Fact Check
के हालसालै पोखरामा जहाज दुर्घटना भएको हो, पुरानो जानकारी टिकटकमा फैलियो

दाबी: ‘विमान दुर्घटना’ ‘पोखरा’ ‘६८ जना यात्रु बोकेर काठमाडौँ विमानस्थलबाट उडेको यती एयरलाइन्स’ लगायतका वाक्यांश बोलिएको अडियो, भिडियो ।
तथ्य: भिडियोमा सुनिने जानकारी १ माघ २०७९ (१५ जनवरी २०२३) मा भएको यती एयरलाइन्सको विमान दुर्घटनासँग सम्बन्धित छन् ।
‘दुखद् खबर’ भन्दै जहाज दुर्घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा ‘विमान दुर्घटना’ ‘पोखरा’ ‘६८ जना यात्रु बोकेर काठमाडौँ विमानस्थलबाट उडेको यती एयरलाइन्स’ लगायतका वाक्यांश बोलिएको अडियोसमेत जोडिएको छ ।
Shiva_ji_ko_bhakta नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा यात्रुहरु जहाजभित्र चड्न लाइन लागिरहेका छन् । साथै त्यहाँ एउटा जहाज पनि देख्न सकिन्छ । साथै भिडियोमा जानकारीमूलक ढंगले ‘विमान दुर्घटना, पोखरा, ६८ जना यात्रु बोकेर काठमाडौँ विमानस्थलबाट यती एयरलाइन्स उडेको’ लगायतका वाक्यांश प्रयोग गरिएको छ ।

१५ जनवरी २०२६ मा पोस्ट गरिएको भिडियोमा पाँच हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब तीन लाख टिकटक प्रयोगकर्ताले दाबीसहितको भिडियोलाई हेरिसकेका छन् ।
‘विमान दुर्घटनाको दुखद खबर’ भन्दै पोस्ट गरिएको भिडियोको वास्तविकता के हो त? पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएको भन्दै पोस्ट गरिएको जानकारीको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
दाबीसहितको भिडियोमा जोडिएको जानकारीमूलक अडियोमा ‘विमान दुर्घटना’ ‘पोखरा’ ‘६८ जना यात्रु’ ‘यती एयरलाइन्स’ लगायतका वाक्यांशहरु सुन्न सकिन्छ । यही आधारमा हामीले ‘किवर्ड सर्च’ गर्यौँ । जाँचको नतिजास्वरुप २०७९ सालमा भएको जहाज दुर्घटनासँग सम्बन्धित पुराना समाचारहरु फेला परे ।
१५ जनवरी २०२३ मा बीबीसी नेपाली सेवाले प्रकाशित गरेको समाचार शिर्षक छ,‘पोखरा विमान दुर्घटनाः सेती खोँचमा खस्यो यती एअरलाइन्सको विमान, कम्तीमा ६८ जनाको मृत्यु । यस शिर्षकमा रहेको जानकारी र माथि उल्लेखित दाबीसहितको भिडियोमा जोडिएको अधिकांश वाक्यांश मिलेका छन् ।

वास्तवमा, १ माघ २०७९ मा काठमाडौँबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए।
पोखरास्थित सेती खोँचमा यती एअरलाइन्स दुर्घटनाग्रस्त भएको भिडियो Avenues Khabar र Naya Patrika लगायतका युट्युब च्यानलमा पोस्ट गरिएको देखिन्छ । भिडियोको शिर्षक छ- ६८ जना यात्रु बोकेको यतीको विमान पोखरामा दुर्घटनाग्रस्त ।
यस दुर्घटना भएकै दिनको ठिक तीन वर्षपछि (१५ जनवरी २०२६) मा विमान दुर्घटना’ ‘पोखरा’ ‘६८ जना यात्रु बोकेर काठमाडौँ विमानस्थलबाट उडेको यती एयरलाइन्स’ वाक्यांश जोडिएको अडियो सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ । तर, हालसालै पोखरामा जहाज दुर्घटना भएको जानकारी पुष्टि भएन ।
जाँचका क्रममा हामीले पुन: दाबीसहितको भिडियोका फ्रेमहरुलाई नियाल्यौँ । भिडियोमा विमानस्थलभित्र Malaysia Airlines लेखिएको जहाज पार्किङ गरिएको देखिन्छ । साथै यात्रुहरु जहाजभित्र चड्न लाइन लागिरहेका छन् । साथै यात्रुहरुले सेल्फी तस्बिरसमेत लिइरहेको दृश्य देख्न सकिन्छ ।
जाँचका क्रममा भिडियोमा कुनैपनि दुखद् घटना घटेको संकेत देखिएन । अर्कोतर्फ हालसालै पोखरामा हालसालै (१५ जनवरी २०२६) मलेसिया एयरलाइन्सको जहाज दुर्घटना भएको जानकारी पुष्टि भएन ।
अर्कोतर्फ मलेसिया एयरलाइन्स दुर्घटनासँग सम्बन्धित पछिल्ला समाचारहरू मुख्य रूपमा MH370 (२०१४ मा हराएको उडान) को नयाँ खोजी अभियानसँग जोडिएका छन्, जुन भारतीय महासागरमा भएको थियो । तर, यो घटना र पोखरा कुनै सम्बन्ध छैन । १५ जनवरी २०२६ पोखरामा कुनै जहाज दुर्घटना भएको जानकारी पुष्टि भएन । विमान दुर्घटनासँग सम्बन्धित अस्पष्ट जानकारीलाई सामान्य भिडियोमा जोडेर सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
निष्कर्ष
१५ जनवरी २०२६ मा पोखरामा कुनै पनि विमान दुर्घटना भएको छैन । दाबीसहितको भिडियोमा सुनिने ‘पोखरा’, ‘विमान दुर्घटना’, ‘६८ जना यात्रु’, ‘यती एयरलाइन्स’ जस्ता वाक्यांशहरू १ माघ २०७९ (१५ जनवरी २०२३) मा भएको यती एयरलाइन्सको विमान दुर्घटनासँग सम्बन्धित छन् । अर्कोतर्फ, दाबीसहितको भिडियोका दृश्यहरूमा मलेसिया एयरलाइन्स लेखिएको विमान, यात्रुहरू सामान्य रूपमा बोर्डिङ गरिरहेको अवस्था र कुनै पनि आपतकालीन वा दुर्घटनाको संकेत देखिँदैन ।
नितिजा: भ्रामक
हाम्रा स्रोतहरू
पोखरा, यती एयरलाइन्सको विमान दुर्घटना, baaa-acro.com
भिडियो, Avenues Khabar
भिडियो, Naya Patrika
समाचार, bbc.com/nepali
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]


