दाबी: युक्रेनका सेनापतिले नेपाली सेनासँग सहयोग मागेपछि नेपाली सेनाको दोस्रो बटालियन युक्रेन जान लागेको दाबी ।
तथ्य: नेपाली सेना युएन शान्ति मिशनका लागि साउथ सुडान जान लागेको पूरानो दृश्यलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइयो ।
नेपाली सेनासँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा युक्रेनका सेनापतिले नेपाली सेनासँग सहयोग मागेको एवं नेपाली सेनाको दोस्रो बटालियन युक्रेन जान लागेको दाबी गरिएको छ ।
खेम सुर्खेती नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाली सेनाका अफिसर तथा जवानहरुले उडानको प्रतिक्षा गरिरहेको दृश्य जोडिएको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘युक्रेनका सेनापतिले नेपाली आर्मीलाई मद्दत गर्न भनेपछि फेरि अर्को बटालियन जाँदै, शुभयात्रा नेपाली सेना हजुरको यात्रा सफल होस् ।’
प्रस्तुत दाबीसहितको पोस्टमा दुई हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब सय प्रतिक्रिया आएको दाबीसहितको भिडियोलाई ६० भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

रुस-युक्रेन युद्ध चलिरहेका बेला नेपाली सेनालाई जोड्दै पोस्ट गरिएको दाबीसहितको सामग्रीमा अत्यन्तै संवेदनशील देखिन्छ । प्रस्तुत दाबीसहितको भिडियोको मूल सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणिकरण
रुस-युक्रेनबीच भिषण युद्ध अहिलेसम्म जारी छ । सोही युद्धका लागि नेपाली नागरिक पनि रुसी सेनामा भर्ती भइरहेको तथ्य सार्वजनिक भइरहेको छ । केही समयअघि रुसी सेनामा आफ्ना नागरिकको भर्ती रोक्न आग्रह गर्दै युक्रेनले युद्धबन्दी नेपाली नागरिकलाई सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरिएको भिडियोमा पक्राउ परेका नेपाली नागरिकले टिकटकमा भ्रामक भिडियो हेरेर आफूहरु रुसी सेनामा भर्ती भएको बताएका छन् । रुस-युक्रेनमा नेपाली नागरिक पनि संलग्न भइरहेको सन्दर्भमा युक्रेनका सेनापतिले नेपाली सेनासँग सहयोग मागेको एवं नेपाली सेनाको दोस्रो बटालियन युक्रेन जान लागेको दाबी सामाजिक संजालमा फैलाइएको छ ।
दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोको सन्दर्भ जाँच गर्ने क्रममा हामीले Vijay Lama नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पार्यौँ । संयुक्त राष्ट्र चार्टर्ड विमानबाट नेपाली सेनाको टोली दक्षिण सुडानको जुबातर्फ प्रस्थान गर्न लाग्दा उक्त भिडियो खिचिएको थियो ।
तीन वर्षअघि अर्थात् २३ अगस्ट २०२० मा पोस्ट गरिएको उक्त भिडियोको शिर्षक छ- ‘United Nation chartered Flight for Nepal Army Peace Keeping Force to Juba (South Sudan)’ ।
फेला परेको भिडियोको एउटा अंशलाई दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । नेपाल एयरलाइन्सको विमानमा चढ्न लागेका नेपाली सेना युक्रेन होइन, उनीहरू युएन शान्ति मिशनका लागि साउथ सुडान जान लागेका थिए ।
नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामाले उक्त भिडियो अगस्ट २०२० मा आफ्नो ब्लगको लागि छायांकन गरेका थिए । सोही भिडियोको सानो अंशलाई ‘युक्रेनका सेनापतिले नेपाली सेनासँग सहयोग मागेपछि नेपाली सेनाको बटालियन युक्रेन उड्न लागेको’ दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष
युक्रेनका सेनापतिले नेपाली सेनासँग सहयोग मागेपछि नेपाली सेनाको दोस्रो बटालियन युक्रेन जान लागेको दाबीसहित सामाजिक संजालमा फैलाइएको दृश्य भ्रामक छ । सरकारले नेपाली सेनालाई युक्रेन पठाउने निर्णयसमेत नगरेको सन्दर्भमा फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
भिडियो, Vijay Lama
समाचार, bbc.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]