युक्रेन–रुसबीच भिषण युद्ध जारी छ । पछिल्लो समय युद्धका खबर र अपडेटले पूरै सामाजिक संजाल भरिएका छन् । यही बिचमा फरक दाबीसहितको भिडियो व्यापक रुपमा फैलिरहेको पाइयो । यी सामग्रीहरूले युक्रेन–रुसबीचको उक्त युद्धमा नेपाल पनि सहभागी भएको दाबी गरिएको छ ।
साेमबार sandesh.181산데시 판딧 체트리 नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा हेलिकप्टर उडिरहेको दृश्य देखाइएको छ । सँगै भिडियोको थमनेलमा नेपाली सैनिक युक्रेनलाई सहयोग गर्न जाने तयारीमा रहेको दाबी गरिएको छ । भिडियोको थमनेलमा यस्तो लेखिएको छ,‘आज काठमाडौँको आकाशमा घुमेको हेलिकप्टर नेपाली सैनिक युक्रेनलाई सहयोग गर्न जाने तयारीमा ।’

भिडियोको फैलावट द्रुत गतिको छ । भिडियो पोस्ट भएको एक दिनमा ७० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोमा १३ सयभन्दा बढीले कमेन्ट गरेका छन् । त्यस्तै २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेको देखिन्छ ।
त्यसैगरी सोमबार नै #bibasshahi नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा युक्रेनलाई सहयोग गर्न नेपालले सैनिक ट्यांक पठाउन लागेको दाबी गरिएको छ । भिडियोमा नेपालका सडकमा सेनाका सवारी साधन चलिरहेको दृश्य देखाइएको छ । पोस्ट भएको एक दिनमै भिडियोमा करिब ५० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् त्यस्तै करिब २ सयले भिडियोलाई सेयर गरिसकेकाे देखिन्छ । यसबाट के प्रष्ट हुन्छ भने भिडियोको फैलावट व्यापक छ ।

युक्रेन–रुसबीचको उक्त युद्धमा नेपाल पनि सहभागी भएको दाबी गर्ने अर्को भिडियो पनि सोमबार नै पोस्ट भएको देखिन्छ । #Neems नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा पनि हेलिकप्टर उडिरहेको दृश्य देखिन्छ । उक्त भिडियोको थमनेलमा पनि ‘नेपाली सेनालाई युक्रेन पठाइँदै’ भन्ने दाबी गरिएको छ । पोस्ट भएको एक दिनमै भिडियोमा साढे ८५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ७ सयभन्दा पढी प्रयोगकर्ताले सेयर गरेका छन् । यो तथ्यांकले यो दाबीको फैलावट कति द्रुत छ भन्ने प्रष्ट पार्छ ।

सोमबार नै #salikramneupane01नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पनि यही दाबी दोहोर्याइएको छ । भिडियोको थमनेल र क्याप्सनमा नेपाली सेना रुस र युक्रेनको युद्धमा युक्रेनतिर गएको दाबी गरिएको छ । पोस्ट भएको एक दिनमै भिडियोमा २ लाख ३९ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १२ सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् ।

तथ्यजाँच प्रमाणिकरण
युरोपमा चलिरहेकाे युद्धमा अहिलेसम्म नेपाल प्रत्यक्ष\अप्रत्यक्षरुपमा संलग्न भएको छैन । तर, उक्त युद्धले नेपाली समाज तरंगित भएको छ । सामाजिक संजालमा नेपालीहरूलेसमेत मुद्धको पक्ष र विपक्षमा बहस गरिरहेको पाइन्छ । यही बेला सामाजिक संजालमा यस्ता दाबीहरू देखिएका छन्, जुन द्रुत गतिमा फैलिरहेका छन् । त्यस्ता दाबीमाथि तथ्यजाँच गर्नु अपरिहार्य जस्तै छ ।
माथि दाबीमा पेश गरिएका हरेकजसो दृश्यमा नेपाली सेनाका गतिविधिहरू देखाइएको छ । ती हरेकजसो भिडियोहरू कुनै व्यवसायिक प्रयोजनका लागि नभइ व्यक्तिगत प्रयोजनका लागि खिचिएको देखिन्छ । त्यसैले ती भिडियो र भिडियोमा राखिएका क्याप्सन तथा थमनेलबीच कुनै सम्बन्ध देखिँदैन । त्यसैले हामीले सोझै युक्रेन–रुसबीचको युद्धमा नेपालको भूमिकाबारे यहाँ प्रष्ट पार्न खोजेका छौँ । माथिका भिडियो केश स्टडिका लागि मात्र राखिएका हुन् । यो तथ्यजाँच नेपालले युक्रेनको पक्षमा सेना पठाएको हो कि होइन ? भन्ने विषयमा केन्द्रीत छ ।
२४ फेब्रुवरीदेखि रुस-युक्रेन आधुनिक हातहतियारसहित आमनेसामने भइरहेका छन् । यहीबीचमा नेपालले आफ्नो प्रतिक्रिया पनि सार्वजनिक गरिसकेको छ । युक्रेनविरुद्ध रुसले आक्रमण गरेकै दिन नेपाल सरकारको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति पारी गर्दै नेपालले रुसी आक्रमणको विरोध गरेको हो ।
नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ –
‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ, नेपाल सबै पक्षलाई तनाव नबढाउन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ, संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन् र सबै सदस्य राष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा नेपाल सरकारको छ ।’

युक्रेन-रुस तनावमा नेपालको प्रतिक्रिया हेर्दा नेपाल युद्धकै विपक्षमा उभिएको देखिन्छ । नेपालले तनावलाई कूटनीति र संवादबाट शान्तिपूर्ण समाधानमा गर्नुपर्ने मत पनि विज्ञप्तिमार्फत् राखेको छ । यो वक्तव्य रुसले युक्रेनमा हमला गरिसकेपछि मन्त्रालय स्तरबाट सार्वजनिक गरिएको पहिलो र अन्तिम वक्तव्य हो । यसबाट के प्रष्ट हुन्छ भने रुससँग युद्धका लागि नेपालले युक्रेनमा सेना पठाउने कुनै खालको तयारी गरेको छैन र पठाएको पनि छैन ।
युद्धमा आफ्नो सेना पठाउने त टाडाको कुरा नेपालले नेपाले यक्रेनमा फसेका आफ्ना नागरिकको उद्दार पनि गर्न सकेको छैन । युक्रेनमा रहेका नेपालीले आफूहरूलाई उद्दार गर्न पटक-पटक नेपाल सरकारसँग आग्रह गरिरहेका छन् तर सरकारले आफ्ना नागरिकलाई उद्दार गर्न कुनै पनि विमान पठाउन सकेको छैन ।
दाबीसहितका क्याप्सन र थमनेलसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरू भने फरक-फरक प्रशंगका हुन् । कुनैपनि भिडियो व्यवसायिक प्रयोजनका लागि निर्माण भने गरिएका होइनन् । यो दाबीमा प्रयोग भएका दृश्यहरू कुनै प्रमाणको रुपमा पेश हामीले छुट्टा-छुट्टै भिडियोलाई फरक-फरक तरिकाले तथ्यजाँच गरेनौँ । दाबी गरिए अनुसार नेपालले सेना पठाउने निर्णय गरेको हो कि होइन भन्ने विषयमा मात्र जाँच गर्यौँ । उक्त जाँचमा नेपालले कुनै पनि तरिकाले नेपाली सेनालाई युद्ध लड्न पठाउने तयारी गरेको र पठाएको पाइएन ।
त्यस्तै हामीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको ट्विटर ह्यान्डल पनि स्क्यान गर्यौं, जहाँ युक्रेनले अन्तर्राष्ट्रिय सहयोग र नेताहरूसँगको कुराकानीको अपडेट राखिएको छ । तर, त्यहाँ नेपाली नेताहरुसँग कुरा गर्ने र गोरखा सैनिकको सहयोग मागेको विषय पोस्ट गरिएको छैन ।
निष्कर्ष :
नेपालले युक्रेनको पक्षमा रुसविरुद्ध युद्ध लड्न सेना पठाएको छैन । दाबीमा राखिएका दृश्यहरू सेनाका सामान्य गतिविधि हुन् ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
Ministry of Foreign Affairs : Statement on the Recent Developments in Ukraine
BBC : किएभमा रहेका नेपाली भन्छन्- ‘सरकारले चाँडै जहाज पठाउने प्रतीक्षामा छौँ’
Naya patrika : युक्रेनमा रुसको आक्रमण, नेपालको विरोध
Volodymyr Zelenskyy’s Twitter : Support and negotiation updates
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co