दाबी: सुनौली नाका सधैँका लागि बन्द गरिएपछि विराटनगर जोगबनीको रानी नाका पनि सधैँका लागि बन्द गरियो । नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भयो । अब छिट्टै लागू
हुने देखियो भारतीयलाई नेपाल प्रवेश गर्न पार्सपोर्ट र भिषा सिस्टम…।
तथ्य: नेपाल-भारतको खुला सिमाना सधैँका लागि बन्द गरिएको दाबी भ्रामक छ । नेपाली बजारलाई चलायमान बनाउन राजश्व संकलनमा कडाई गरिएको सन्दर्भ र यस विषयमा संचार माध्यमले
समाचारलाई तोडमोड गर्दै वाचन भ्रामक भिडियो तयार पारिएको देखियो ।
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द गरिएको दाबी गरिएको छ ।
Nepali Parivesh नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा केही भिडियो क्लिपहरू देख्न सकिन्छ । दाबीसँगै जोडिएका भिडियोमध्ये नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको टोलीबीच वादविवाद चलिरहेको दृश्य महत्वपूर्ण छ ।
भिडियोसहितको सामग्रीमा एउटा थमनेल पनि जोडिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘सुखीको खबर ! नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द ।’
साथै भिडियोमा समाचार शैलीको अडियो पनि सुन्न सकिन्छ । उक्त अडियोको सुरुवातमा भनिएको छ- ‘सुनौली नाका सधैँका लागि बन्द गरिएपछि विराटनगर जोगबनीको रानी नाका पनि सधैँका लागि बन्द गरियो । नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भयो । अब छिट्टै लागू हुने देखियो भारतीयलाई नेपाल प्रवेश गर्न पार्सपोर्ट र भिषा सिस्टम…।’

पाँच दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा २३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै २३ सयभन्दा प्रतिक्रिया आइसकेको उक्त सामग्रीलाई साढे सात सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
उल्लेखित तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्री सामाजिक संजालमा ब्यापक फैलिरहेको छ । पोस्ट भएको छोटो समयमै व्यापक फैलिएको उक्त सामग्री आगामी दिनमा अझ धेरै फैलिनसक्ने अनुमान गर्न सकिन्छ । त्यसैले नेपाल-भारत खुला सीमा सधैँका लागि बन्द भएको संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
हालै पोस्ट भएको माथि उल्लेखित भिडियोसहितको सामग्रीमा नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द भएको दाबी गरिएको छ । साथै उक्त सामग्रीमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको टोलीबीच वादविवाद चलिरहेको दृश्य पनि देख्न सकिन्छ ।
जाँचका क्रममा हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीको मूल अंश पत्ता लगाउने कोशिस गर्यौँ । माथि उल्लेखित भिडियोमा ‘नेपाली परिवेश’ लेखिएको एउटा लोगो र वाटरमार्क पनि देख्न सकिन्छ । सोही लोगो र वाटरमार्कलाई मध्यनजर गर्दै हामीले ‘खुला सीमा बन्द’ ‘Nepali Parivesh’ वाक्यांशलाई युट्युबमा सर्च सर्यौँ ।
सर्चको नतिजास्वरुप Nepali Parivesh नामक युट्युब च्यानलमा पोस्ट गरिएको मूल भिडियो फेला पर्यो । पाँच दिनअघि अर्थात् १९ जुलाई २०२३ मा पोस्ट गरिएको भिडियो नै दाबीसहितको सामग्रीको मूल अंश हो ।
यस युट्युब च्यानलमा पोस्ट गरिएको दाबी विश्वसनीय नलागेपछि हामी पुन: जाँचमै केन्द्रीत भयौँ । हामीले उल्लेखित दाबीसहितको भिडियोमा बताइएका सूचनाहरूमा ध्यान दियौँ । जसमा एउटा दृष्टान्त पेश गरिएको छ र उक्त दृष्टान्तमा भनिएको छ-
‘मोरङको कटहरी गाउँपालिका–५ की गीता यादव सोमबार दिउँसो सीमावर्ती भारतीय बजार जोगवनी पुगेर २ किलो धनियाँ, सरफ र एउटा साडी लिएर घर फर्कदै गर्दा रानी नाकामा सशस्त्र प्रहरी बलले रोक्यो । झोला देखाएपछि प्रहरीले उनलाई भन्सार तिर्न भन्दै भन्सार कार्यालयको काउन्टरमा पठायो ।’
प्रस्तुत दृष्टान्तबारे खोजविन गर्दा अनलाइन खबरमा प्रकाशित एउटा समाचार फेला पर्यो । १ साउन २०८० मा प्रकाशित उक्त समाचारलाई दाबीसहितको सामग्रीमा हुबहु बाचन गरिएको पाइयो । तर, Onlinekhabar मा प्रकाशित समाचार नेपाल-भारतको खुला सिमाना सधैँका लागि बन्द भएको दाबीसँग सम्बन्धित छैन ।
विराटनगर आसपासका नाकामा भन्सार कार्यालयले कडाइ गरेपछि प्रस्तुत समाचार प्रकाशित गरिएको थियो । जोगबनीमा किनमेल गर्नेहरुका कारण विराटनगरको बजार प्रभावित भएपछि विराटनगर महानगरपालिकाले भन्सार र सुरक्षा निकायसँग समन्वय गरेर साउन १ गतेबाट लागु हुनेगरी भन्सार नाकामा कडाइ गर्ने सहमति गरेको र सोही अनुरुप अगाडि बढेको जानकारी समाचारमा उल्लेख छ ।

यही समाचार वाचन गर्दै तथ्यहरूलाई तोडमोड गरी भ्रामक दाबीसहितको सामग्री तयार पारीएको पाइयो । सोही सामग्री अहिले सामाजिक संजालमा फैलिरहेको छ ।
अर्कोतर्फ दाबीसहितको भिडियोमा रुपन्देहीको सुनौली नाका पनि सधैँका लागि बन्द गरिएको दाबी गरिएको छ । तर, यो दाबीको तथ्य पनि माथिकै तथ्यसँग मिल्दोजुल्दो छ ।
नेपाली उपभोक्तालाई लक्षित गरेर भारतको सीमावर्ती बजारमा खोलिएका पसलहरू भन्सारमा गरिएको कडाइले सुनसान बन्दै गएका छन् । अर्कोतर्फ एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियमले राजश्व वृद्धि मात्रै नभएर नेपाली बजारमा उपभोक्ताको चहलपहल बढेको छ । यही सूचनालाई Nepalpress समाचारका रुपमा प्रकाशित गरेको थियो ।
१३ असार २०८० मा प्रकाशित सोही समाचारको सूचनालाई माथि उल्लेखित भिडियोमा वाचन गरिएको पाइयो । समाचारमा उल्लेखित अंशलाई तोडमोड गर्दै वाचन गरी तयार पारिएको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
समाचारमा उल्लेखित ‘भन्सार नीति कार्यान्वयन नगराउन भारतीय व्यापारीहरूले नेपालका लागि भारतीय राजदूतमार्फत नेपाल सरकारलाई लबिङ गरिरहेका छन् भने भारतीय नेताहरूमार्फत खुलाउन पहल गरिरहेका छन्’ भन्ने सूचनालाई तोडमोड गरिएको देखिन्छ ।
नेपाली बजारलाई चलायमान बनाउन राजश्व संकलनमा कडाई गरिएको र यस विषयमा संचार माध्यमले समाचार लेखेको देखिन्छ । सोही समाचारलाई वाचन गरी तयार पारिएको भिडियोलाई सामाजिक संजालमा फैलाइएको पाइयो । उक्त भडियोमा तथ्यलाई तोडमोड गरि भ्रामक तरिकाले ‘नेपाल-भारतको खुला सिमाना अब सधैँका लागि बन्द’ भएको दाबी गरिएको छ ।

अर्कोतर्फ दाबीसहितको भिडियोमा नेपाल सशस्त्र प्रहरी बल (एपीएफ), भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीको टोलीबीच वादविवाद चलिरहेको दृश्यको देख्न सकिन्छ । उक्त भिडियोको वास्तविकता पत्ता लगाउन हामीले युट्युबमा किवर्ड सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप SATYA TATHYA (सत्य तथ्य) नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । चार वर्षअघि अर्थात् १ सेप्टेम्बर २०१९ मा पोस्ट गरिएको उक्त भिडियो दाबीसहितको सामग्रीमा जोडिएको दृश्यको मूल रुप हो । भिडियोसँगै पोस्ट गरिएको शीर्षकमा नेपालको सुस्ता क्षेत्रमा भारतले बाटाे बनाएपछि शसस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)बीच वादविवाद भएको जानकारी दिइएको छ ।
प्रस्तुत भिडियो सुस्ताकै हो भन्ने थप प्रमाणहरु फेला फेला पर्न सकेनन् । तर, युट्युबबाट के पुष्टि हुन्छ भने उक्त भिडियो चार वर्ष पूरानो नै हो । त्यसैले पूरानो भिडियोलाई वर्तमान सन्दर्भसँग जोडेर भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।
निष्कर्ष :
नेपाल-भारतको खुला सिमाना सधैँका लागि बन्द गरिएको दाबी भ्रामक छ । नेपाली बजारलाई चलायमान बनाउन राजश्व संकलनमा कडाई गरिएको सन्दर्भ र यस विषयमा संचार माध्यमले समाचारलाई तोडमोड गर्दै वाचन भ्रामक भिडियो तयार पारिएको देखियो । साथै फरक सन्दर्भका पुराना भिडियोहरूलाई पनि भ्रामक तरिकाले दाबीसहितको सामग्रीमा जोडिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Onlinekhabar
Nepalpress
SATYA TATHYA (सत्य तथ्य)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]