Wednesday, May 14, 2025

Fact Check

Fact Check: राष्ट्रपति र एमाले अध्यक्षले संसद् विघटनको घोषणा गरेका हुन् ? फैलियो भ्रामक दाबी

Written By Aakash Chhetri
Feb 27, 2023
banner_image

Claim

image

Fact

image

भर्खरै सामाजिक संजालमा एउटा राजनीतिक सामग्री फैलिन थालेको छ । उक्त सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेको दाबी गरिएको छ । 

At Student Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै देखिने तस्बिरहरू जोडिएको देखिन्छ । उक्त सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिएपछि रिसाएका केपी शर्मा ओली राष्ट्रपति भेट्न शितल निवास पुगेको जानकारी दिइएको छ । 

प्रस्तुत भिडियोको थमनेलमा संसद् विघटन गर्ने घोषणा गरेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘प्रचण्डले धोका दिएपछि बाघझैँ रिसाएका ओली सिधै राष्ट्रपति भेट्न शितल निवास पुगे, भयो उथलपुथल । ओली र राष्ट्रपतिले गरे संसद् विघटनको घोषणा ।’

३ घण्टाअघि मात्रै पोस्ट गरिएको दाबीसहितको सामग्रीमा ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने १६ भन्दा बढी प्रतिक्रिया आइसकेका छन् । दाबीसहितको प्रस्तुत सामग्री आगामी दिनमा सामाजिक संजालमा व्यापक फैलिनसक्ने आँकलन यसको फैलावट गतिले गर्न सकिन्छ ।

नेपालमा तिब्र राजनीतिक समिकरण परिवर्तन भइरहेका बेला यस्ता खालका दाबीहरूले आम मानिसको विचार निर्माणमा विशेष अर्थ राख्दछन् । सोही कारण राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेको दाबीसहितको सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

प्रस्तुत दाबीसहितको सामग्रीबारे जाँच गर्नुअघि नेपालको राजनीतिक हलचललाई बुझ्न जरुरी देखिन्छ । नेपालमा हिजो (आइतबार)सम्म सत्ता गठबन्धनमा केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) पनि सामेल थियो । 

तर, सोमबार बसेको नेकपा (एमाले)को सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने एव‌ं सरकारबाट बाहिरिने निर्णय गर्‍यो । पार्टीको निर्णयपछि सोमबार दिउँसो नेकपा (एमाले)बाट मन्त्री भएका सबैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा बुझाएका हुन् । यसको सुरुवात भएको थियो, राष्ट्रपति निर्वाचनबाट । 

नेपालको राष्ट्रपति निर्वाचन फागुन २५ गते हुने तय भएको छ । तत्कालीन सत्तारुढ दल नेकपा (एमाले)ले राष्ट्रपतिको उम्मेदवारका रुपमा सुवास नेम्वाङलाई अगाडि सार्‍यो । तर, सत्ता गठबन्धनबाटै प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको पार्टी माओवादी केन्द्रले नै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्‍यो । प्रस्तुत निर्णय शुक्रबार नै गरिएको भएपनि एमाले सरकारको विषयमा सोमबार मात्रै निर्णय लिएको हो ।

प्रस्तुत राजनीतिक घटनाक्रमकै बीच  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिएको छ । प्रस्तुत दाबीबारे जाँच गर्दैगर्दा हामीले संविधान विघटनको संवैधानिक प्रावधानबारे जाँचबुझ गरेका छौँ । 

संविधानको धारा ८५ ले प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष तोकेको छ । तर, प्रतिनिधि सभालाई पाँच वर्षअघि नै विघटन गर्ने व्यवस्था संविधानको धारा ७६ मा उल्लेख गरिएको छ । यो धारा यसअघि नै विवादित भइसकेको छ । केपी शर्मा ओली आफ्नो प्रधानमन्त्री कालमा पनि संसद् विघटन गरेका थिए । उक्त संसद् विघटन सर्वोच्च अदालतले खारेज गरेको थियो । 

संसद् विघटनको त्यो सन्दर्भमा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने अहिले उनी प्रतिपक्ष दलको अध्यक्ष मात्रै छन् । संविधानको धारा ७६ (७) मा  उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाकोनिर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्न सक्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्था अनुसार संसद् विघटनको सिफारित प्रधानमन्त्रीले राष्ट्रपतिलाई गर्नुपर्छ । तर, वर्तमान समयमा राष्ट्रपति विद्यादेवी भण्डारी भएपनि केपी शर्मा ओली प्रधानमन्त्री होइनन् । प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक रुपमा केपी शर्मा ओलीभन्दा ठिक विपरित लाइनमा उभिएका छन् ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले चहादा पनि संसद् विघटन हुने सम्भावना छैन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा अहिलेसम्म गरेका छैनन् । यसअर्थ माथि उल्लेखित दाबी भ्रामक रहेको छ । 

निष्कर्ष

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेको दाबी गरेको सामग्री भ्रामक छ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्ने घोषणा गरेका छैनन् । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

नेपालको संविधान
Ekantipur, फाल्गुन १५, २०७९  
Himalkhabar, ५ माघ, २०७७
Onlinekhabar, २०७७ फागुन ११


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 



image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage