Tuesday, April 30, 2024
HomeFact CheckFact Check: सुन्तलालाई तताएर खाँदा बच्चाको रुघाखोकी निको हुन्छ? 

Fact Check: सुन्तलालाई तताएर खाँदा बच्चाको रुघाखोकी निको हुन्छ? 

दाबी: सुन्तलालाई तताएर (पोलेर) खाँदा बालबालिकामा देखिने रुघाखोकी र चिसोको समस्या निको हुन्छ ।
तथ्य: सुन्तलालाई पोलेर खाँदा बच्चाको रुघाखोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फेला परेनन् ।

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा सुन्तलालाई पोलेर खाँदा बालबालिकामा देखिने रुघाखोकी र चिसोको समस्या निको हुने दाबी गरिएको छ । 

Karuna_shreena नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा सुन्तला पोलिरहेको दृश्य देख्न सकिन्छ । साथै दाबीसहितको भिडियोमा भनिएको छ- ‘घरमा साना केटाकेटी छन्, अनि रुघाखोकी भर्खरै लागेको छ भने सुरुमै यो विधि गर्दा ठिक हुन्छ, सफा सुन्तलालाई बोक्रासहित तताउने अनि मनतातो भएपछि छोडाएर खान दिने, हजुरहरुले निचोरेर जुस पनि दिन सक्नुहुन्छ ।’ 

प्रस्तुत दाबीसहितको सामग्री मानव स्वास्थ्य, अझ बालबालिकासँग सम्बन्धित रहेकाले अत्यन्तै संवेदनशील देखिन्छ । त्यसैले हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सुन्तलालाई पोलेर खाँदा बच्चामा देखिने रुघाखोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फेला परेनन् । सुन्तलामा भिटामिन सीको उच्च मात्रामा पाइन्छ, जसले मानव शरीरको प्रतिरक्षा प्रणालीलाई सहयोग गर्ने गर्दछ । यद्यपि, हामीले सुन्तलालाई पोलेर खाँदा चिसो एवं रुघाखोकीसँग लड्ने क्षमतामा वृद्धि हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण फेला पार्न सकेनौँ ।

भिटामिन सीले केही व्यक्तिहरूमा रुघाखोकीका लक्षणहरु न्युनीकरण गर्न सक्छ । तर, भिटामिन सी प्रतिरक्षा प्रणालीको लागि आवश्यक धेरै पोषक तत्वहरू मध्ये एउटा मात्र पोषक तत्व हो । सामान्य रुघाखोकी ब्याक्टेरियाको संक्रमण नभई राइनोभाइरस जस्ता भाइरसको संक्रमणले हुने गर्दछ, जो एन्टिबायोटिक्सद्वारा निको हुन सक्दैन । 

आराम, हाइड्रेशन र लक्षण न्युनीकरण जस्ता सहायक हेरचाहमार्फत् रुघाखोकी र चिसोलाई व्यवस्थित गर्न सकिन्छ । तर, सुन्तलालाई पोलेर खाँदा बालबालिका वा वयस्कहरूमा सामान्य चिसो र रुघाखोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै ठोस प्रमाण फेला पार्न सकिएन ।

अर्कोतर्फ सुन्तलालाई पोलेर सेवन गर्दा पोषक तत्वको कमी, स्वाद र बनावटमा परिवर्तन र रस निस्कासनको कारणले सम्भावित गडबडी हुनसक्छ । बच्चालाई सामान्य रुघाखोकी जस्ता समस्या देखिएपछि व्यावसायिक चिकित्सा सल्लाह खोज्न आवश्यक छ । सुन्तला पोलेर सेवन गर्ने जस्ता अप्रमाणित उपचारहरूमा मात्र भर पर्दा उचित उपचारमा ढिलाइ हुन सक्छ र बच्चाको रोग व्यवस्थापन गर्न जटिलता निम्तिन सक्छ । 

यसबाहेक, बच्चामा एलर्जीको कारण चिसो र रुघाखोकीका लक्षणहरू देखा परेका हुन सक्छन् । यदि बच्चाले धेरै हाच्छ्युँ गरिरहेको छ र एक महिनाभन्दा बढी समयसम्म नाकबाट पानी बगिरहेको छ भने बच्चालाई एलर्जी भएको हुन सक्छ । 

बच्चामा देखिने चिसो र रुघाखोकीको समस्याका बारेमा हामीले जनरल फिजिसियन डा.कश्यप दक्षिणीसँग परामर्श गर्‍यौँ । उनी,‘सामान्य रुघाखोकी कुनै उपचार हुँदैन, न त यो शरीरलाई डिटक्सिफिकेसन गर्ने तरिका हो । बरु, यो नाकबाट बग्ने, घाँटी दुख्ने, खोकी वा हाच्छ्युँ गर्ने जस्ता लक्षणहरू भएको भाइरल संक्रमण हो, जुन रुघाखोकी लागेको व्यक्तिबाट सर्न सक्छ ।’

निष्कर्ष

सुन्तलालाई पोलेर खाँदा बच्चाको रुघाखोकी निको हुन्छ भन्ने दाबीलाई प्रमाणित गर्ने कुनै प्रमाण फेला परेनन् । सुन्तला पोलेर सेवन गर्ने जस्ता अप्रमाणित उपचारहरूमा मात्र भर पर्दा उचित उपचारमा ढिलाइ हुन सक्छ र बच्चाको रोग व्यवस्थापन गर्न जटिलता निम्तिन सक्छ । 

नतिजा : गलत 

हाम्रा स्रोतहरू

रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, health.harvard.edu
रिसर्च लेख, aafp.org
रिसर्च लेख, tandfonline.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY Cancel reply

Please enter your comment!
Please enter your name here

Most Popular

Exit mobile version