Monday, November 4, 2024
Monday, November 4, 2024

HomeFact Check'उत्सवको दृश्य'मा शोकमग्न दाबी, यो भिडियो पोखरा विमान दुर्घटनाकै हो ?

‘उत्सवको दृश्य’मा शोकमग्न दाबी, यो भिडियो पोखरा विमान दुर्घटनाकै हो ?

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

आइतबार (२०७९ माघ १) नेपालको सुन्दरनगरीका रुपमा परिचित शहर पोखरामा भयानक विमान दुर्घटना भयो । यसलाई नेपालको उड्डयन क्षेत्रले आन्तरिक रुपमा सबैभन्दा ठूलो मानवीय क्षति भएको विमान दुर्घटनाका रुपमा हेरेको छ । 

यति एयरलाइन्सको ९ एन-एन‍सी, एटीआर-७२ ५०० कल साइनको विमान अवतरण गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्‍यो ।  चालक दलका चार गरी ७२ जना यात्रु बोकेर काठमाडौँबाट पोखरा उडेको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती नदीको खोंचमा दुर्घटना भएको थियो ।

दुर्घटना भएको केही समयमै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ‘कोही पनि जिवित भेट्न सकिने आश रहेन’ भन्ने घोषणा गरिदिए । भयो पनि त्यही, विमान चढेका कोही पनि जिवित रहेनन् । 

विमान दुर्घटनाको यही सन्दर्भमा सामाजिक संजालमा अनेक किसिमका दृश्यहरू देखिन थालेका छन् । ती दृश्यहरूमा विमान दुर्घटना भएका अलग-अलग चित्रहरु देख्न सकिन्छ । यस्तै यस्तै सामग्रीहरूका भिडमा हामीले अर्को एउटा सामग्री फेला पार्‍यौँ । भिडियोसहितको उक्त सामग्रीमा देखिएको दृश्य पोखरास्थित आइतबार भएको विमान दुर्घटनाको रहेको दाबी गरिएको छ ।

jaydurgamata नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा तारा एयरलाइन्सको विमान देखिएको छ र विमान देखिएको थोरै मात्र दूरीमा मानिसहरूको भिड देख्न सकिन्छ । देखिएको मानिसहरूको भिडमा हो-हल्लासमेत भइरहेको उक्त सामग्रीमा देखिएको छ ।

उक्त सामग्रीको थमनेलमा केही लेखिएको छ । उक्त थमनेललाई ध्यान दिएर हेर्ने हो भने त्यहाँ ‘५० मान्छेको मृत्यु’, ‘पोखरा एरोप्लेन एक्सिडेन्ट’ लेखिएको देखिन्छ । उक्त थमनेललाई आधार बनाउने हो भने भिडियोलाई आइतबार पोखरामा भएको विमान दुर्घटनासँग जोड्न खोजिएको देखिन्छ ।

पोखरा विमान दुर्घटनाको दाबी गर्ने उक्त सामग्रीको फैलावट पनि व्यापक छ । यो सामग्रीमा करिब ३० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । करिब डेढ सय टिकटक प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेको प्रस्तुत सामग्रीलाई २ सय ३० भन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

यतिमात्र होइन, यो सामग्रीमा रहेको अडियो र भिडियोबाट १ सयभन्दा बढी भिडियो पुन:उत्पादन गरिएको छ । पुन:उत्पादन गरिएका सबै भिडियोमा तारा एयरलाइन्सको विमान देखिएको दृश्य पोखरा दुर्घटनाको रहेको दाबी गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत सामग्रीको फैलावट व्यापक छ ।     

तथ्यजाँच/प्रमाणीकरण

हरेक जसो दुर्घटनाले सबैजस्तो मानिसलाई गम्भीर बनाउँछ,  त्यसमाथि कयौँको ज्यान जानेगरी भएको दुर्घटनाबाट अहिले नेपाल नै स्तब्ध भएको छ । यही सन्दर्भमा पोखरा दुर्घटनाको दाबीसहित फरक सन्दर्भका थुप्रै दृश्यहरू सामाजिक संजालमा फैलाइएको छ । यो फैलावटले पीडित परिवार र मूल सन्दर्भसँग जोडिएका व्यक्ति एवं संस्थालाई झन पीडा दिनसक्छ । यही कारण हामीले उल्लेखित तरिकाले फैलिएका दृश्यहरुको प्रतिनिधिका रुपमा माथिको दाबीसहितको सामग्रीबारे जाँच गरेका छौँ ।

पोखरामा विमान दुर्घटना भएको दाबी गर्ने उक्त सामग्रीलाई हामीले तीन भागमा विभाजन गर्‍यौँ । पहिलो- देखिएको विमान, दोस्रो- दृश्यको स्थान र तेस्रो- सन्दर्भ/घटना ।  

पहिलो भाग दृश्यमा प्रष्ट देख्न सकिन्छ । एउटा तारा एयरलाइन्सको विमान देख्न सकिन्छ । मानिसहरूको भिड पनि देख्न सकिन्छ । पहाड र डाँडाकाँडा पनि यही भागमा देखिएको छ । दोस्रो भागमा रहेको स्थान भने जाँच गर्नुपर्ने हुन्छ । दाबीसहितको सामग्रीमा पोखरा दुर्घटना भनिएको छ, यसको अर्थ हुन्छ पोखरा विमानस्थल नजिक भएको दुर्घटना । तेस्रो भाग पनि दाबीसहितको सामग्रीमा खुलाइएको छ । भनिएको छ – ५० मान्छेको मृत्यु, पोखरा एरोप्लेन एक्सिडेन्ट’ । यसलाई पनि जाँच नै गर्नुपर्ने हुन्छ । 

हामीले अरु जाँचलाई पछाडी छाड्दै सबैभन्दा पहिले भिडियोमा सुनिने अडियोको मुल स्रोत सत्ता लगाउन चाह्यौँ । टिकटककै ‘ओर्जिनल साउन्ड’मा गएर हेर्दा हामीले ठिक उल्टो परिणाम फेला पार्‍यौँ । उक्त भिडियो कुनै दुर्घटनाको नभई एउटा उड्डयन उत्सवको दृश्य रहेको तथ्य ‘ओर्जिनल साउन्ड’मा फेला पर्‍यो । 

पुस २४ (२०७९) गते तारा एयरको ९ एन–ए–एलओ कल साइनको विमानले गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शनी उडान गरेको थियो । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा रहेको विमानस्थल पुग्दा गुल्मिका स्थानीय तथा प्रतिष्ठित व्यक्तिहरू त्यहाँ जम्मा भइसकेका थिए । यो कुनै दुर्घटना नभएर गुल्मेलीहरूका लागि उत्सवमय क्षण थियो ।

सोही उत्सवमय क्षणमा गुल्मीकी संगीता जीसी कुँवरले भिडियो खिचिन् । उक्त भिडियोमा गुल्मीमा प्रदर्शनी उडान गर्न सफल तारा एयरको विमान र विमानलाई गुल्मीमा स्वागत गर्न आएका मानिसहरू देख्न सकिन्छ । उक्त भिडियो जनवरी १ (२०२३) मा  Sunita GC Kunwar नामक टिकटक आइडीमार्फत् सार्वजनिक गरियो । 

खासमा प्रस्तुत भिडियो पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुनुभन्दा सात दिनअघि नै सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । तरपनि उक्त भिडियोलाई भ्रामक तरिकाले ‘पोखरा एरोप्लेन एक्सिडेन्ट’ भन्दै सामाजिक संजालमा फैलाइएको छ ।

प्रस्तुत तथ्य फेला परेपछि हामीले थप प्रमाणको खोजीमा लाग्यौँ । Amrit chimariya नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियोलाई हामीले यसको आधार बनायौँ । जनवरी १ मै पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘गुल्मीमा पहिलो पटक पुग्यो प्लेन, हेर्नेको भीड ! First flight in Gulmi Resunga Airport’ ।

गुल्मीमा विमान पुग्दा खिचिएको उक्त दृश्यलाई हामीले दाबीसहितको सामग्रीसँग तुलनात्मक जाँच गर्‍यौँ । जसको फलस्परुप विमानको कलसाइन एक अर्कासँग मिल्यो । पहिलो जाँचको नतिजा यस्तो छ :  

हामीले दोस्रो जाँचमा वरिपरी देखिएका दृश्यहरूको तुलनात्मक जाँच गर्‍यौँ । जसमा छेवैको पहेँलो घरलाई लिन सकिन्छ दुबै दृश्यमा देखिने घरको रंग पहेँलो र आकार प्रकार उही छ । हेर्नुहोस् नतिजा : 

यी तथ्यबाट के प्रमाणित हुन्छ भने ‘५० मान्छेको मृत्यु’, ‘पोखरा एरोप्लेन एक्सिडेन्ट’ भन्दै पोखरा विमान दुर्घटनासँग जोड्दै सामाजिक संजालमा फैलाइएको दाबीसहितको सामग्री भ्रामक छ । उत्सवको सन्दर्भमा खिचिएको भिडियोलाई भ्रामक तरिकाले शोकमा रुपान्तरण गरिएको छ ।      

निष्कर्ष

पोखरा विमान दुर्घटनाको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो कुनै दुर्घटनाको होइन । उक्त दृश्य तारा एयरको विमानले गुल्मीको रेसुङ्गा विमानस्थलमा प्रदर्शनी उडान गर्दा खिचिएको हो । फरक सन्दर्भको उक्त भिडियोमा भ्रामक थमनेल राखेर सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : गलत

हाम्रा स्रोतहरू 

Ekantipur

Bbc

Sunita GC Kunwar

Amrit chimariya


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular