Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पाकिस्तानी इन्जिनियरले बनाएको र त्यसलाई मानिसहरुले धक्का लगाएर उडाउने कोशिस गरेको तरपनि उड्न नसकेको दाबी (विमानलाई धक्का लगाएको भिडियो) ।
तथ्य: नेपालसँग सम्बन्धित तीन वर्ष पुरानो र फरक घटना-सन्दर्भमा खिचिएको भिडियोलाई पाकिस्तान एवं पाकिस्तानी इन्जिनियरसँग जोडेर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
सामाजिक संजालमा एउटा हवाइजहाजसँग सम्बन्धित दाबीसहितको भिडियो (रिल) फेला परेको छ । उक्त भिडियोमा देखिने हवाइजहाजलाई पाकिस्तानी इन्जिनियरले बनाएको र त्यसलाई मानिसहरुले धक्का लगाएर उडाउने कोशिस गरेको तरपनि उड्न नसकेको दाबी गरिएको छ ।
Sk sunil kumar नामक फेसबुक पेजमा पोस्ट गरिएको रिलमा एउटा हवाइजहाज देख्न सकिन्छ, जसलाई मानिसहरुले धक्का लगाइरहेका छन् । भिडियोलाई एकजना भारतीय कन्टेन्ट क्रियटर (सामग्री निर्माता)ले व्याख्या गर्दै उक्त हवाइजहाजको दृश्य पाकिस्तानसँग सम्बन्धित रहेको दाबी गरेका छन् ।
प्रस्तुत हवाइजहाजको दृश्यलाई व्यख्या गर्दै सामग्री निर्माताले हिन्दी भाषामा भनेका छन्, ‘भिडियोमा देख्न सक्नुहुन्छ, पाकिस्तानी इन्जिनियरले एउटा हवाइजहाज बनाएका छन् तर हेर्नुहोस् कसरी धक्का लगाएर सबैले उडाउने कोशिस गरिरहेका छन् तर पनि उडिरहेको छैन ।
पोस्ट भएको छोटो समयमै दाबीसहितको रिललाई १३ हजारभन्दा बढी फेसबुक प्रयोगर्कतले लाइक गरिसकेका छन् । करिब १ हजार प्रतिक्रिया आइसकेको दाबीसहितको रिसलाई ११ सयभन्दा बढी फेसबुक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

प्रस्तुत तथ्यांकले दाबीसहितको रिल सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको प्रष्ट पारेको छ । त्यसैले पाकिस्तानसँग सम्बन्धित रहेको भन्दै सामाजिक संजालमा फैलाइएको प्रस्तुत दाबीको तथ्यजाँच गरेका छौँ ।
तारा एयरलाइन्सको ९ एन-एइभी (9N-AEV) कलसाइनको हवाइजहाजलाई मनिसहरुले धकेलिरहेको दृश्य भिडियोमा देख्न सकिन्छ । मानिसहरुले हवाइजहाजलाई धक्का दिइरहेको उक्त दृश्य पाकिस्तानसँग सम्बन्धित रहेको दाबी गरिएको छ । यतिमात्र होइन, उक्त हवाइजहाजलाई पाकिस्तानी इन्जिनियरले बनाएको र त्यसलाई मानिसहरुले धक्का लगाएर उडाउने कोशिस गरेको तरपनि उड्न नसकेको समेत दाबी गरिएको छ ।
जाँचका क्रममा सबैभन्दा पहिले हामीले हवाइजहाजको दृश्यलाई मध्यनजर गर्दै ‘Tara Air Plane’ ‘Push’ ‘Runway’ लगायतका वाक्यांश तयार पारेर युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Oneindia News युट्युबमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो ।
दुई वर्षअघि अर्थात् ३ डिसेम्बर २०२१ मा पोस्ट गरिएको उक्त भिडियोको पाकिस्तानसँग होइन, नेपालसँग सम्बन्धित रहेको देखिन्छ । यस भिडियोबारे लेखिएको छ- ‘नेपालमा तारा एयरको विमान अवतरण गर्ने क्रममा टायर फुटेपछि यात्रुले हवाइजहाजलाई धावनमार्गबाट हटाउन बाध्य भएका छन् ।’
फेला परेको तथ्यमा केन्द्रीत रहेर हामीले ‘जहाज धकेल्दै यात्रु’ वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप रेडियो नेपालको अनलाइन संस्करण onlineradionepal मा प्रकाशित एउटा समाचार फेला पर्यो । करिब दुई वर्षअघि अर्थात् १६ मंसिर, २०७८ मा प्रकाशित उक्त समाचारमा बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा यात्रुहरुले नै हवाइजहाज धकेलिरहेको दृश्य देखिएको जानकारी दिइएको छ ।
राष्ट्रिय समाचार समितिले तयार पारेको प्रस्तुत समाचार अनुसार तारा एयरलाइन्सको हवाइजहाजको टायर पड्किएर मध्ये धावनमार्गमा अलपत्र परेको थियो । जसले गर्दा अर्को जहाज उडाउन र अवतरण गर्न समस्या भयो र त्यसपछि यात्रु, सुरक्षाकर्मी तथा कर्मचारीहरूले उक्त हवाइजहाजलाई धक्का लगाएर छेउ लगाइएका थिए ।

हामीले प्रस्तुत जानकारीलाई थप पुष्टि गर्न अन्य संचार माध्यममा प्रकाशित समाचारहरुलाई पनि नियाल्यौँ । हवाइजहाजलाई धक्का लगाएको विषयमा Indian Express, India Today, New York Post, Smartaviation APAC लगायतका विश्व चर्चित संचार माध्यमले पनि दृश्य र समाचार प्रकाशित गरेका छन् । प्रस्तुत तथ्यहरुबाट के पुष्टि हुन्छ भने पाकिस्तानसँग जोड्दै हालसालै सामाजिक संजालमा फैलाइएको भिडियो तीन वर्ष पुरानो घटनासँग सम्बन्धित छ ।
अन्त्यमा हामीले तारा एयरलाइन्सको ९ एन-एइभी (9N-AEV) कलसाइनको हवाइजहाजको बारेमा जाँच गर्यौँ । यसबारे jetphotos.com मा सर्च गर्दा उक्त हवाइजहाज १९६० को दशकमा डे ह्याभिल्यान्ड क्यानाडाले विकास गरेको थियो ।

भिडियोमा देखिने हवाइजहाजलाई पाकिस्तानी इन्जिनियरले बनाएको र त्यसलाई मानिसहरुले धक्का लगाएर उडाउने कोशिस गरेको तरपनि उड्न नसकेको दाबी गलत छ । नेपालसँग सम्बन्धित तीन वर्ष पुरानो र फरक घटना-सन्दर्भमा खिचिएको भिडियोलाई पाकिस्तान एवं पाकिस्तानी इन्जिनियरसँग जोडेर भ्रामक तरिकाले सामाजिक संजालमा फैलाइएको पाइयो ।
भिडियो, Oneindia News
समाचार, Indian Express
समाचार, India Today
समाचार, New York Post
समाचार, Smartaviation APAC
प्लेनको जानकारी, JetPhotos
समाचार, Onlineradionepal
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
August 20, 2024

Aakash Chhetri
March 28, 2024

Aakash Chhetri
October 3, 2023