविधानप्रति प्रतिबद्ध रहेर सक्रिय रहेको स्पष्ट पार्दै आएको पाइन्छ ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
प्रधान सेनापतिको सम्बोधन, Nepali Army
नेपालको संविधान, lawcommission.gov.np
नेपालको संविधान, election.gov.np
समाचार, gorkhapatraonline.com
समाचार, ratopati.com
समाचार,lokaantar.com
समाचार, prasashan.com
समाचार, shilapatra.com
भिडियो, A-One Television
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


