Wednesday, May 14, 2025

Fact Check

पूराना भिडियोमा भ्रामक दाबी, खोकनाको झडपलाई भनियो नेपाल-भारत ‘सीमा विवाद’

Written By Aakash Chhetri
Jul 22, 2022
banner_image

Claim

image

Fact

image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा दाबीसहितको सामाग्री फेला परेको छ । उक्त दाबीसहितको भिडियोमा भारतीय प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँगै नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरी देखिएका छन् । नेपाल-भारत सीमा भनिएको सो स्थानमा नेपाल र भारतीय पक्षबीच झडप भइरहेकोसमेत भिडियोमा देख्न सकिन्छ ।

Reshurajesh5 नामक टिकटक आइडीमा २ दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीमा नेपाल-भारत सीमामा विवाद भएको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘नेपाल-भारत सीमामा घनघोर विवाद, ३ जना जवान घाइते ।’ 

दाबीसहितको प्रस्तुत सामग्री पोस्ट भएको २ दिनमै २४ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै उक्त सामग्रीमा कमेन्ट गर्ने प्रयोगकर्ताको संख्या ४८ छ भने दाबीसहितको सामग्रीलाई ६४ प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

तथ्यजाँच/प्रमाणीकरण

खुला सीमा लगायतका कारण नेपाल-भारतबीच समय समयमा सीमा विवाद देखापर्ने गर्छ । यही तथ्यलाई आधार बनाउँदै हामीले प्रस्तुत दाबीसहितको सामग्रीमाथि तथ्यजाँच सुरु गर्‍यौँ । सबैभन्दा पहिले हामीले टिकटकमा राखिएको भिडियोको मूल अंशको खोजी गर्नतिर लाग्यौँ ।

युट्युबमा ‘नेपाल-भारत सीमा विवाद’ वाक्यांक सर्च गर्दा कयौँ भिडियोहरू देखा परे । जसमध्येको एउटा भिडियो माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको मूल अंश हो । Mero Pokhara Tv नामक युट्युब च्यानलमा १९ जुलाई २०२२ मा पोस्ट गरिएको उक्त सामग्रीमा फरक-फरक दृश्यहरू जोडिएको देखिन्छ । उक्त सामग्रीको शीर्षक छ- ‘नेपाल भारत सिमानामा गोलि चल्यो! भारतीय आक्रमणकारी को मृत्यु ! भयो यसरी भागाभाग !’  

पूराना भिडियो र घटनाहरूलाई छाँटकाँट गरेर सो युट्युब च्यानलले सामग्री तयार पारेको र यही सामग्रीको एउटा अंशमा दाबीसहितको थमनेल राखेर टिकटकमा पोस्ट गरिएको देखिन्छ ।  

मूल सामग्री पत्ता लागे पनि हामी उक्त सामग्रीबाट विश्वस्त भएनौँ । टिकटकमा देखाइएको भिडियो वास्तवमै कहाँको हो ? त्यहाँ कस्तो खालको घटना भएको थियो ? भन्ने प्रश्नको उत्तर जाँच हामीले भिडियोको वास्तविकता पत्ता लगाउनतिर लाग्यौँ । हामीले पटक-पटक फरक-फरक किवर्डहरूलाई युट्युब लगायतका सामाजिक संजालमा सर्च गर्‍यौँ ।

धेरै समयको खोजीपछि पनि सही नतिजा भेटिएन । हामीले फेरि अर्कोपटक दाबीसहितको टिकटक भिडियोको मूल अंश अर्थात् माथि उल्लेखित युट्युब भिडियो नियाल्न थाल्यौँ । फलस्वरुप हामीले एउटा संकेत भेट्टायौँ । भिडियोको देब्रेतिरको माथिपट्टी कुनामा एउटा कुनै मिडियाको लोगोजस्तो देखिने एउटा अस्पस्ट आधा अक्षर देखियो । उक्त लोगो सेतोपाटीको हुनसक्ने अनुमान हाम्रो थियो ।

अनुमानको आधारमा हामीले तुरुन्तै युट्युबमा ‘झडप setopati’ झडप सेतोपाटी किवर्ड सर्च गर्‍यौँ । जसको नतिजाले हामीलाई मूल भिडियोसम्म पुर्‍यायो । Setopati नामक युट्युब च्यानलमा ४ जुलाई २०२० मा पोस्ट गरिएको उक्त भिडियोको नेपाल-भारत सीमा विवादको होइन । काठमाडौं-तराई फास्ट ट्र्याक सडक निर्माणका क्रममा ललितपुरस्थित खोकनामा नेपाल प्रहरी र स्थानीयबीच भएको झडपको भिडियो हो । प्रस्तुत भिडियोको शीर्षक छ- ‘काठमाडौं-तराई फास्ट ट्र्याक सडक निर्माण विवाद : खोकनामा झडप’ ।   

ललितपुरको खोकनामा स्थानीय र प्रहरीबीच भएको झडपको दृश्यलाई नेपाल-भारत सीमा विवादसँग जोडेर यसलाई भ्रामक तुल्याइएको छ । यसबाट के प्रष्ट हुन्छ भने माथिको दाबीसहितको सामग्रीमा फरक-फरक स्थानका भिडियोहरूलाई छाँटकाँट गरेर भ्रामक सामग्री उत्पादन गरिएको छ । 

प्रस्तुत तथ्य फेला परेपछि हामी दाबीसहितको सामग्रीमा राखिएको अर्को दृश्यको वास्तविकता खोजी गर्ने काममा जुट्यौँ । जसका लागि हामीले सीमा विवाद भइरहने स्थानलाई जोडेर किवर्ड सर्च गर्‍यौँ । यही क्रममा युट्युबमा ‘nepal-india border issue parsa’ सर्च गर्दा मूल भिडियो पत्ता लाग्यो ।

Thori Online TV नामक युट्युब च्यानलमा २९ मे २०२० मा  उक्त भिडियो पोस्ट गरिएको छ । उक्त युट्युब च्यानलका अनुसार नेपाली भूभागमा सडक बनाउँदा भारतीय पक्षले हस्तक्षेप गरेपछि उक्त विवाद भएको थियो । तर, दाबीसहितको सामग्रीमा भनेजस्तो कुनै पनि घनघोर घटना घटेको थिएन ।   

यस तथ्यबाट के प्रष्ट हुन्छ भने दुई वर्ष पूरानो भिडियोलाई वर्तमान सन्दर्भ बनाएर भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । 

निष्कर्ष :

पूराना र फरक सन्दर्भका भिडियोलाई वर्तमान सन्दर्भ बनाएर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो । सामाजिक संजालमा फैलाइएको दाबी र सामग्रीमा जोडिएको भिडियोको वास्तविक विवरण एक आपसमा मिल्दैनन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Setopati

Thori Online TV

Mero Pokhara Tv 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage