Sunday, May 11, 2025

Fact Check

एमसिसी पास भएपछि देशैभर ‘लकडाउन’ भएको हो ? स्कुल र कलेज बन्द भएको दाबी 

banner_image

Claim

image

Fact

image

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री भेटिएको छ, जसमा एमसिसी पास भएका कारण मुलुकमा लकडाउन हुन लागेको दाबी गरिएको देखिन्छ । भिडियोमा सडकको दृश्य देखाइएको छ, छेवैमा नेपालको राष्ट्रिय झण्डासमेत देखिन्छ । उक्त दृश्यको थमनेलमा एमसिसी पास भएका कारण मुलुकमा लकडाउन हुन लागेको जानकारी दिइएको छ ।

#King_of_attitude_boy नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोको थमनेलमा नेपाली र नेपाली-अंग्रेजी रोमन भाषामा ‘एमसिसी पास भएका कारण स्कुल कलेज सबै बन्द’ लेखिएको छ । थमनेलमा अशुद्ध भाषामा लेखिएको छ, अब स्कुलहरू बन्द हुन्छ किनकि एमसिसीको कारणले छिटो नै बन्द हुन्छ स्कुलहरू, ६ बजे आज बिहान मंगलबारदेखि देशभर लकडाउन भयो ननिस्किन दिने ।’

त्यस्तै भिडियोमा एउटा अडियोसमेत सुनिन्छ ।  उक्त भिडियोमा सुनिने अडियोमा ‘नेपालमा लकडाउन लागू’ भएको दाबी गरिएकाे छ । उक्त अडियोमा भनिएको छ,‘सरकारले जारी गरेको लकडाउनको सूचना मंगलबार बिहान ६ बजेबाट देशैभर लागू, एक सातासम्म घरबाट बाहिर ननिस्कन सरकारको आदेश ।’

तीन साताअघि पोस्ट भएको उक्त भिडियोमा करिब ३६ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ७९२ प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् । यसबाट भिडियोमा दिइएको सूचनाको फैलावट व्यापक रहेको प्रष्ट हुन्छ । साथै भिडियोमा सुनिने लकडाउन हुने दाबीसहितको अडियोबाट अन्य भिडियोहरूसमेत पुन:निर्माण गरिएको छ । यो सामग्री तयार पर्दासम्म उक्त अडियोबाट ५२ वटा थप भिडियो पुन:निर्माण भइसकेको देखिन्छ । 

हेर्नुहोस्, दाबीसहितको अडियोबाट पुन:निर्मित भिडियोहरू :

तथ्य जाँच / प्रमाणीकरण

भिडियोमा ‘लकडाउन’को दुई तरिकाबाट गरिएको छ । थमनेलबाट गरिएको दाबीमा एमसिसी पास भएका कारण स्कुल कलेज बन्द हुने जानकारी दिइएको छ भने अडियोबाट गरिएको दाबीमा सरकारले जारी गरेको लकडाउनको सूचना मंगलबार बिहान ६ बजेबाट देशैभर लागू भएको र एक सातासम्म घरबाट बाहिर ननिस्कन आदेश दिइएको जानकारी दिइएको छ । 

दुबै तरिकाबाट गरिएको दाबीको संयोजनले एमसिसी पास भएपछि सरकारले दशभरी नै लकडाउन गरेको सन्देश प्रवाह भएको छ । यो सन्देशसहितको सामग्रीले कुटनीतिक र राजनीतिक क्षेत्रमा लामो समयसम्म असर गर्ने देखिएकाले न्युजचेकरले उक्त दाबीसहितको सामग्रीमा तथ्यजाँच गरेको छ । के नेपाल सरकारले एमसिसी पास भएकै कारण देशभरी लकडाउन गर्ने निर्णय गरेको होला ?

गत फागुन १५​​ गते प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन गरेको थियो । सदनले एमसिसीसँगै १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको हो । दाबीसहितको सामग्रीमा ‘एमसिसी पास भएका कारण लकडाउन’ भएको भनिएकाले सबैभन्दा पहिले हामीले एमसिसी पास भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबारे जानकारी जम्मा गर्नतिर लाग्यौँ । 

जाँचकै क्रममा एमसिसी पास भएको भोलिपल्ट अर्थात् फागुन १६ गते पन्त्रिपरिषद् बैठक बसेको पत्ता लाग्यो । फागुन १६ गतेको बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णय खोज्दै जाँदा सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बेवसाइटमा भेटियो । उक्त निर्णयको पहिलो बुँदामा एमसिसी पास गर्न सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद् दिइएको छ ।

निर्णयको बुँदा नम्बर १ मा भनिएको छ – 

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)लाई मिति २०७८/११/१५ गते प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सम्माननीय सभामुख र माननीय सदस्यहरु सबैलाई नेपाल सरकार हार्दिक धन्यबाद ज्ञापन गर्दछ । साथै, यस क्रममा प्राप्त सहयोग र सदभाव प्रति सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाईहरु, नागरिक समाज, सञ्चार जगत, बुद्धिजीवी, उद्योगी व्यवसायी सबैमा नेपाल सरकारको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गर्ने । सबै मुलुकहरु सँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत एवं चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकारको प्रतिवद्धता व्यक्त गर्ने । नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुच्याउने मित्र राष्ट्रहरु, दात्‌ निकाय, क्षेत्रीय एवं अन्तराष्ट्रिय संघ संस्थाहरुप्रति नेपाल सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गर्ने ।

एमसिसी पास गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद् दिएको सरकारले लकडाउन गर्ने निर्णय गरेको देखिँदैन । एमसिसी अनुमोदन भएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले गरेका सबै निर्णय हेर्नुहोस् :  

यसबाट के प्रष्ट हुन्छ भने एमसिसी पास भएकै कारण सरकारले लकडाउन गरेको भन्ने दाबी साँचो होइन । त्यसैले भिडियोको थमनेलबाट गरिएको दाबी भ्रामक छ । अर्कोतर्फ टिकटक भिडियोमा अडियोबाटसमेत लकडाउन भएको दाबी गरिएको छ । समाचार शैलीमा गरिएको दाबीबारे हामीले थप जाँच थाल्यौँ ।

सबैभन्दा पहिले हामीले ‘लकडाउन’, ‘एक साता बन्द’, ‘लकडाउनको सूचना मंगलबार बिहान ६ बजेबाट देशैभर लागू’ लगायतका किवर्ड र वाक्यांशहरू सामाजिक संजाल र गुगलमा सर्च गर्यौँ । यही क्रममा २४ मार्च २०२० मा पोस्ट गरिएको एउटा युट्युब भिडियो फेला पर्‍यो । Nepal Live को युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियो दुई वर्षअघिको समाचार बुलेटिन हो ।

नेपाल लाइभको सोही समाचार बुलेटिनको अडियोलाई दुई वर्षपछि एमसिसीसँग जोड्दै सामाजिक संजालमा फैलाइएको देखिन्छ । हेर्नुहोस्, भ्रामक सामग्रीमा प्रयोग गरिएको सक्कल अडियो :

निष्कर्ष : 

दाबी गरिएजस्तो एमसिसी पास भएका कारण स्कुल कलेज बन्द भएका छैनन् र एमसिसीका कारण नेपालमा ‘लकडाउन’ पनि भएको छैन । टिकटक भिडियोमा थमनेलमार्फत् गरिएको दाबी भ्रामक छ भने अडियोमार्फत् गरिएको दाबी फरक सन्दर्भको समाचार हो । उक्त भिडियोमा जोडिएको अडियो पुुरानो समाचार हो ।   

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Mocit : फागुन १६ गते बसेको मन्त्रिपरिषद्‌ बैठका निर्णय 

Setopati : संसदबाट अनुमोदन भयो एमसिसी

NepalLive : नेपाल लाइभ समाचार


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो – [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage