Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
एमसिसीलाई नेपाली सेना जोडेर तयार पारिएको एउटा सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको उक्त सामग्रीमा प्रधानसेनापतिले कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी दिएको दाबी गरिएको छ ।
शनिबार #NepalSamachar नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोको क्याप्सनमा ‘भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने प्रधानसेनापतीको चेतावनी’ भन्ने वाक्यांश राखिएको छ । त्यस्तै भिडियोको थमनेलमा पनि सोही आक्रमक दाबी लेख्दै ‘२०७८\१०\२२’को मिति राखिएको देखिन्छ ।
भिडियोमा जोडिएको अडियोमा पनि क्याप्सन र थमनेलकै ब्यहोराको दाबी छ । समाचार शैलीको अडियोमा भनिएको छ,‘भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने प्रधानसेनापतीको चेतावनी, देश संकटमा परे म्यानमारकै कदम चाल्ने दाबी ।’
८ सेकेन्टको उक्त टिकटक भिडियो पोस्ट भएको २ दिनमै सामाजिक संजालमा आगोसरी फैलिएको देखिन्छ । उक्त भिडियोमा साढे ५१ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १७ सयभन्दा बढी प्रयोगकर्ताले कमेन्ट गरिसकेका छन् । २ दिनमा भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या साढे १८ सयभन्दा बढी देखिन्छ ।
गम्भीर दाबीसहितको उक्त टिकटक भिडियोको अडियोबाट थुप्रै भिडियोहरू पुन:निर्माणसमेत भएका छन् । यो तथ्यजाँच तयार पारिरहँदा उक्त अडियोबाट ६९ वटा थप भिडियोहरू पुन:निर्माण भइसकेको पाइयो । हेर्नुहोस् अडियोबाट पुन:निर्मित भिडियोहरू :
मुलुकको विदेश सम्बन्धसँग सम्बन्धित मुद्धामा नेपाली सेनालाई जोडेर यो सामग्री तयार पारिएका कारण हामीले भिडियोमा दिइएको विवरणमाथि तथ्यजाँच सुरु गर्यौँ । सबैभन्दा पहिले हामीले टिकटकमा देखिएको दृश्यबाट जाँच सुरु गर्यौँ ।
भिडियोमा नेपाली सेनाका प्रधानसेतापति प्रभुराम शर्माले कुनै कार्यक्रममा सम्बोधन गरिरहेको दृश्यसँग प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बीर जोडिएको छ । दाबीसहितको भिडियोमा देखाइएको दृश्य शर्माले प्रधानसेनापतिको रुपमा नेपाली सेनाको नेतृत्व सम्हान्दाको सम्बोधन हो । भिडियोमा दाबी गरेजस्तो उक्त सम्बोधनमा शर्माले कुनै अभिव्यक्ति दिएका थिएनन् ।
हेर्नुहोस्, प्रधानसेनापति शर्माको सम्बोधन :
यसपछि हामीले भिडियोको मूल स्रोत पत्ता लगाउने काम गर्यौँ । भिडियोमा सुनिएको अडियो हामीलाई परिचित नै लाग्यो किनकि यसअघि पनि हामीले यस आवाजका अडियोहरूको तथ्यजाँच गरिसकेका थियो । यही आधारमा हामीले युट्युबमा एमसिसी, प्रधानसेतापति, नेपाली सेना, चेतावनी, ग्रेटर नेपाल टीभी लगायतका नेपाली-अंग्रेजी किवर्डहरू युट्युबमा सर्च गर्यौँ ।
किवर्ड सर्चपछि हाम्रो अनुमान सही ठहरियो । युट्युबमा GreaterNepalTV (ग्रेटर नेपाल टिभी) नामक युट्युब च्यानल भेटियो, जहाँ फेब्रुअरी ४ मा एउटा भिडियो पोस्ट भएको रहेछ । उक्त भिडियोको हेडलाइन राखिएको छ,‘एमसिसी पास भए म्यानमारको अवस्था नेपालमा लागू हुने नेपाली सेनाको घोषणा ।’
हेर्नुहोस् मूल भिडियो :
युट्युबमा पोस्ट गरिएको यही भिडियोको एउटा शंक माथि टिकटकमा पोस्ट गरिएको हो । यसअर्थ माथि टिकटकमा थमनेल र क्याप्सनसहित पोस्ट गरिएको भिडियोको मूल भिडियो ग्रेटर नेपाल टिभीमा पोस्ट गरिएको सामग्री हो । यसअघि हामीले ग्रेटर नेपाल टिभी नामक ट्युट्युब च्यानलमा पोस्ट गरिएका अन्य भ्रामक भिडियोको तथ्यजाँच पनि गरिसकेका थियौँ ।
टिकटक भिडियोको मूल स्रोत पत्ता लगाएपछि हामी दाबीमा केन्द्रीत भयौँ । भिडियोमा प्रधानसेतापतिले भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी दिएको र देश संकटमा परे म्यानमारकै कदम चाल्ने बताएको दाबी गरिएको छ ।
दाबीसहितको भिडियोमा बुधबार मकवानपुरस्थित चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गर्दै प्रधानसेनापति शर्माले यस्तो बताइएको दाबी गरिएको छ । प्रधानसेनापति शर्माले चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास गत कात्तिकमा गरेका थिए । भिडियोमा दाबी गरेजस्तो उक्त कार्यक्रममा शर्माले कुनै चेतावनी र दाबी गरेका थिएनन् ।
हेर्नुहोस्, चिसापानी गढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यासपछि शर्माको सम्बोधन :
पछिल्लो समय नेपाली सेनाको तर्फबाट एमसिसीको विषयमा कुनै आधिकारिक घारणासमेत सार्वजनिक भएको छैन । यसअर्थ भिडियोमा गरेको दाबी भ्रामक हो ।
प्रधानसेतापतिले भावना विपरित एमसिसी पास गरे कुनैपनि नेतालाई बाँकि नराख्ने चेतावनी र देश संकटमा परे म्यानमारकै कदम चाल्ने दाबी गरेका छैनन् । भिडियोमा गरिएको दाबी भ्रामक र असत्य छ ।
Nepal Today : Nepal Army Gen Sharma Address All Ranks
रातोपाटी : ऐतिहासिक महत्त्वका गढीहरूको संरक्षण गर्नुपर्छ
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
April 4, 2023
Aakash Chhetri
January 3, 2023