दाबी: नेपाली सेनाको वीरता इंगित गर्दै एउटा भिडियो पोस्ट गरिएको छ र उनीहरू गोली खान पनि तयार रहेको दाबी गरिएको छ ।
तथ्य: सामाजिक संजालमा फैलाइएको भिडियो नेपाली सेनाको प्रदर्शन होइन, कम्बोडियन सेनाको पूरानो भिडियोलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा सेनासँग सम्बन्धित एउटा सामग्री फेला परेको छ । उक्त सामग्रीमा नेपाली सेनाको वीरता इंगित गर्दै एउटा भिडियो पोस्ट गरिएको छ र उनीहरू गोली खान पनि तयार गरेको जानकारी दिइएको छ ।
LAHURE LOVERS नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा भिडियो देख्न सकिन्छ । उक्त भिडियोमा सेनाले खतरनाक आर्सल आर्ट प्रदर्शन गरिरहेका छन् । सोही भिडियोको थमनेलमा नेपालको राष्ट्रिय झण्डका थुप्रै तस्बिरहरू राखिएको छ । सोही थमनेलमा लेखिएको छ- ‘आर्मी (नेपालको एउटा झण्डा) नेपाली, छातीमा बन्दुकको गोली खान पनि तयार छन् ।’

भिडियोमा देखिएका मानिसहरुलाई नेपाली सेना जसरी प्रस्तुत गरिएको सामग्रीमा पोस्ट भएको करिब एक साता मात्रै भएको छ । पोस्ट भएको छ दिनमै ५५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब आठ सय टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको सामग्रीलाई करिब तीन सयले सेयर गरिसकेका छन् ।
नेपाली सेनालाई इंगित गर्दै पोस्ट गरिएको भिडियो र भिडियोमा देखिएको खतरनाक आर्सल आर्ट प्रदर्शनको दृश्य सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । उक्त फैलावटलाई मध्यनजर गर्दै हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
नेपाली सेनाको वीरता प्रदर्शित गर्न फैलाइएको भिडियो सामग्रीको जाँच भिडियोबाटै सुरु गर्नुपर्ने देखिन्छ । त्यसैले हामीले सबैभन्दा पहिले भिडियोको वास्तविक स्रोत पत्ता लगाउने कोशिस गर्यौँ । यसका लागि सबैभन्दा पहिले हामीले उक्त भिडियोको स्कृनसट लिएर गुगल लेन्समा सर्च गर्यौँ ।
सर्चको फलस्वरुप सामाजिक संजालमा थ्रुप्रै भिडियो अंशहरू फेला परे । सामाजिक संजालमा पोस्ट गिरिएका ती भिडियो अंशहरुमा उक्त भिडियोलाई फरक-फरक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । फेसबुक टिकटक लगायतका सामाजिक संजालमा गरिएका फरक-फरक पोस्टमा उक्त भिडियोलाई भारत, बंगलादेश, चीन, इन्डोनेशिया, भेतनामका सेनाको रहेको दाबी गरिएको छ । तर, यी सबै पोस्टहरू विश्वसनीय देखिएनन् ।
भिडियोमा देखिएको दृश्य फरक-फरक देशका आर्मीको प्रदर्शन रहेको दाबीले उल्लेखित सामग्रीलाई झनै बल्झायो । हामीले थप स्कृनसट लिएर पुन: गुगल लेन्समा सर्च गर्यौँ । जसको नतिजास्वरुप Sakklar SK नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो ।
सोही भिडियोका अंशहरु विभिन्न दाबीका साथ सामाजिक संजालमा फैलाइएको तथ्य यसअघि नै हामीले फेला पारिसकेका थियौँ, त्यसैले हामी यस भिडियोको वास्तविकतामा पक्का भएनौँ । तर, यो पोस्ट अन्य पोस्टहरूभन्दा निकै पहिले नै पोस्ट गरिएको देखिन्छ । दुई वर्षअघि अर्थात् १७ डिसेम्बर २०२० मा पोस्ट गरिएको उक्त भिडियो कम्बोडियन सेनाको रहेको जानकारी दिइएको छ ।
प्रस्तुत भिडियोको विश्वसनीयतामा पक्का नभएकाले हामीले जाँचलाई पुन: अगाडि बढायौँ । यसका लागि हामीले उक्त युट्युब च्यानलमा दिइएको विवरणलाई जाँच गर्यौँ । उक्त युट्युब च्यानलमा एउटा इमेल आइडी (phonsamphos081@gmail.com) फेला पर्यो । भिडियोको वास्तविकता थाहा पाउँन हामीले उक्त इमेलमा सम्पर्क गर्यौँ । इमेलमार्फत् प्राप्त जानकारी अनुसार उक्त भिडियो कम्बोडियन सेना सेनाकै हो ।
हामीले इमेल गरेपछि त्यसको जवाफ दिने व्यक्ति र Sakklar SK नामक युट्युब च्यानल संचालन गर्ने व्यक्ति कम्बोडियनका भिडियोग्राफर तथा फिल्म मेकर रहेको जानकारी हामीलाई इमेलमै प्राप्त भएको छ । उक्त इमेलमा आएको जानकारी अनुसार दाबीसहितको सामग्रीमा देखिने दृश्य कम्बोडियन सेनाको कमान्डो ९११ को प्रदर्शन हो ।
हामीले गरेको सम्पर्क र जाँचबाट दाबीसहितको सामग्रीमा देखिएको दृश्य नेपाली सेनाको नरहेको प्रमाणित भएको छ । हामीलाई प्राप्त विवरण अनुसार उक्त दृश्य कम्बोडियन सेनाको प्रदर्शन हो । यस दृश्यलाई नेपाली सेनासँग जोडेर उनीहरूको वीरताबारे बखान गर्नुले भ्रामक सन्देश दिएको छ ।
निष्कर्ष
नेपाली सेनाको वीरतालाई इंगित गर्दै सामाजिक संजालमा फैलाइएको भिडियो नेपाली सेनाको प्रदर्शन होइन । कम्बोडियन सेनाले प्रदर्शन गरेको मार्सल आर्टको दृश्यलाई भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Nepal Army
Sakklar SK
Phon Samphos
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co