प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीसँग सम्बन्धित एउटा अदालती विषयलाई लिएर पछिल्लो समय नेपालमा चर्चा परिचर्चा भइरहेको छ । आइतबार सर्वोच्च अदालतले दरपीठ गरिदिएका ‘दुईवटा निवेदनहरूको दरपीठ बदर’ गर्ने फैसलासँगै सामाजिक संजालमा अनेक दाबीसहितका सामग्री फैलिन थालेका छन् ।
यही सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित केही दाबीहरूको श्रृंखला हामीले फेला पारेका छौँ । दाबीहरूको प्रस्तुत श्रृंखलामा प्रधानमन्त्रीविरुद्ध रिट दर्ता भएकोदेखि प्रधानमन्त्री पक्राउ परेकोसम्मका केशहरू समावेस गरेका छौँ ।
श्रृंखला अन्तर्गतको पहिलो सामग्रीमा एउटा विरोध प्रदर्शनको दृश्य देख्न सकिन्छ । Narayan Bhusal नामक टिकटक आइडीमा पोस्ट गरिएको एक्त सामग्रीमा ‘प्रचण्डविरुद्ध उजुरी दिँदै’ भनिएको छ । एकातिर झडपको दृश्य अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरसँगै थमनेलमा लेखिएको दाबीले सन्दर्भलाई गिजोल्न खोजेको छ ।
त्यस्तै श्रृंखला अन्तर्गतको दोस्रो सामग्री पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित छ र उनलाई ‘पक्राउ गर्न आदेश’ र ‘रिट दर्ता गर्न सर्वोच्चको आदेश’ जस्ता वाक्यांशको भाषागत संरचनालाई विगारिएको छ । SURYA नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा पनि प्रधानमन्त्रीकै दृश्य प्रस्तुत गरिएको छ । थमनेलमा अगाडि लेखिएको छ- ‘प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गर्न आदेश’, सोही थमनेलको केही तल लेखिएको छ- ‘मागिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश’ ।

श्रृंखला अन्तर्गतको तेस्रो सामग्रीमा त झन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्राउ परेको र निवर्तमान गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री बन्ने पक्का भएको दाबी गरिएको छ । new nepali muvi नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ कडा सुरक्षा घेरामा देखिएका छन् । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘प्रचण्ड भर्खरै पक्राउ परे अब रवि प्रधानमन्त्री बन्ने पक्का ।’
अब श्रृंखला अन्तर्गतको अन्तिम सामग्री, जसमा अदालतको आदेशपछि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घिसार्दै जेल लगिएको दाबी गरिएको छ । Mr. JaGa DiSh नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रचण्ड लगायतका नेताहरूको तस्बिर सहितको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीको थमनेलमा लेखिएको छ- ‘अदालतको आदेशपछि प्रचण्डलाई घिसार्दै जेल लगियो’ ।
उल्लेखित दाबीहरूको श्रृंखला हेर्ने हो भने ती सबै दाबी एउटै व्यक्तिमाथि केन्द्रीत छ । एकै दिनको घटनाक्रममा अथवा एकै दिन पोस्ट गरिएका सबै सामग्रीमा प्रधानमन्त्रीविरुद्ध रिट दर्ता भएकोदेखि प्रधानमन्त्री पक्राउ परेकोसम्म दाबीहरू रहेका छन् । यही कारण हामीले प्रस्तुत दाबीको वास्तविकता पत्ता लगाउन जाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
माथि उल्लेखित दाबीहरूलाई बुझ्न सबैभन्दा पहिले घटना बुझ्न जरूरी हुन्छ । यो सबै घटना बुझ्न सबैभन्दा पहिले फर्किनुपर्छ- साल २०७६ को माघी पर्वको उत्सवमा । काठमाडौँको खुलामञ्चमा आयोजना गरिएको माघी उत्सवको कार्यक्रममा तत्कालीन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिब्रो चिप्लिएको थियो ।
तीन वर्षअघि माघी विशेष कार्यक्रममा द्वन्द्वको क्षतिबारे आफूलाई लागेको आरोपको प्रतिवाद गर्दै उनले माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिने तथ्यांक गलत भएको दाबी गरे । उनले पाँच हजार मृतकको जिम्मा लिन सक्ने घोषणा गरेकाे ‘भिडियो’ तथा ‘समाचार’ फेला परेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको भाषण अंश (लिखित) :
‘धेरै साथीहरूले मलाई १७ हजार मान्छे मारेर आएको भन्नुहुन्छ । म तथ्यांक मात्रै सच्याउन चाहन्छु । साथीहरू यो सत्य होइन । यो सत्य होइन . . .। सत्य के हो मलाई भन्न दिनुहोस् । सत्य के हो भने हिजोका सामन्ती राजाहरूले १२ हजार मान्छे मारेका हुन् । हिजोका राज्यले मारेको १२ हजारको कुरा नहुने, अनि राज्यले मारेकाको पनि मेरै टाउकोमा हाल्ने यो न्याय हुँदैन ।’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको भाषण अंश (भिडियो) :
पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तुत भनाईबारे सुरुमा त खासै चर्चा भएन तर बिस्तारै बिस्तारै त्यो एउटा मुद्दा बन्न पुग्यो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डको भाषणका विरुद्धमा राष्ट्रिय मानव अधिकार आयोगमा पनि दाहाल विरुद्ध निवेदन दर्ता गराए ।
सोही समूहका ज्ञानेन्द्रराज आरणले प्रहरीमा पनि जाहेरी दिएका थिए । उनले आफ्ना पिता टीकाराज आरणलाई २०५७ फागुन १६ गते रामेछापको साविक पुरानागाउँ–५ (हाल मन्थली नगरपालिका ९)मा साँझ ७ बजे माओवादीले गोली हानेर हत्या गरेको भन्दै प्रचण्डविरुद्ध प्रहरी प्रधान कार्यालयमा जाहेरी दिएका थिए ।
यही क्रममा गत कात्तिकमा दुबै अधिवक्ता ज्ञानेन्द्रराज आरण र रामेछापका कल्याण बुढाथोकीले सोही भाषणका आधारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दिए । तर, सर्वोच्च आदालत प्रशासनले त्यसलाई ‘संक्रमणकालीन न्याय संयन्त्र’ले हेर्नुपर्ने जानकारीसहित दरपीठ गरिदिएको थियो।
दुबै निवेदनकर्ताले दरपीठविरुद्ध नै जाने निर्णय गरे र उनीहरूले पुन: सर्वोच्च अदालतमा निवेदन दिए । सोही निवेदनमाथि फैसला गर्दै सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले शुक्रबार (१९ फागुन) थन्किएका रिट निवेदन अघि बढाउन आदेश दिएको हो ।
घटनाको यही सन्दर्भमा ‘प्रधानमन्त्रीविरुद्ध रिट दर्ता भएकोदेखि प्रधानमन्त्री पक्राउ परेको’सम्मका सामग्रीहरू सामाजिक संजालमा फेला परेका छन् । सार्वजनिक विदाका दिन ( होली पर्व) तयार पारिएका कारण यो सामग्री तयार पारिरहँदा रिट दर्ता हुने सम्भावना छैन । तर, सामाजिक संजालमा रिट परिसकेको दाबी गरिएका सामग्री फेला परेका छन् ।
अर्को तर्फ निवेदक माध्येका एक ज्ञानेन्द्रराज आरणले आदेश बमोजिम आफूहरूले रिट निवेदन अघि बढाउने कुरा संचार माध्यमलाई बताएका छन् । आइतबार प्रकाशित बिबिसीको समाचारमा आरणले भनेका छन्- ‘उक्त आदेशको लिखित आइनसकेकाले हामीले रिट निवेदन दर्ता गरिसकेका छैनौँ । लिखित आदेश हेरेर त्यो आउने बित्तिकै निवेदन दर्ता गर्छौँ ।’
प्रस्तुत तथ्यबाट के प्रस्ट हुन्छ भने ‘प्रधानमन्त्रीविरुद्ध रिट दर्ता भएकोदेखि प्रधानमन्त्री पक्राउ परेको’सम्म दाबी गरिएका सामग्रीहरू भ्रामक छन् । अर्कोतर्फ प्रधानमन्त्रीको तस्बिरसहित पूराना भिडियोहरू पनि फैलाइएको छ ।
अदालतको आदेशपछि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रकाउ परिएको तथा घिसार्दै जेल लगिएको दाबी गर्ने सामग्रीमा जोडिएको भिडियो अहिलेको नभई ७ वर्ष पहिले नै युट्युबमा पोस्ट गरिएको थियो । यो भिडियो onlinekhabar युट्युब च्यानलमा २० जनवरी २०१५ मा पोस्ट गरिएको देखिन्छ ।
अनलाइन संचार माध्यममा प्रकाशित समाचार अनुसार तत्कालीन माओवादी कार्यकर्ताद्वारा काठमाडौँको बिजुलीबजारमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो र सोही कार्यक्रममा प्रचण्डका अंगरक्षक नै झडपमा परेका थिए । अंगरक्षक नै कुटिएपछि प्रचण्डलाई प्रहरीले भिडबाट उद्दार गरिएको २०७१ माघ ६ गते प्रकाशित समाचारमा उल्लेख गरिएको छ।
निष्कर्ष
‘प्रधानमन्त्रीविरुद्ध रिट दर्ता भएकोदेखि प्रधानमन्त्री पक्राउ परेको’सम्मका उल्लेखित सबै सामग्रीहरू भ्रामक छन् । वर्तमान सन्दर्भमा सहतमा देखिएको एउटा अदालती विषयमा आधारित रहेर भ्रामक सामग्री उपत्पादन गरेको पाइयो । दाबी सहितका केही सामग्रीमा पूराना घटनाका दृश्यसमेत जोडिएको देखियो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]