Fact Check
युएन शान्ति मिशनमा ‘नेपाली सेना’ सम्बन्धी जानकारी यसकारण भ्रामक

दाबी: ‘नेपाली सेना ११८ देशलाई पछाडि पार्दै एक नम्बर बनेको’, ‘विश्वकै ठुलो र शक्तिशाली शान्ति सेना बनेको’ ‘संयुक्त राष्ट्रसंघले इतिहासकै ठुलो सम्मान दिएको’ ।
तथ्य: संयुक्त राष्ट्रसंघले नेपाललाई ‘विश्वकै सबैभन्दा शक्तिशाली सेना’ वा ‘नम्बर एक शान्ति सेना’ भनेर कुनै आधिकारिक घोषणा वा सम्मान दिएको छैन।
नेपाली सेनासँग सम्बन्धित दाबीसहितका पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता पोस्टहरुमा ‘नेपाली सेना ११८ देशलाई पछाडि पार्दै एक नम्बर बनेको’, ‘विश्वकै ठुलो र शक्तिशाली शान्ति सेना बनेको’ ‘संयुक्त राष्ट्रसंघले इतिहासकै ठुलो सम्मान दिएको’ दाबीहरु गरिएको छ ।
Chaaso TV नामक फेसबुक पेजमा नेपाली सेना सम्बन्धी दृश्य र जानकारी पोस्ट गरिएको छ । साथै भिडियोको क्याप्सनमा लेखिएको छ- ‘विश्वका ११८ देशलाई पछि पार्दै नेपाली सेना बन्यो दुनियाँकै नम्बर एक, राष्ट्रसंघ दियो इतिहासकै ठुलो सम्मान ।’

२९ मे २०२६ मा पोस्ट गरिएको भिडियो सामग्रीमा करिब एक लाख फेसबुक प्रयोगकर्ताले लाइक गरिसकेका छन् । पोस्ट भएको एक दिनमै करिब चार हजार पटक सेयर भइसकेको सामग्रीलाई ११ लाखभन्दा बढीले हेरिसकेका छन् ।
त्यस्तै सोही अडियो जोडिएको सामग्री Shreekulgiri नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको छ । २९ मे २०२६ मा पोस्ट गरिएको अडियोमा भनिएको छ- ‘विश्वका ११८ देशलाई पछि पार्दै नेपाली सेना बन्यो दुनियाँकै नम्बर एक, राष्ट्रसङ्घले दियो इतिहासकै ठुलो सम्मान । विश्वकै ठुलो र शक्तिशाली शान्ति सेना नेपालकै । संसारका ११ वटा डेन्जर जोनमा नेपाली सेनाको अप्रेसन ।’
पोस्ट भएको एक दिनमै दाबीसहितको सामग्रीलाई ३१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । प्रस्तुत दाबीसहितको सामग्री टिकटक प्रयोगकर्तामाझ द्रुत गतिमा फैलिरहेको देखिन्छ ।

के ‘नेपाली सेना ११८ देशलाई पछाडि पार्दै एक नम्बर बनेको’, ‘विश्वकै ठुलो र शक्तिशाली शान्ति सेना बनेको’ ‘संयुक्त राष्ट्रसंघले इतिहासकै ठुलो सम्मान दिएको’ दाबीहरुमा कुनै सत्यता छ त? वास्तविकता पत्ता लगाउन यो तथ्यजाँच गरिएको छ ।
तथ्यजाँच/प्रमाणीकरण
सबैभन्दा पहिले, दाबीसहितका भिडियोहरुलाई नियाल्दा संयुक्त राष्ट्रसंघ र शान्ति मिशनबारेमा उल्लेख गरिएको पाइयो । वास्तवमा, नेपालहरुले दशकौँदेखि संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा विश्वभर सेवा गर्दै आएका छन् ।
५ जुन २०२६ मा संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । यही सन्दर्भमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका विभिन्न देशका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले जारी गरेको समाचार अनुसार दुई नेपाली शान्ति सैनिक सुरज लामिछाने र देवीराम जैसीलाई पनि मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदकबाट सम्मान गरिने भएको हो ।
शान्ति मिशनका क्रममा ज्यान गुमाएका दुईजना नेपाली सुरक्षाकर्मीलाई सम्मान गरिने समाचारहरु सार्वजनिक भइरहेका बेला ‘नेपाली सेना ११८ देशलाई पछाडि पार्दै एक नम्बर बनेको’, ‘विश्वकै ठुलो र शक्तिशाली शान्ति सेना बनेको’ ‘संयुक्त राष्ट्रसंघले इतिहासकै ठुलो सम्मान दिएको’ दाबी गर्ने पोस्टहरु सामाजिक संजालमा फैलिरहेका छन् ।
जाँचका क्रममा संयुक्त राष्ट्रसंघको शान्ति मिसनसम्बन्धी आधिकारिक ड्यासबोर्डमा ३१ मार्च २०२६ सम्मको तथ्यांक फेला पर्यो । उक्त तथ्यांकले शान्ति मिशनमा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुकमा नेपाल सबैभन्दा अगाडि देखिन्छ ।

तथ्यांक अनुसार नेपाल ४,३५९ सैनिक तथा प्रहरीसहित शान्ति मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने देशको सूचीमा पहिलो स्थानमा रहेको छ भने भारत, रुवान्डा र बंगलादेश त्यसपछि छन्।
प्रस्तुत तथ्यांकले केवल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका सैनिक तथा प्रहरीको संख्यामा नेपाल शीर्ष योगदानकर्ता रहेको देखाउँछ । यद्यपी, संयुक्त राष्ट्रसंघले नेपाललाई विश्वकै सबैभन्दा शक्तिशाली सेना वा शान्ति सेना घोषणा गरेको कुनै आधिकारिक निर्णय वा सम्मान फेला परेन ।
यस तथ्यांकले ‘नेपाली सेना ११८ देशलाई पछाडि पार्दै एक नम्बर बनेको’, ‘विश्वकै ठुलो र शक्तिशाली शान्ति सेना बनेको’ पुष्टि गर्दैन । अर्कोतर्फ युएनको वेबसाइटमा तथ्यांकसँगै लेखिएको छ-
‘Our military and police personnel are first and foremost members of their own national services and are then seconded to work with the UN. They come from nations large and small, rich and poor. They bring different cultures and experience to the job, but they are united in their determination to foster peace. The data covers peacekeeping operations and some other operations.’
नेपालले सन् १९५८ देखि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागिता जनाउन थालेको हो, जसको सुरुवात नेपाली सेनाबाट भएको थियो । तर, पछिल्लो समय शान्ति मिशनमा नेपाली सेना मात्रै सहभागी हुँदैन । नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू सहभागी हुँदै आएका छन्।
सशस्त्र प्रहरी बल (APF) ले पनि सन् २००२ देखि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागिता सुरु गरेको हो । एपीएफका सुरक्षाकर्मी विभिन्न द्वन्द्वरत देशकामिसनहरूमा युएन पुलिस एडभाइजर, प्रशिक्षक, पर्यवेक्षक आदिका रुपमा रूपमा खटिएका छन् । एपीएफले हालसम्म हजारौँ सुरक्षाकर्मी शान्ति मिसनमा पठाइसकेको जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरी पनि युएन पुलिस अन्तर्गत विभिन्न देशमा परिचालित हुँदै आएको छ । नेपाल प्रहरीले व्यक्तिगत प्रहरी अधिकृत आइपीओ, एफपीयु तथा सुरक्षा विज्ञका रूपमा साइप्रस, कंगो, दक्षिण सुडान लगायतका मिसनहरूमा सहभागिता जनाइरहेको छ ।
फेला परेका तथ्यहरुबाट के पुष्टि हुन्छ भने संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपालले सबैभन्दा धेरै सुरक्षाकर्मी पठाएको भनिँदा त्यसमा केवल नेपाली सेना मात्र नभई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सदस्यहरू पनि समावेश छन् ।
अर्कोतर्फ शान्ति मिशनमा विश्वका ११८ भन्दा बढी देशले योगदान गरिसकेका छन् । कुनै अवधिमा नेपाल जनशक्ति योगदानका आधारमा शीर्ष स्थानमा पुगेको देखिए पनि त्यो शान्ति मिसनमा खटिएका सैनिकको संख्याको सूचक मात्र हो । कुनै सैन्य शक्ति, युद्ध क्षमता वा विश्वकै उत्कृष्ट सेना भएको प्रमाण होइन ।
निष्कर्ष
उपलब्ध आधिकारिक तथ्यांक अनुसार नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने देशमध्ये हाल शीर्ष स्थानमा रहेको देखिन्छ। तर यो तथ्य केवल मिसनमा खटाइएका सैनिक, प्रहरी र सशस्त्र प्रहरीको संख्यामा आधारित हो। संयुक्त राष्ट्रसंघले नेपाललाई ‘विश्वकै सबैभन्दा शक्तिशाली सेना’ वा ‘नम्बर एक शान्ति सेना’ भनेर कुनै आधिकारिक घोषणा वा सम्मान दिएको छैन। त्यसैले सामाजिक संजालमा फैलिरहेको दाबी भ्रामक छ ।
नतिजा: भ्रामक
हाम्रा स्रोतहरू
Troop and police contributors, peacekeeping.un.org
समाचार, bbc.com
समाचार, diplomatnepal.com
समाचार, gorkhapatraonline.com
समाचार, shilapatra.com
समाचार, nepalkhabar.com
समाचार, setopati.com
समाचार, nagariknews.nagariknetwork.com
समाचार, ratopati.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


