दाबी: प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको छ ।
तथ्य: प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको दाबीसहित श्रद्धान्जली दिइएका पोस्टहरु गलत छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग सम्बन्धित सामग्रीहरु सामाजिक संजालमा फैलिरहेका छन् । यही क्रममा प्रधानमन्त्री ओलीको निधन भएको दाबीसहित श्रद्धान्जली दिइएका पोस्टहरुसमेत फेला परेका छन् ।
Tiktok400533 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको दाबी गरिएको छ ।२७ जनवरी २०२५ मा पोस्ट गरिएको भिडियोमा प्रधानमन्त्रीको तस्बिर जोडिएको छ ।
उक्त तस्बिरको थनलेनमा लेखिएको छ- ‘केपी ओलीको २०८१ माघ १३ गते बेलुका ८ बजेर ३० मिनेटमा मृत्यु भएको छ, हार्दिक श्रद्धान्जली ।’
पोस्ट गरिएको एक दिनमै दाबीसहितको सामग्रीमा ३५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा उक्त भिडियोमा ३१ सयभन्दा बढी प्रतिक्रिया आएको र १७ सयभन्दा बढी पटक सेयर भइसकेको छ ।
त्यस्तै सोही दाबीसहितको सामग्री Carezyboy20 नामक टिकटक आइडीमा पनि पोस्ट गरिएको छ । प्रधानमन्त्री ओलीको निधन भएको दाबीसहित श्रद्धान्जली दिइएको उक्त पोस्टलाई ८ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरेका छन् ।

प्रस्तुत तथ्यांकबाट के प्रष्ट हुन्छ भने प्रधानमन्त्री ओलीको निधन भएको दाबीसहित श्रद्धान्जली दिइएका पोस्टहरु सामाजिक संजालमा व्यापक फैलिएका छन् । फैलिरहेको दाबीको वाक्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
११ माघ २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको समाचारहरु सार्वजनिक भए । स्वास्थ्यमा समस्या भएर आराम गरिरहेका प्रधानमन्त्री ओलीले चिकित्सकको सल्लाह बमोजिम टाडाका यात्राहरु रद्द गर्दै भर्चुअल सम्बोधन गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई उदृत गर्दै ekantipur.com ले लेखेको छ- ‘प्रधानमन्त्रीज्यूलाई रुघाखोकीका कारण सामान्य ज्वरो आएको थियो । औषधि खाइरहनु भएको छ,डाक्टरले अझै तीन-चार दिन आराम गर्न सल्लाह दिएका छन् ।’

यही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कार्यक्रमहरुलाई भर्चुलन माध्यमबाटै सम्बोधन गरेका थिए । ११ माघ २०८१ मा प्रधानमन्त्रीले सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रु कार्यक्रमलाई भर्चुअल रूपमै काठमाडौंबाट उद्घाटन गरे । उनले भिडियो सम्बोधनसमेत गरेका थिए तर भिडियोमा प्रधानमन्त्री गम्भीर अवस्थ्य देखिन्थेनन् ।
अर्कोर्फ १४ माघ २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओली सकुशल भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न पुगेका थिए । त्यहाँ उनले आफूलाई सामान्य रुघाखोकी लागेको भए पनि आईसीयूको तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको प्रष्ट पारेका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक मृर्गौला प्रत्यारोपण गरिसकेका छन् । फागुन २०७६ मा नेपालकै शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगाैला प्रत्यारोपण गरिएको थियो ।
निष्कर्ष
प्रधानमन्त्री केपी शर्मा ओलीको निधन भएको दाबीसहित श्रद्धान्जली दिइएका पोस्टहरु गलत छन् । प्रधानमन्त्री ओली सामान्य अस्वस्थ भएको सन्दर्भमा उनको निधन भएको दाबी गर्ने भ्रामक पोस्टहरु फैलाइएको पाइयो ।
नतिजा : गलत
हाम्रा स्रोतहरू
समाचार, ekantipur.com
भिडियो, NepalTelevision
समाचार, annapurnapost.com
समाचार, kantipurtv
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।