दाबी: आगोसँग खतरनाक तालिम गरिरहेका सैनिक ‘नेपाली सेना’ हुन् ।
तथ्य: दाबीसहितको भिडियोमा टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डा देखिन्छ ।
सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ, जसमा सैनिक तालिमको दृश्य देख्न सकिन्छ र यसरी तालिम गर्ने सैनिक नेपाली सेना रहेको दाबी उक्त सामग्रीमा गरिएको छ ।
Rijwanansari नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा केही सैनिकहरू आगोसँग कठिन शारिरिक कसरत गरिरहेका छन् । उक्त भिडियोमा नेपालको राष्ट्रिय झण्डा जोडिएको छ र थमनेलमा नेपाली सेनातर्फ संकेत गरिएको छ । थमनेलमा लेखिएको छ- ‘नेपाली सेना’ ।
पोस्ट गरिएको तीनदिनमै दाबीसहितको सामग्रीमाथि करिब १३ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीमा १ सय भन्दा बढी प्रतिक्रिया आइसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको सामग्रीलाई सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या करिब १ सय पुगिसकेको छ ।

उल्लेखित तथ्यलाई मध्यनगर गर्ने हो भने प्रस्तुत दाबीसहितको फैलावट आगामि दिनमा झनै बढ्ने सम्भावना छ । सैनिकले कठिन शारिरिक कसरत गरिरहेको दृश्य र उक्त सामग्रीमा गरिएको दाबी अत्यन्तै महत्वपूर्ण छ । त्यसैले हामीले प्रस्तुत दाबीमाथि जाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो जुनसुकै स्थान र मुलुकको हुन सक्छ, यसको वास्तविकता पत्ता नलाग्न पनि सक्छ । त्यसैले जाँच सुरु गर्दैगर्दा हामीले केही प्रश्नको उत्तरमा मात्रै केन्द्रीत रहेर यो तथ्यजाँच तयार पार्यौँ । प्रस्तुत दाबीसहितको सामग्रीमा उल्लेखित भिडियोमा देखिएका सैनिक नेपाली सेना रहेको सांकेतिक दाबी गरिएको छ । के भिडियोमा देखिएका सैनिक नेपाली सेना नै हुन् ? भन्ने प्रश्नमा केन्द्रीत रहेर यो तथ्यजाँच गरिएको छ ।
हामीले जाँचलाई अगाडि बढाउँदै गर्दा सबैभन्दा पहिले भिडियोको स्कृनसट गरेर त्यसलाई गुगल लेन्समा सर्च गर्यौँ । पटक-पटक गरिएको सर्चको नतिजास्वरुप केही सामाजिक संजाल पोस्टहरू फेला परे ।
Ali_AlGhraib नामक ट्विटर आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको देखिन्छ । २६ अप्रिल २०२३ मा पोस्ट गरिएको उक्त भिडियोसँगै एउटा क्याप्सनसमेत लेखिएको छ । सो क्याप्सनमा उक्त भिडियो क्याप्सनमा तालिम गरिरहेका सेना रहेको दाबी गरिएको छ । अरवी भाषामा लेखिएको उक्त क्याप्सनको एउटा अंश यस्तो छ- ‘इराकी सेनाहरू उठ्न थाले ।’
माथि उल्लेखित दाबीसहितको सामग्रीमा उक्त भिडियोको दृश्यलाई ‘नेपाली सेना’ भनिएपनि ट्विटर आइडीमा पोस्ट गरिएको भिडियोमा भने उक्त दृश्य इराकी सेनासँग सम्बन्धित रहेको दाबी गरिएको छ । यस तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियो नेपालसँगै विदेशी मुलुकमा पनि फैलिरहेको छ ।
विश्वस्त स्रोतको खोजीमा हामीले जाँचलाई सुरु गरेकै बिन्दूबाट पुन: अगाडि बढायौँ । जसको फलस्वरुप LYRIKAL MASTER नामक युट्युब च्यानलमा पोस्ट गरिएको छोटो भिडियो फेला पर्यो । केही समयअघि मात्रै पोस्ट गरिएको उक्त भिडियोमा पनि सो दृश्य इराकी सेनाकै रहेको दाबी गरिएको छ । तर, यो स्रोतबाट पनि हामी विश्वस्त हुन सकेनौँ ।

जाँचका क्रममा फेला परेका उल्लेखित दुबै सामग्री ‘नेपाली सेना’को दाबीसहित सामाजिक संजाल पोस्ट गरिएको सामग्रीभन्दा अघि नै पोस्ट गरिएको पाइयो । यसबाट उक्त दृश्य नेपाली सेनाको हुन नसक्ने आँकलन गर्न सकिन्छ । तर, पुष्टि भने हुन सक्दैन । यही क्रममा हामीले उक्त भिडियोलाई पुन: एकपटक नियाल्यौँ । जसको फलस्वरुप एउटा संकेत फेला पर्यो ।
भिडियोको बिचतिर एउटा दृश्य देख्न सकिन्छ, जसमा सैनिकका बिच तीनवटा झण्डाहरू छन् । देखिएका तीवटा ती झण्डाहरू मध्ये पहिलो झण्डामा माथि हरियो, तल कालो रंग पोतिएको छ र बिचमा सेतो रंगमा तीनवटा तारा देख्न सकिन्छ । त्यस्तै अन्तिम झण्डामा पनि त्यस्तै माथि हरियो, तल कालो रंग पोतिएको छ र बिचको सेतो रंगमा रहेका ताराहरू अस्पष्ट तवरले देखिएका छन् । त्यस्तै बिचमा रहेको झण्डा रातो छ र त्यहाँ रहेको चिन्ह अस्पष्ट छ ।

भिडियोमै देखिएको संकेतका आधारमा हामीले अरवी मुलुक र त्यहाँका सेनाका झण्डाहरू एक-एक गर्दै नियाल्न थाल्यौँ । फलस्वरुप हामीले सिरियाको पूरानो झण्डा फेला पार्यौँ । वर्तमान समयमा सिरियाको राष्ट्रिय झण्डा फरक भएपनि सिरियाको पूरानो झण्डाबारे हामीले जाँच गर्यौँ ।
सिरियाली गणतन्त्रको प्रतिकका रुपमा माथि उल्लेखित झण्डालाई सन् १९३० देखि सन् २०८० सम्म आधिकारिक रुपमा लागु गरिएको थियो । तर, वर्तमान समय सिरियामा चलिरहेको गृहयुद्धमा विपक्षीले सोही झण्डालाई प्रयोग गरिरहेको तथ्य flagmakers.co.uk नामक वेबसाइटमा उल्लेख गरिएको छ ।
पूरानो झण्डालाई केही सिरियाली बिद्रोहीले प्रयोग गर्ने गरेको तथ्य फेला परेपछि हामीले जाँचलाई अगाडि बढायौँ । यो जाँचमा हामीले झण्डाको विषयलाई छाडेर त्यहाँका बिद्रोहीको बारेमा चासो दियौँ । किवर्ड सर्चका क्रममा हाम्रो नजर Financial Times मा प्रकाशित एउटा लेखमा पर्यो ।
२५ जुलाई २०२२ मा प्रकाशित उक्त लेखले उत्तरी सिरियामा बढिरेहको बिद्रोहीको भूमिकाबारे जानकारी दिएको छ । उक्त लेखमा राखिएको कभर फोटोमा एउटा रातो झण्डासमेत देखिएको छ । उक्त रातो झण्डामा इस्लामको प्रतीक अथवा तारासहितको अर्धचन्द्राकार चिन्ह देख्न सकिन्छ । फेला परेका तथ्यका आधारमा हामीले ‘Turkey-backed Syrian fighter flag’ भन्ने वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप हामीले यस्ता तस्बिर फेला पार्यौँ :

सिरिया-टर्की समस्या तथा गृहयुद्धको सन्दर्भलाई ध्यान नदिएर अब हामी दाबीसहितको सामग्रीमा देखिने भिडियोमै फर्कियौँ । उक्त भिडियोमा देखिएका झण्डा र टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डा उस्तै देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियोमा देखिएको झण्डा र स्रोतमा फेला परेको झण्डा एउटै हो । झण्डा उही भए भिडियोमा देखिएको दृश्यको सन्दर्भ पनि सिरियातिरकै हुनसक्छ । तर, घटनाको मूल सन्दर्भ हामीले फेला पार्न सकेनौँ ।

सुरुवातमै भनेजस्तो हामीले यो जाँच नेपालमै केन्द्रीत रहेर गरेका छौँ । टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डाबाट के पुष्टि हुन्छ भने उक्त दृश्य नेपाली सेनाको होइन र उक्त भिडियोलाई भ्रामक तरिकाले नेपाली सेनासँग जोडिएको पाइयो ।
निष्कर्ष
नेपाली सेना भन्दै सामाजिक संजालमा फैलाइएको भिडियोमा टर्की समर्थित सिरियाली लडाकुहरुले प्रयोग गर्ने झण्डा देखिएको छ । नेपालसँग सम्बन्धित नै नरहेको भिडियोलाई ‘नेपाली सेना’को दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Financial Times
Flagmakers.co.uk
apnews.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co