Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्षस्थ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको देखिन्छ । भिडियोमा बोलिरहेका प्रचण्डले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका छन् ।
लक्ष्मण चौलागाईं विद्रोही नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोसहितको सामग्रीमा प्रचण्डले भाषण गरिरहेको दृश्य देखिन्छ । उक्त भाषणमा उनले भनेका छन्- ‘मेरो दृष्टिमा कांग्रेस अब सिद्दियो, कांग्रेस सिद्दियो भन्ने देखेको छु, कांग्रेस अब यहाँबाट अगाडि आउने होइन, कांग्रेसको अवसानको बाटो हो यो ।’
प्रस्तुत भिडियोसहितको सामग्रीमा थमनलेन देखिएको छ जहाँ यही विषयमा केही दाबी गरिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘ल सुन्नुस् कांग्रसका साथीहरू, आफ्नो पक्षको हराम पनि राम, आफ्नो विपक्षी राम पनि हराम बनाइदिने पथ रहेछ तथाकथित प्रचण्डपथ ।’
प्रस्तुत दाबीमा प्रष्ट त केही छैन तर प्रचण्डले आफ्नै साझेदार दल कांग्रेस विरुद्ध अभिव्यक्ति दिइरहेको सुनिन्छ । हालसालै अर्थात् नोभेम्बर ९ मा पोस्ट गरिएको प्रस्तुत सामग्रीमा १ सय ५० भन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई करिब ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
भिडियोसहितको सामग्रीको फैलावट व्यापक नभएपनि महत्वपूर्ण छ किनकि निर्वाचनको मुखैमा गठबन्धनका साझेदार दललाई प्रचण्डले अवसानको बाटोमा हिँडेको बताएका छन् । त्यसैकारण प्रचण्डले गरेको प्रस्तुत भाषणको वास्तविकता पत्ता लगाउन हामीले यो जाँच गरेका छौँ ।
प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र र नेपाली कांग्रेस एउटै गठबन्धनमा रहेर मंसिर ४ गते हुने निर्वाचनमा होमिएका छन् । नेपालमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकै छ । त्यसैले उक्त गठबन्धनमा रहेका पार्टीहरु एकजुट भएर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । यही सन्दर्भमा प्रचण्डले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ ।
प्रस्तुत सामग्रीको जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले प्रचण्डले गरेको उक्त भाषणको वास्तविकता पत्ता लगाउने काम गर्यौँ । जसको लागि हामीले केही किवर्ड बनाएर युट्युबमा सर्च गर्यौँ । ‘कांग्रेस विरुद्ध प्रचण्ड’ ‘सिद्दियो’ लगायतका केही किवर्ड सर्च गर्दा हामीले एउटा युट्युब भिडियो फेला पार्यौँ, जो दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियोसँग मिल्दो देखियो ।
Hilight Nepal नामक युट्युब च्यानलमा चार वर्षअघि अर्थात् २४ जुलाई २०१८ मा पोस्ट गरिएको उक्त भिडियोको प्रचण्ड संक्षिप्त भाषणको हो । उक्त भाषणको भिडियोलाई राम्ररी नियाल्दा दाबीसहितको सामग्रीमा जोडिएको अंशसमेत भेटियो । यसबाट के पुष्टि भयो भने चार वर्षअघि युट्युबमा पोस्ट गरिएको प्रचण्डको भाषणको भिडियोलाई छाँटकाँट गरेर अहिले सामाजिक संजालमा फैलाइयो ।
भिडियोको वास्तविकता फेला परेपछि हामी प्रचण्डले गरेको उक्त भाषणको सन्दर्भको खोजीमा लाग्यौँ । जसको लागि हामीले युट्युब भिडियोमा प्रचण्डले बोलेका केही वाक्यांशहरूको साहरा लियौँ । हामीले गुगलमा ‘कांग्रेस’ ‘अवसानको बाटो’ ‘प्रचण्ड’ लगायतका किवर्डहरू सर्च गर्दा केही नतिजाहरू भेटिए ।
किवर्ड सर्चको तजितास्वरुप हामीले onlinekhabar मा प्रकाशित एउटा समाचार फेला पार्यौँ ।२०७५ साउन ८ गते प्रकाशित उक्त समाचार प्रचण्डको भाषणमै आधारित छ । समाचारमा राखिएको भाषण र युट्युबमा सुनिएको भाषणको सन्दर्भ र सामग्री एउटै छ । त्यसैले हामी युट्युबमा सुनिएको भाषण र समाचारमा उल्लेखित सन्दर्भ एउटै हो भन्ने निष्कर्षमा पुग्यौँ ।
समाचार अनुसार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भाषण गरेका थिए । समाचारको एउटा अंश यस्तो छ –
उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताए । ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गरे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’ आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गरौं भनेको सुनाउँदै उनले भने, ‘उहाँले डा. केसीलाई सहमति गरे हुन्छ । नभए हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।’ प्रचण्डले आफ्नो निष्कर्ष सुनाए, ‘यही बुद्धि हो भने कांग्रेस अब सिद्धियो । यो अवसानको बाटो हो ।’
हामीले फेला पारेको प्रस्तुत तथ्यबाट के प्रष्टि हुन्छ भने प्रचण्डले कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका समय माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेको थिएन । त्यो समय राजनीतिक समिकरण फरक थियो । त्यही सन्दर्भमा प्रचण्डले गरेको भषणको अंश यस निर्वाचनमा भ्रामक अर्थ दिनेगरी फैलाउन खोजिएको छ ।
यस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका छैनन् । वर्षौँ पूरानो र फरक सन्दर्भको भिडियोलाई निर्वाचनको मुखमा सामाजिक संजालमा पोस्ट गरिनाले भ्रामक सन्देश प्रवाह गरेको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
December 18, 2024
Aakash Chhetri
November 19, 2024
Aakash Chhetri
October 15, 2024