दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ ।
तथ्य: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी भ्रामक छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित एउटा भिडियो सामग्री फेला परेको छ । उक्त भिडियो सामग्रीमा प्रधानमन्त्री प्रचण्डले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ ।
Raju chapagain नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको दृश्य देख्न सकिन्छ । सोही भिडियोसँगै जोडिएको थमनेलमा प्रचण्डले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘प्रचण्डले मागे बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग ।’

दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा २२ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै करिब एक सय जनाले प्रतिक्रिया जनाइसकेको दाबीसहितको सामग्रीलाई एक सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
प्रस्तुत फैलावटको तथ्यलाई मध्यनजर गर्ने हो भने आगामी दिनमा प्रस्तुत दाबीसको सामग्री व्यापक फैलिन सक्ने देखिन्छ । प्रधानमन्त्री जस्तो उच्च पदस्थ व्यक्तिसँग जोडेर फैलाइएको दाबीसहितको सामग्री अत्यन्तै संवेदनशील देखिन्छ, त्यसैले हामीले यस सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित सामाजिक संजाल पोस्टमा प्रधानमन्त्री प्रचण्डले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ । दाबीसहितको सामग्रीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण गरिरहेको दृश्य देख्न सकिन्छ ।
हामीले सबैभन्दा पहिले दाबीसहितको सामग्रीमा जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गर्यौँ । जसका लागि सुरुमै भिडियोको स्क्रिनसट लिएर गुगल लेन्समा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Business 360 नामक संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पर्यो ।
१६ मे २०२३ मा प्रकाशित प्रस्तुत समाचार नेपाल राष्ट्र बैंकको कर्मचारी संगठन (एनआरबी)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रम र उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको संवोधनसँग सम्बन्धित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त ‘अर्थतन्त्रका वर्तमान चुनौती र समाधानका भावी चरण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै गरेको तस्बिरसमेत समाचारमा देख्न सकिन्छ ।

उल्लेखित समाचारको तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा समानता देख्न सकिन्छ । फेला परेको तथ्यका आधारमा हामीले ‘प्रधानमन्त्री प्रचण्ड’ ‘राष्ट्र बैंकको कार्यक्रम’ लगायतका वाक्यांश युट्युबमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप NAMI TELEVISION नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । दुई महिनाअघि अर्थात् १६ मे २०२३ मा पोस्ट गरिएको उक्त भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै देखिए ।
प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा जोडिएको भिडियो र नेपाल राष्ट्र बैंकको कार्यक्रममा खिचिएको भिडियो एउटै हो । दाबीसहितको सामग्रीमा भिडियोसँगै जोडिएको अडियो भने नेपाल राष्ट्र बैंकको कार्यक्रममा होइन ।
दाबीसहितको सामग्रीमा जोडिएको अडियो र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकको कार्यक्रममा गरेको भाषण केही मिल्दैन । राष्ट्र बैंकको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ग्रेटर नेपालको प्रशंग उठाएको पाइएन ।
फरक-फरक सन्दर्भका भिडियो र अडियोलाई एकआपसमा जोडेर सामाजिक संजालमा फैलाइएको तथ्य पुष्टि भएपछि हामी अडियोको सन्दर्भ पत्ता लगाउनतर्फ लाग्यौँ ।
जाँचकै क्रममा हामीले Greater Nepal TV नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । दुई दिनअघि अर्थात् २४ जुलाई २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा पनि प्रचण्डले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी गरिएको छ ।
प्रस्तुत भिडियोलाई सरसर्ती हेर्दा माथि उल्लेखित टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्री र ग्रेटर नेपाल टीभी नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो एउटै पाइयो । युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोलाई थोरै तोडमोड गरी नयाँ थमनेलसहित टिकटक आइडीमा पोस्ट गरिएको पाइयो ।
प्रस्तुत भिडियोमा भनिएको एउटा अंश यस्तो छ:
‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजभन्दा करिब १५ वर्ष अगाडि कैलालीको टिकापुरमा २०६५ सालमा सेना प्रकरणका कारण आफ्नो सरकार ढलेपछि टिकापुरमा भएको आम सभालाई सम्बोधन गर्दै ग्रेटर नेपालको बारेमा बोलेका थिए, सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धीको धारा ८ ले ग्रेटर नेपालको भूभाग पुन: नेपाललाई नै फिर्ता गरिदिएकाले त्यसैगरी नै नेपाल अगाडी बढ्नुपर्ने, टिस्टादेखि सतलजसम्मको सिमाना कायम गर्नुपर्ने बताएका थिए । यसबारेमा उनले बोलेको दुर्लभ भिडियो तपाईहरुमाझ प्रस्तुत गर्न लागिरहेका छौँ ।’
दाबीसहितको मूल सामग्रीमा उल्लेखित प्रचण्डको भिडियोलाई आजभन्दा करिब १५ वर्ष अगाडि कैलालीको टिकापुरमा गरेको भाषणका रुपमा प्रस्तुत गरिएको छ । यद्यपी, उक्त भिडियो (अडियो बिना) दुई महिना पुरानो हो । तर, भिडियोसँगै जोडिएको अडियो भने कुन सन्दर्भको हो भन्ने प्रमाणित गर्ने पर्याप्त तथ्यहरू फेला पार्न सकिएन ।
फेला परेका तथ्यबाट के पुष्टि हुन्छ भने फरक सन्दर्भको भिडियोलाई फरक अप्रमाणित अडियोसँग जोडेर सामाजिक संजालमा फैलाइएको छ । तथ्यलाई तोडमोड उत्पादन गरिएको भिडियो भ्रामक रहेको पाइयो ।
निष्कर्ष :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायत र भारतसँग ग्रेटर नेपालको भूभाग फिर्ता मागेको दाबी भ्रामक छ । फरक-फरक सन्दर्भका भिडियो र अपुष्ट अडियोलाई एकआपसमा जोडेर सामाजिक संजालमा फैलाइएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू :
Business 360
NAMI TELEVISION
Greater Nepal TV
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]